भत्केको कांग्रेस बनाउने एक नेत्रीको योजना
कांग्रेसलाई कांग्रेस बनाउन सकिन्छ भन्दा कांग्रेसीहरू नै हलल हाँस्दा रहेछन्। नहाँसुन् पनि किन, उनीहरूले मानिआएका नामुद कांग्रेसदेखि खुँखारविरोधीहरूसम्म कांग्रेसलाई सुधार्न नसकिने जिनिस मान्दा रहेछन्।
यस्तो जगजाहेर विषयमा कुन महिला नेत्री हुन् ती, जो कांग्रेसलाई सिद्धान्त, आदर्श र व्यवहारअनुसार नेपालका सबै क्षेत्रमा जनआधारित र लोकप्रिय बनाउन सकिन्छ भन्ने सपना बुनिरहेकी छन् ? तिनको सपना विपनामा कदापि परिणत हुन सक्दैन भन्दिनू, एक होनहार र जबर्जस्त कांग्रेसीले पूर्ण विश्वासका साथ भने।
तर ती महिला नेतृले हलुकासँग गम्भीर सवाल गरिन्, कांग्रेसलाई सुधार्न नसकिने आधार के हो ? तर मलाई कांग्रेसलाई सशक्त, संगठित र जिम्मेवार अनि सिद्धान्तनिष्ठ कांग्रेस बनाउन सकिन्छ भन्ने विश्वास मात्र होइन, आत्मविश्वास छ। तर यसका लागि हामी सबै जड होइन, गतिशील हुनुपर्छ।
यस्तो विचार राख्ने महिला हुन्, बाँकेकी किरण कोइराला। त्यसो त, उनी नेपाली कांग्रेस बाँके जिल्लाकी निर्वाचित सभापति नै हुन्। किरणलाई सजिलोसँग चिन्नको लागि कोइराला थर मात्र पनि काफी छैन। उनी बाँके कांग्रेसका पूर्व सभापति अरुण कोइरालाकी धर्मपत्नी किरण कोइराला हुन्।
अरुणको कांग्रेस सभापति पदमा रहँदारहँदै केही महिनाअघि निधन भएको थियो भने उनी प्रधानमन्त्री तथा कांग्रेसका केन्द्रीय सभापति सुशील कोइरालाका सहोदर भाइ थिए। पतिको निधनपछि जिल्ला कांग्रेस पदाधिकारीमा किरणले चुनाव लड्ने निधो गरिन्।
कांग्रेस जिल्ला नेतृत्वको चुनाव गत माघ २५ गते हुँदै थियो, तर त्यो चुनाव केन्द्रीय सभापति सुशील कोइरालाको त्यसै दिन काठमाडौँमा भएको निधनले एक साता पछाडि धकेलियो। त्यसपछिको चुनावमा बाँके सभापतिमा किरण उठिन् र निर्वाचित पनि भइन्।
बाँकेजस्तो मधेसको सशक्त जिल्लामा कांग्रेस सभापति महिला ! धेरैका मनमा मात्र होइन, ओठमै प्रश्न सुसायो। नवनिर्वाचित सभापतिको नाम र थर पढेर अर्को प्रतिक्रिया निस्कियो, ए, सुशील कोइरालाकी बुहारी रहिछन् ! कोइराला परिवारले सहानुभूतिको भोट छोप्न भाइबुहारीलाई उठाएछ।
राजधानीमा यस्तै सुनिएको थियो। तर कांग्रेसले ०३० सालमा अपहरण गरेको विमान बीपी संग्रहालयमा राख्ने सन्दर्भमा भेटिएकी किरणका सशक्त गतिविधि देखेपछि पारिवारिक कारणले उदाएकी ठानिएकी किरण त्यस्तो लागिनन्। उनी त सुझबुझ र राजनीतिक चेतना भएकी 'बोल्ड' नेतृ पो लागिन्।
उनका भनाइ सुन्दा उनी जटिल विषयलाई पनि सहज रूपमा चिरफार गरेर प्रस्तुत गर्न सक्ने रहिछन्। बूढा, पुराना र युवाहरूबीच हेलमेल र यो गर, त्यो गर र त्यसरी होइन यसरी गर भनेर बिहानदेखि साँझसम्म कार्यकर्ता हाँक्ने खुबी देखेर अचम्मै लाग्यो।
कोइराला परिवारका सामन्ती, घरानिया र सुविधाभोगी महिलाका अगाडि किरणको सुझबुझ, नबिझाउने गरी मात्र होइन उत्साह जगाउने गरी मधेसी, पहाडिया, मुस्लिम, महिला र कर्णालीका कार्यकर्ता हाँक्न सक्ने र आफू पनि सँगसँगै लागेर अगाडि बढ्ने उनको शैली खारिएको नेताको भन्दा कम लागेन। डाक्टरकी श्रीमती, कोइराला परिवारकी बुहारीमा यस्तो सरलपनामा हेलमेल गर्ने प्रतिभा कहाँबाट र कसरी आयो?
