प्रधानमन्त्रीले स्थगित गराए प्रचण्डको अस्ट्रेलिया भ्रमण

प्रधानमन्त्रीले स्थगित गराए प्रचण्डको अस्ट्रेलिया भ्रमण

रेवती सापकोटा

काठमाडौं: एक साता लामो आफ्नो अस्ट्रेलिया भ्रमणबारे जानकारी दिन बालुवाटार गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण स्थगित गराएका छन् ।

अस्ट्रेलिया भ्रमणका बारेमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई बूढानीलकण्ठ पुगेर अवगत गराएलगत्तै दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

‘राष्ट्रिय सहमतिको सरकार बन्ने बेलामा कता बाहिर जाने कुरा गर्नुभएको हो ? ' ओलीलाई दाहाललाई सोधेको प्रश्न उद्धृत गर्दै बालुवाटार स्रोतले अन्नपूर्णसँग भन्यो । राष्ट्रिय सहमतिको सरकार गठनबारे आफू आफ्नो पार्टीभित्र छलफल गर्न अग्रसर भएको जनाउ प्रधानमन्त्री ओलीले दिएपछि दाहालले अस्ट्रेलिया भ्रमण स्थगित गरेका हुन् ।

स्रोतका अनुसार आफ्नो नेतृत्वको सरकार गिराउने बारेमा अस्ट्रेलियामा शक्तिकेन्द्रका प्रतिनिधिसँग छलफल गर्न लागेको जानकारी पाएका प्रधानमन्त्री ओली दाहालको भ्रमण स्थगित गराउन चाहन्थे ।

‘प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिको सरकार गठनको छलफललाई घनीभूत बनाउने कुरा गरेपछि दाहालले अचानक भ्रमण स्थगित गरेको घोषणा गरेका हुन्', स्रोतले भन्यो ।

दाहालले अस्ट्रेलिया भ्रमण यसअघि दुईपटक स्थगित गरेका थिए । आफ्नो भ्रमणको तयारीका लागि भन्दै माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग सचिव युवराज चौलागाईंलाई आइतबार नै दाहालले अस्ट्रेलिया पठाएका थिए । जनप्रगतिशील मञ्च अस्ट्रेलियाको तेस्रो अधिवेशन उद्घाटन गर्न दाहाल सिड्नी जाने कार्यक्रम तय भएको थियो ।

‘देशको राजनीतिक सन्दर्भ र पार्टी कामको चापलाई विचार गरी अध्यक्ष प्रचण्डले हालका लागि अस्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको छ', दाहालको सचिवालयले भनेको छ ।

‘राष्ट्रिय सरकारको नेतृत्व गर्ने बेलामा किन विदेश भ्रमण गर्न थाल्नुभयो ? ' आफ्नो निवास बूढानीलकण्ठ आएका दाहाललाई ठट्यौली भाषामा देउवाले सोधेका थिए । ‘कांग्रेसको मात्रै समर्थनमा सरकारको नेतृत्व गर्दिनँ', दाहालले जबाफ फर्काएका थिए ।

‘कांग्रेसले एमालेलाई समर्थन नगर्ने, एमालेले कांग्रेसलाई समर्थन नगर्ने स्थिति आएपछि कांग्रेस एमालेको समर्थन प्राप्त भएको अवस्थामा अध्यक्षले सरकारको नेतृत्व गर्ने भन्नुभएको हो', दाहालपुत्र प्रकाशले भने ।

देउवाले एमालेबाट समर्थन ल्याएमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न दाहाललाई समर्थन गर्न कांग्रेस तयार रहेको जनाउ दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.