काबुलबाट १२ नेपालीको शव काठमाडौँ ल्याइदै

काबुलबाट १२ नेपालीको शव काठमाडौँ ल्याइदै

सन्तोष घिमिरे
काठमाडौँ: आतंकवादी संगठन तालिबानको आत्मघाती बम हमलामा परी अफगानिस्तानमा मारिएका १२ नेपालीको शव लिन नेपाल वायुसेवा निगमको चार्टड विमानबाट सरकारी टोली बुधबार बिहान अफगानिस्तानको राजधानी काबुल पुगेको छ ।

काबुल पुगेका इस्लामाबादस्थित नेपाली कार्यवाहक राजदूत तीर्थराज अर्यालले नेपालीको शव चाँडोभन्दा चाँडो नेपाल पठाउन आफूले पहल गरिरहेको टेलिफोनमा जानकारी दिए । ‘मैले यहाँका सरकारी अधिकारीसँग भेटेर चाँडै शव पठाउन आग्रह गरेको छु । उहाँहरूले पूर्ण सहयोग गर्ने बताउनुभएको छ', उनले भने ।

अर्यालका अनुसार मृतक कामदारको शव ल्याउन कफिन (बाकस) तयार गर्ने, मृतकको शरीर सफाइ गर्ने जस्ता काम भइरहेको छ ।

दुईजना घाइते कृष्णुकुमार देउजा र मानबहादुर थापालाई उपचारका लागि नयाँदिल्ली ल्याउन मंगलबार भएको प्रयास सफल हुन नसकेको अर्यालले बताए ।

‘कम्पनीकै सहयोगमा ती दुई घाइतेलाई दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गर्न लैजाने तयारी भएको थियो । तर नयाँदिल्ली जाने भनिएको विमान प्राविधिक समस्याका कारण आज उड्न सकेन । उनीहरूलाई सम्भवतः बुधबार बिहान नयाँदिल्ली लगिनेछ', अर्यालले भने । उनका अनुसार देउजा, थापासहित अन्य तीन घाइतेलाई थप उपचारका लागि बुधबार काबुलबाट दिल्ली लगिनेछ ।

अर्का घाइते च्याङ्बा तामाङको अवस्था गम्भीर रहेकाले उनलाई विमानमा राखेर दिल्ली लैजान सम्भव हुने या नहुनेबारेमा अहिले नै भन्ने अवस्था छैन ।

सरकारी टोलीमा नेपाली सेनाको मेडिकल टिमसहित चारजना, नेपाल प्रहरीका तीनजना, गृह मन्त्रालयका एक, परराष्ट्रबाट एक र वैदेशिक रोजगार प्रवर्धन बोर्डका एक अधिकारी छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार बिहानै नेपाल बायु सेवा निगमको विमान काबुल गइसकेको छ। 

काबुलबाट उक्त बिमान घाइते र मृतकहरुलाई लिएर बिहान साढे ११ बजे आउने भनिएपनि केही घन्टा ढिलो हुने भएको छ । 

‘अफगानिस्तान सरकारले मृतक कामदारको शव ल्याउन आवश्यक प्रक्रिया जहिले पूरा गरिदिन्छ तब शव नेपाल ल्याइनेछ । भोलि प्रक्रिया पूरा भए भोलि नै शव ल्याउन पनि सकिएला', एक सरकारी अधिकारीले भने ।

विमान मंगलबार अपराह्न नै उड्ने भनिए पनि रातिको समयमा काबुल विमानस्थल बन्द रहने भएकाले बुधबार बिहानै त्यसतर्फ उडेको थियो ।

नेवानिको विमानबाट सरकारी टोली बिहान काबुल पुग्ने र सक्दो चाँडो शव नेपाल ल्याउन पहल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा परराष्ट्र मन्त्रालयमा बसेको बैठकले नेवानिको चार्टड विमान काबुल पठाउने निर्णय गरेको परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले साँझ आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।

परराष्ट्र, गृह, नेपाल प्रहरी, नेपाली सेना, नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका अधिकारी सम्मिलित उक्त बैठकले काबुलबाट घाइतेलाई उपचार तथा मृतकको शव नेपाल ल्याउन समन्वय गर्ने निर्णय गरेको थियो ।

प्रवक्ता पौड्यालले परराष्ट्रले दिएको निर्देशनअनुसार इस्लामाबादस्थित कार्यवाहक राजदूत तीर्थराज अर्याल मंगलबार बिहान काबुल पुगी मृतक नेपाली कामदार आबद्ध साब्र इन्टरनेसनल कम्पनी व्यवस्थापन, अफगान सरकारका प्रतिनिधि, घाइतेलाई राखिएको अस्पताल र मृतकको शव राखेको ठाउँ ‘मर्चरी' समेत भ्रमण गरी विस्तृत अवस्था बुझेको जानकारी दिए ।

सरकारले कूटनीतिक च्यानलबाट काबुल जाने नेवानिको जहाजका लागि उडान ‘क्लियरेन्स' लिइसकेको पौड्यालले जानकारी दिए । शव काठमाडौं ल्याएपछि ‘फरेन्सिक परीक्षण' मा केही दिन लाग्न सक्ने प्रवक्ता उनले बताए ।

गृहले शव आफन्तलाई जिम्मा लगाउनेछ । मृतकका परिवारले शव काठमाडौंमा बुझ्न चाहे काठमाडौंमै या उनीहरूले आफ्नै घर ल्याइदिन भने उनीहरूकै घरसम्म शव लगिदिने निर्णय गरेको पौड्यालले बताए ।

बम हमलामा घाइतेको शीघ्र उपचार, मृतकको शव चाँडो नेपाल झिकाउने र त्यहाँ रहेका अन्य नेपाली कामदारको सुरक्षाका लागि सरकारले अफगान सरकारलाई आग्रह गरेको पौड्यालले बताए ।

‘अफगानिस्तानका विदेशमन्त्री र परराष्ट्रमन्त्री थापाबीचको कुराकानीमा यी विषय उठेको छ' पौड्यालले भने ।

सरकारले अफगानिस्तानमा नेपाली कामदारले असुरक्षा महसुस गरी घर फर्कने चाहेमा सकारी अधिकारीसँगै ल्याइदिने निर्णयसमेत लिएको पौड्यालले बताए ।

‘अफगानिस्तानमा असुरक्षित महसुस गरेका नेपाली नागरिकलाई जहाजको क्षमताले भ्याएसम्म घर ल्याइदिने कुरा भएको छ', उनले भने ।

पौड्यालले मृतक कामदारका परिवारलाई क्षतिपूर्तिका सम्बन्धमा अफगान सरकार र उनीहरूले काम गरेको कम्पनीसँग कुराकानी गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.