मुसुमुसु हाँस्दै किरणले भनिन्, मेरो परिवारमा दुई बहिनी मात्र बाँच्यौँ। बुबाले हामीलाई छोराजसरी हुर्काउनु भयो। भन्नुहुन्थ्यो, छोरी तिमीभित्र राजनीतिक नेतामा हुने वीजारोपण गरेको छु। तर आमा सधैँ बुबालाई सचेत गरिरहनुहुन्थ्यो, अर्काको घर जाने जातलाई यसरी नपुल्पुल्याउनुस् !
जिम्दारको परिवारका भए पनि हामीलाई आमाले खाना बनाउने, अतिथि सत्कार गर्ने, कामदार र सामान्य व्यक्तिहरूसँग पनि नरम भएर प्रस्तुत हुनुपर्ने, कसैसँग पनि तुजुक देखाएर व्यवहार नगर्न सिकाउनु मात्र भएन, गल्ती भएको बेलामा त्यसै दिन चित्त बुझ्ने गरी सम्झाइरहनु भयो र समाजीकरण गरिरहनुभयो।
यसले गर्दा मजस्तो जटिल ठाउँमा पनि सरल किसिमले व्यवहार गरेर केन्द्रविन्दूमा रहिरहन सक्छु। कस्तो संयोग, डाक्टर बन्न साइन्स पढेकी म बीएससी गर्दागर्दै डाक्टर बनिनँ, डाक्टरकी श्रीमती पो बनेँ कोइराला परिवारकी।
बुबाले भनिरहनुहुने मभित्रको राजनीतिक वीजारोपणले कोइराला परिवारको बुहारी बनेपछि टुसाउने मौका पायो। काठमाडौँका नचिनेका नेता र उनीहरूको नगएको घर छैन तर मैले यसबीचमा नेताहरूलाई मात्र पढेकी छैन, पुस्तकहरू पनि पढेकी छु।
उत्ताउलो किसिमले होइन, सल्लाह हुँदा आफ्ना विचार बीपीदेखि गिरिजाप्रसाद हुँदै सुशील दासम्मलाई व्यक्त गरेकी र पटकपटक प्रशंसित पनि भएकी छु। श्रीमान् डाक्टर भए पनि उहाँको राजनीतिक अभियानमा व्यवस्थापनको पाटोबाट मैले कहिल्यै अभाव हुन दिइनँ। उहाँले कहिल्यै तकलिफ बेहोर्नुपरेन।
सरल बन्नुपर्छ भन्ने बुबाआमाले दिनुभएको संस्कारले मेरो छवि सबैका लागि यसले अप्ठेरोमा सघाउँछे भन्ने गरी बनेको छ। मेरो स्वभाव पनि चुप लागेर बसिरहने छैन, समस्या आइपर्यो भने त्यसैसँग जुधेर समाधान ननिकाली म चुप लाग्नै सक्दिनँ।
समस्या आएपछि त्यसको समाधान नगरी चुप बस्नै सक्दिनँ भन्नुहुन्छ तर तपाईं सभापति भएको नेपाली कांग्रेस बाँके कुनै पद्धतिमा रहेको पाइएन ! जताततै भद्रगोल छ। यही समस्या केन्द्रमा पनि पन्पिरहेको छ। के बाँके कांग्रेस सिस्टममा आउन सक्ला ? सक्यो भने त्यो मोडेल कांग्रेसको केन्द्रीय समस्या समाधानमा उपयोगी हुन सक्छ ?
