काबुल आक्रमणका घाइतेको उपचारका क्रममा मृत्यु

काबुल आक्रमणका घाइतेको उपचारका क्रममा मृत्यु

सन्तोष घिमिरे

काठमाडौं: अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आतंकवादी बम हमलामा परी घाइते भएका नुवाकोटका च्याङ्बा तामाङको उपचारका क्रममा बुधबार निधन भएको छ ।

इस्लामाबादस्थित कार्यवाहक नेपाली राजदूत तीर्थराज अर्यालका अनुसार तामाङको काबुलस्थित मिलिटरी अस्पालमा उपचारकै क्रममा तामाङको बुधबार अपराह्न निधन भएको हो । ‘तामाङको अत्यन्तै गम्भीर अवस्थामा उपचार भइरहेको थियो', अर्यालले अन्नपूर्णसँग भने ।

तामाङको शव सक्दो चाँडो नेपाल ल्याउन पहल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । तामाङको शव नेपाल पठाउन हाल काबुलमै रहेका इस्लामाबादस्थित कार्यवाहक नेपाली राजदूत अर्याललाई निर्देशन दिइसकिएको उनले बताए ।

तामाङको निधनसँगै आतंकवादी संगठन तालिबानले काबुलमा गराएको आत्मघाती बम हमलामा मारिने नेपालीको संख्या १३ पुगेको छ । सोमबार बिहान १२ नेपालीसहित अफगानी नागरिक चढेको मिनिबसमा एक तालिबानी आतंककारीले आत्मघाती बम हमला गर्दा १२ नेपालीको ज्यान गएको थियो । उनीहरूको शव बुधबार काठमाडौं ल्याइसकिएको छ ।

कार्यवाहक राजदूत अर्यालले बम हमलामा घाइते भएका अन्य ६ जना नेपालीलाई थप उपचारका लागि बुधबार बिहान नयाँदिल्ली पठाइएको जानकारी दिए । नयाँदिल्ली पठाइएकामा मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, चितवनका मानबहादुर थापा र कृष्णकुमार देउजा र सुर्खेतका अमृत रोकाया क्षेत्री छन् । उनीहरूको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार जारी छ ।

‘बम हमलापछि यहाँ कार्यरत अन्य नेपाली दाजुभाइ त्रासमा हुनुहुन्छ', अर्यालले भने, ‘अफगानी अधिकारीसँग नियमित सम्पर्कमा रही काम गरिरहेको छु ।'

अर्यालले मारिएका नेपाली सुरक्षा गार्ड आबद्ध साब्र इन्टरनेसनलमार्फत मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने बताए । ‘मृतकको इन्सुरेन्स गरिएको कम्पनीसँग अब परिवारका लागि क्षतिपूर्तिका लागि दाबी गरिनेछ', उनले भने ।


राहतका लागि क्यानडासँग कुराकानी हुनसक्ने
परराष्ट्र मन्त्रालयले मृतक नेपाली कामदारका परिवारलाई राहतका लागि क्यानडा सरकारसँग कूटनीतिक तहबाट कुराकानी गर्न आन्तरिक छलफल गरेको छ । तर त्यसका लागि कुनै औपचारिक निर्णय भने गरेको छैन । ‘आवश्यक परे क्यानडा सरकारसँग पनि कूटनीतिक तहबाट छलफल गर्ने कि भन्नेबारे आन्तरिक कुराकानी भएको छ', परराष्ट्र स्रोतले भन्यो ।

परराष्ट्र प्रवक्ता पौड्यालले यस विषयमा कुनै निर्णय नभएको बताए । ‘मृतकको शव ल्याउने र बुझाउने काम सकिएको छ । मृतकका परिवारलाई राहत र क्षतिपूर्तिका लागि तदारुकताका साथ काम हुनेछ', उनले भने, ‘ श्रम मन्त्रालय, प्रधानमन्त्री कार्यालय, वैदेशिक रोजगार विभागलगायत सरोकारवाला निकायसँग आवश्यक छलफलपछि निर्णय लिइनेछ ।'

मृतक नेपाली काबुलस्थित क्यानडाली दूतावासमा सुरक्षागार्डका रूपमा कार्यरत थिए । दूतावासमा ड्युटीमा जान मिनिबस चढेका ती सुरक्षा गार्डको बसमा आतंकवादीले आत्मघाती बम बिस्फोट गराउँदा मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.