काबुलको एतिहासिक उडान भर्ने क्याप्टेन दाजुभाइ
क्याप्टेन श्रवण रिजाल
नेपाल वायुसेवा निगम
काठमाडौंः नेपाल वायुसेवा निगमले बुधबार काबुल विमानस्थलमा पाँच घन्टा कुरेर अफगानिस्तानमा कार्यरत २४ जना नेपाली र मृतक १२ जनालाई काठमाडौं ल्याएको छ । १२ जना नेपालीको आतंकवादी संगठन तालिबानले हत्या गरेपछि काबुलका सबै नेपाली आतंकित देखिएका थिए ।
नेपाल वायुसेवा निगमको जहाज लिएर बुधबार बिहान तीन बजेर ३७ मिनेटमा काबुल उडेको एक सय ५६ सिट क्षमताको एयरबस काबुलको स्थानीय समयअनुसार बिहान पाँच बजेर ३५ मिनेटमा अवतरण गरेको थियो ।
क्याप्टेन श्रवण रिजाल र उनका दाजु क्याप्टेन सुवास रिजालले उडाएर गएको यो जहाजले काबुल विमानस्थलमा नेपालीलाई पर्खेरै ल्यायो । क्याप्टेन भएकाले विमास्थलबाट बाहिर जान हामी पाएनौँ । हामी दाजुभाइ नै क्याप्टेन जहाज उडाएर गएका थियौं ।
१२ जना नेपालीको शव तुरुन्तै आइपुगेको थियो । तर अन्य २४ जना नेपालीलाई भने विमानस्थलमा हुने प्रक्रियाका कारण पर्खनुपरेको हो । काबुलमा रहेका नेपालीले हामीसँगको कुराकानीमा १२ जनाको ज्यान गएको कम्पनीमा कार्यरत एक सय ५० सबै आजै आउन चाहेका भए पनि सबैलाई ल्याउन नसकिएको बताए । सबै नेपालीको प्रक्रिया मिलाउन नै नसकेका कारण २४ जनाको भने बल्लतल्ल प्रक्रिया मिलाएर ल्याउन सकिएको हो ।
हामीले फर्केर आएका नेपालीसँग कुराकानी गर्न भने पाएनौं । परराष्ट्र मन्त्रालयबाट गएका दक्षिण एसिया हेर्ने उपसचिव प्रकाश सुवेदीले अफगानी मन्त्रीसँग भेट गरेको जानकारी हामीले पायौं । उहाँसँग पनि हाम्रो कुराकानी हुन पाएन ।
हाम्रो जहाजमा कतिजना नेपाली फर्केर आउँछन् भन्ने टुंगो नभएका कारण क्याबिन क्रुमा ६ जना (एक सेट) गएका थिए । एक सय ५० जना नै भए भने उनीहरूको सेवाका लागि सबै क्याबिन क्रु हुनुपर्ने भएकाले ६ जना नै गएका हुन् । क्याबिन क्रुमा शाकिला पाण्डे, सुमिली सुब्बा, मञ्जु ढकाल, पारु राईसहित थिए ।
उनीहरूसँग भने नेपालीले निकै खुसीका साथ कुराकानी गरेका थिए । काबुल वायुसेवा निगमले नेपाली लिन जाने निगमको निर्णयलाई साह्रै खुसी र राष्ट्रको छविसँग तुलना गरेर खुसी व्यक्त गरेको क्याबिन क्रुले हामीलाई बताए ।
काठमाडौंबाट जाँदा तीन घन्टा २० मिनेट लागेको भए पनि फर्कंदा दुई घन्टा ५० मिनेटमै आइपुगेका थियौं । एयर स्पेसका कारण काबुल जाँदा भन्दा फर्कंदा ३० मिनेट छिटो भएको थियो । निगमको जहाज काबुलबाट १० बजेर ४० मिनेटमा उडेको थियो भने काठमाडौं २ बजेर ४५ मिनेटमा अवतरण गरेको भएको थियो । (राजु बास्कोटासँगको कुराकानीमा आधारित)