उनी हाँसिन् र तत्कालै गम्भीर बनेर भन्न थालिन्— म बाँके सभापति बनेको भर्खरै हो, तर मैले कांग्रेसको रोग थोरबहुत पहिचान गरेकी छु। यसबारे पार्टी सभापतिसँग पनि समस्या र त्यसभित्रको जटिलता नतोडी टालटुले तालले कांग्रेस उँभो लाग्दैन भनिसकेकी छु। उहाँले पनि काम गर्दै अगाडि बढ्नुपर्छ भन्नुभएको छ। हेरौँ, भनेर मात्र पुग्दैन त्यसअनुकूल कदम पनि चाल्नुपर्छ।
केन्द्र र जिल्लाको समन्वयविना वर्षौंदेखि जटिल बनेका कांग्रेसी समस्याको निदान सम्भव छैन। अब पनि कांग्रेस पहिलाजसरी टालटुल गर्दै बसिरहने हो भने प्रतिस्पर्धीसँग खह्रो उत्रन सक्दैन। आफ्नै आन्तरिक किचलोको दलदलमा यो भास्सिन्छ र त्यसैमाथि टेकेर बरु अरू अगाडि बढ्छन्।
प्रजातान्त्रिक पार्टी, बीपी—गणेशमान—किसुनजीको पार्टी र हिजो गरेका संघर्षका गाथा गाएर मात्र अहिलेका चुनौतीसँग मुकाबिला गर्न सकिँदैन। यसको लागि आफूसँग के छ र कतातर्फको यात्रा हो, त्यसैअनुकूल अग्रगामी नीति र रणनीति अँगालेर अगाडि बढ्नुपर्छ। गतिशीलता भएन भने जहाँको तहीँ रहिन्छ।
हेर्नुस्, कांग्रेसजस्तो देशको जेठो र इतिहास कोरेको पार्टी, मुलुककै ठूलो पार्टी भएर पनि हामी प्रतिपक्षमा बसिरहनुपरेको छ। सिद्धान्त र नीतिको हिसाबले बाँकी सबै पार्टी हाम्रै सिद्धान्त पछ्याइरहेका छन्। तर हामी चैँ आफूलाई सम्हाल्नुको सट्टा आपसी कलहमा चुर्लुम्म डुबेका छौँ।
पच्चीस वर्षयता हामीलाई जनताले दुईदुईपटक बहुमत दिएर पठाए, तर हाम्रै कारणले दुवै कार्यकाल पूरा गर्न सकेनौँ। पार्टीमा हेर्यो, सबैभन्दा अब्बल मानिस र समर्थक हाम्रै छन्। आमजनताले पनि हामीले मात्रै केही गर्न सक्छौँ भन्ने आशा एवम् विश्वास पनि गरेका छन्। तर हामी नै असरल्ल र छताछुल्ल बनिरहेका छौँ।
संस्था त नाम मात्रका छन्। कांग्रेसी संस्थाहरूबाट नामअनुसारको काम गर्न सकिएको छैन। कुन संगठन कोसँग मिलेर के–के गरिरहेको छ, नेतृत्वलाई अत्तोपत्तो नै छैन।
म जिल्ला सभापति बनेपछि पार्टीको शक्ति र कमजोरी अनि सम्भावनाबारे केन्द्रित बनेकी छु। आफैँ छक्क परेकी छु, यस्तो जनाधार, सशक्त कार्यकर्ता र उन्नत लोकतान्त्रिक विचार भएर पनि हामी पाखा परेका छौँ। मलाई लाग्छ, हामी अरूका कारणले होइन, आफ्नै कारणले अलमलमा परेका हौँ र हाम्रा समस्याको समाधान हामीले नै पहिल्याउनुपर्छ।
