चोइटिँदै मधेस राजनीति
सम्पादकीय
तराई-मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशनले के-कस्ता प्रस्ताव पास गर्ला र आउँदा दिनमा उसको कार्यदिशा के होला ? त्यसले नेपाली राजनीतिमा महत्वपूर्ण अर्थ राख्नेछ ।
आफ्ना असफलतासँगै राष्ट्रिय परिवेशसँग उसले आफूलाई एकदसक पहिले जन्मिएयता जोड्न सक्यो या सकेन, त्यसको आत्मनिरीक्षण र सुधारको प्रतिबद्धता या त्यसको अभाव उसलाई नियाल्ने सबभन्दा उपयुक्त कसी हुनेछ ।
पहिलो संविधानसभा निर्वाचनमा भन्दा दोस्रोमा उसको हैसियत कम हुनुको कारणलाई उसले कतिको वस्तुनिष्ठ रूपमा लिन सक्ला, उपयुक्त रूपमा विवेचन गर्ला कि नगर्ला ? त्यसले पनि अर्थ राख्नेछ, पार्टीको भावी राजनीतिको लागि ।
‘संघर्ष, समानता और सम्मान, मधेसी राष्ट्रका पहचान' नारा आकर्षक छ, तर त्यसमा भ्रमको प्रचुरता छ । तमलोपाको जन्मलाई मधेस राजनीतिको औचित्य र आवश्यकतासँग अलग गर्नु अन्याय हुनेछ, तर त्यसको जन्म मधेसको माटोमा नभएर लैनचौरभित्र केही ‘दिमाग' को सोचबाट निर्देशित भएको तथ्य प्रत्यक्ष–परोक्ष रूपमा पूर्व राष्ट्रपति रामवरण यादवलगायत विभिन्न लेखक र स्तम्भकारबाट पुष्टि भएको छ ।
मधेस, विविधताको भूगोल हो र त्यहाँ विविध जातजातिबीच र लैंगिक असमानता व्याप्त छ भन्ने तथ्य तमलोपाले लुकाउने प्रयास गरेको छ, एउटा ‘होमोजिनियस भूगोल या पहिचान' को भ्रमपूर्ण तर्क अघि सारेर । समानता र सम्मान कसरी सुनिश्चित गर्ने त्यहाँका हरेक नागरिकका लागि ? त्यो तमलोपाको ‘वर्गीय' दृष्टिकोणमा देखिँदैन ।
मधेसमा नागरिक तथा अनेक राजनीतिक पक्षमा त्यहाँको यथास्थितिवादी नेतृत्वभन्दा फरक सोच र राजनीति पनि विकास हुँदैछ, समानान्तर रूपमा ।
एक करोड ३५ लाख जनसंख्या ओगट्ने प्रचुर सम्भाव्यताको भूगोलमा कुल दुई लाख २० हजार जनसंख्या भएका उच्च जातिबाट आएको नेतृत्वले नै ‘असमानता' को कुरा उठाएको छ र असमानता समाप्त गर्न अनि सम्मान हासिल गर्न उसले त्यहाँका विविध जातजातिसँग आग्रह गरेको छ ।
यसैबीच मधेसका केही बौद्धिक व्यक्तित्वहरूले त्यहाँ उच्च जातिबाट परम्परागत रूपमा दलित, आदिवासी, थारू र अन्य पिछाडिएका जातजातिप्रति अन्याय र विभेद भएकोमा क्षमा माग्दै समानता र सम्मानमा सबैलाई समेट्ने सांकेतिक प्रयास गरेका छन् । तर उनीहरूले खुला रूपमा समर्थन जनाउँदै आएका केही राजनीतिक व्यक्तित्वहरूको अगुवाइ रहेको तमलोपाले त्यो अभियानअनुरूप पार्टीको नेतृत्व उपेक्षित समूहबाट कसैलाई चुन्ला ? त्यो महत्वपूर्ण पक्ष हो।
‘राष्ट्र' को त्रुटिपूर्ण परिभाषा अनि असमानताको विरोध गर्ने तर आफैँ असमान व्यवहार प्रदर्शन गर्ने राजनीति दिगो हुँदैन । त्यससँगै संविधानको विरोधस्वरूप आन्दोलनमा उत्रेको संयुक्त तराई–मधेस लोकतान्त्रिक मोर्चाको महत्वपूर्ण हिस्सा रहेको तमलोपाले आन्दोलनमा नेपाली जनताको सहयोग न्यून रहनुले स्थानीय तहमा प्रभावको समीक्षा गर्नु पनि उसको लागि वान्छनीय हुनेछ । संघर्ष जनसमर्थनविना सफल हुन सक्तैन ।
राष्ट्रिय एकता, ‘सेन्टिमेन्ट' तथा एजेन्डासँग आफूलाई जोड्न सकेन र आफ्ना त्रुटिबाट उसले सिकेर सकारात्मक पाठ लिन सकेन भने तमलोपाको ओरालो यात्रा उसको नियति बन्नेछ ।