राष्ट्रसंघीय समितिमा बन्दना राणा निर्वाचित
![राष्ट्रसंघीय समितिमा बन्दना राणा निर्वाचित](https://annapurnapost.prixacdn.net/media/albums/5769e8ac1be4f8.04239764_cKzF19lvqP.jpg)
सन्तोष घिमिरे
काठमाडौंः लामो समयदेखि नेपालमा महिला अधिकारका क्षेत्रमा क्रियाशील ऋधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा निर्वाचित भएकी छन् ।
राष्ट्रसंघीय उच्च पदमा नेपाली महिला पुगेको यो पहिलो अवसर हो । न्युयोर्कमा मंगलबार भएको निर्वाचनमा राणा विजयी भएकी हुन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रवक्ता लोकबहादुर क्षेत्रीले टेलिफोनमा दिएको जानकारीअनुसार राणाले १०६ मत पाएकी छन् । उनीसँगै विभिन्न देशका २६ जना महिला अधिकारकर्मीले प्रतिस्पर्धा गरेका थिए । क्षेत्रीका अनुसार बढी मत पाएर विजयी भएका ११ मध्ये उनी ६ नम्बरमा पर्न सफल भएकी छन् ।
राणाले आगामी जनवरी १, २०१७ देखि २०२० सम्म उक्त समितिको सदस्य पदमा रहेर काम गर्नेछिन् । सरकारले गत मार्चमा राणाको नाम उक्त समिति सदस्यका लागि मनोनयन गरेको थियो । त्यसलगत्तै परराष्ट्र मन्त्रालय र न्युयोर्कस्थित नेपाली नियोगलगायत विदेशस्थित नेपाली नियोगमार्फत राणालाई सो पदमा जिताउन सरकारले कूटनीतिक लबिङ तीव्र पारेको थियो ।
विगतमा सरकारले उक्त पदमा अर्की महिला अधिकारकर्मी सपना मल्ल प्रधानलाई मनोनयन गरे पनि उनले निर्वाचनमा विजय प्राप्त गर्न सकेकी थिइनन् ।
केही समयअघि मात्र नेपाल संयुक्त राष्ट्रसंघीय ७१ औं महासभाको उपाध्यक्षमा एक वर्षका लागि निर्वाचित भएको थियो । अधिकारकर्मी राणाले विगतमा नेपाल टेलिभिजनमा लामो समय समाचार वाचिकाका रूपमा काम गरेकी थिइन् । त्यस्तै गैरसरकारी संस्थामा रही महिला अधिकारका पक्षमा निरन्तर काम गर्दै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)