जबसम्म हामी यसमा पास हुन्नौँ तबसम्म हाम्रो उत्थान हुन सक्दैन। को अध्यक्ष, को महामन्त्री वा मन्त्री वा प्रधानमन्त्री बन्ने भन्ने समस्या नै होइन। पार्टीलाई सशक्त, गतिशील र सिस्टममा चल्ने बनायौँ भने ती सबै पदमा पुग्ने हामी कांग्रेसी नै हौँ, अरू होइनन्।
हाम्रो पार्टीका भ्रातृ संगठनहरू हेर्छु, तीनछक्क पर्छु ! शिक्षक, प्राध्यापक, विद्यार्थी, युवा, वकिल, पत्रकार, मजदुर, किसान, दलित, जनजाति, मुस्लिम, सरसफाइ, भूतपूर्व सैनिक, महिला के छैनन् ? सांसद, मन्त्री, जिल्ला विकास समितिका पूर्व जनप्रतिनिधि, गाविस र वडासम्म फैलिएका छौँ। तर कांग्रेसको समस्या के भने सदस्यहरूको परिचालन छैन।
पार्टी र संगठनबीच तालमेल नै रहेनछ। जोजो जुन पदमा पुगे पनि, पार्टीमा आउनैपर्ने, जिम्मेवारी बहन गर्नुपर्ने नै रहेनछ। पार्टी अफिस चुस्त र हिसाबकिताब छ्यांङ नहुनाले जोजो जुन संगठनमा छ, त्यो उसको पकेटको मानिँदो रहेछ, हालीमुहाली उसकै। अनि उसले जे भन्यो त्यो पार्टी नेतृत्वले मानेन भने उसले पार्टी नै ठप्प पारिदिने रहेछ।
सदस्यता शुल्क र लेभी समयमा तिर्न पनि पर्दो रहेनछ। सांसद मनोनीतसमेत मनोमानी ! नियमित बैठक गरेर अगाडि बढ्नुपर्नेमा पार्टी संगठनात्मक संरचनाबाहिरै काम गरिने रहेछ। सदस्यहरूलाई चलायमान नपारी पार्टी कसरी चलायमान र कार्यकर्ता कसरी मोटिभेट होऊन् ? त्यसैले मनको भँडास लोकल चिया पसल र भट्टीमा पोखिने रहेछ, पार्टीका निकायमा होइन।
जुन दिन हामी पार्टीलाई पुनर्गठन गरेर चियापसल र भट्टीमा पोखिने कुरालाई पार्टीका बैठकमा निकास दिन सक्छौँ त्यसपछि ठान्नुस्, कांग्रेसले मुलुक हाँक्ने दिन सुरु भए। उदाहरणको लागि भनौँ न, हामी बाँके जिल्ला समितिमा २७ जना छौँ। संगठनलाई कसरी गतिशील बनाउने ? नेतृत्व विकास कसरी गर्ने ?
जनवर्गीय संगठन छन्, पार्टीको क्षेत्रीय, गाउँ र वडा समिति छन्, तर विधानअनुरूप ती संगठित रूपमा परिचालित छैनन्। हरेक पब्लिक सानो काम गराउनुपर्यो भने पनि नेताका पछिपछि लाग्ने रहेछन्। कस्तो दुर्भाग्य ? क्षेत्र, बुथमै कार्य विभाजन छैन। महासमिति र केन्द्रीय सदस्य ?
सभापति, महामन्त्री ? सबैले विधानअनुसार काम गर्नुपरेन भन्या ? समाधान गर्न नसकेका समस्या मात्र जिल्ला, केन्द्रमा लिएर जानुपर्ने होइन ? यसो गराउन सकियो भने सिस्टमले काम गर्न थालिहाल्छ नि ! तर वर्षौंदेखि पार्टीमा हालिमुहाली गरिरहेकाहरू न पार्टीलाई सहजै सिस्टममा चल्न दिने रहेछन् न भिजन, मिसन, गोल लिएर अगाडि बढ्ने नेतृत्वलाई सहयोग गर्ने रहेछन्। म पार्टीलाई पद्धतिमा लैजान प्रतिबद्ध छु।
हाम्रो काँधमा पार्टीलाई योजनाबद्ध किसिमले अगाडि बढाउनुको विकल्प नै छैन। प्रत्येक संगठन र पार्टी एकाइका भिजन मिसन र गोल बनाएर मात्र हामी सही बाटोतर्फ बढ्ने यात्रा सुरु हुनेछ। पद्धतिसाथ संगठन चलाउन सक्यौँ भने प्रतिभा र क्षमता भएका कार्यकर्ता र नेताहरू अगाडि आउने वातावरण सिर्जना हुन्छ, जसले कांग्रेसलाई दिगो मात्र बनाउँदैन, अग्रगतिमा जनताका खाना, नाना र छानाका समस्या समाधान गर्ने मियो बन्नेछ।
अनि मात्र शिक्षा, स्वास्थ्य र विकासतर्फ मुलुक तीव्रगतिमा अगाडि बढ्न थाल्नेछ। देश समृद्ध हुन थाल्नेछ। त्यसो हुन नसकेकाले हामी कांग्रेसी लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टीका कार्यकर्ता र नेता भएर पनि रुमलिइरहेका छौँ। भनाइ एउटा र गराइ अर्कै छ। समयअनुसार नेता–कार्यकर्तालाई जीवन्त तालिम जरुरी छ।
भनौँ न, हाम्रो ट्रेड युनियन छ। तर कांग्रेसमा अलमल के भने, हामीलाई ब्लु र ह्वाइट कलर मजदुरबारेमै अलमल छ। कतै कांग्रेसमा ट्रेड युनियन कमाइखाने बिचौलिया भाँडो त भएको छैन ? समन्वय नै गर्न सकेको छैन नेतृत्वले यी दुईबीच।
कांग्रेस श्रम गरी खाने ब्लु कलर कि ह्वाइट कलरको पक्षमा ? शिक्षकमा नै हेरौँ न, समस्या विकराल छ। शिक्षक छ, व्यापार गर्छ अनि कहिले हेर्छ यसले शिक्षा क्षेत्रलाई ? संघ शिक्षक सरुवा बढुवामै अल्मलिएको त छैन ?
स्वास्थ्य क्षेत्रका साथी छन्, जो चौबीसै घन्टा खट्नुपर्ने क्षेत्र हो तर उसले रोजीरोटीको जोहो गरोस् कि हेल्थ म्यानेजमेन्ट चुस्तदुरुस्त पारोस् ? अनि उसले नेतृत्वमा कसरी योगदान पुर्याउन सक्छ ? त्यसैले जो जहाँ छ, त्यहीँ हलो अड्काएर गोरु चुट्नु उसको बाध्यता बनिरहेछ। संस्था त नाम मात्रका छन्।
कांग्रेसी संस्थाहरूबाट नामअनुसारको काम गर्न सकिएको छैन। कुन संगठन कोसँग मिलेर के-के गरिरहेको छ, नेतृत्वलाई अत्तोपत्तो नै छैन।छ महिना पनि नपुग्दै मैले पहिल्याएको कुरा हो, किरण कोइरालाले भनिन्— नेतृत्वले एक्लै होइन, टिम मिलेर काम गर्नैपर्छ। यसको विकल्प छैन।
नेतृत्वमा बसेको हरेकको कार्यकाल तबसम्म उपलब्धिपूर्ण हुन सक्दैन जबसम्म समय दिने, छलफल गर्ने, सोचविचार गर्ने र लक्ष बनाएर तथ्यतथ्यांक राखेर अगाडि बढ्ने योजना बनाएर त्यसलाई कार्यान्वयन गरिँदैन।