सेना र व्यापार

सेना र व्यापार

सम्पादकीय

सेना विशुद्ध रूपमा राष्ट्रिय सुरक्षाको दायित्व बोकेको सरकारी निकाय हो । सम्भावना अत्यन्त न्यून भए पनि बाह्य हस्तक्षेप या आन्तरिक असुरक्षा या द्वन्द्वको स्थितिमा संविधानले सेनाको भूमिकाको उल्लेख गरेको छ । अर्थात् समग्र भर्ती, तालिम र संस्था सञ्चालन प्रक्रियामा सेनाको लागि राष्ट्रिय सुरक्षा नै प्रधान दायित्वका रूपमा सुम्पिइएको हुन्छ ।

त्यसैले सामान्यतया सेनालाई अरू स्वार्थ र समूहबाट अलग राखिएको हुन्छ, यद्यपि प्राकृतिक प्रकोप तथा मानवीय उद्धारमा उसलाई महत्वपूर्ण भूमिका दिइएको हुन्छ । ती विषयमा उसले तालिम हासिल गरेको हुन्छ र मानवीय उद्धार तथा सुरक्षाका आयाम जोडिएकाले सेनालाई सर्वत्र त्यसमा प्रयोग गरिन्छ।

तर समग्र रूपमा मानवीय पक्षबाट निर्देशित दायित्वका रूपमा दिइन्छ, त्यो अभिभारा सेनालाई । त्यो प्रक्रियामा सेनाले कुनै नाफामुखी भूमिका ग्रहण गर्न पाउँदैन । किनकि आर्थिक लाभ र नाफाको जिम्मा पाउनेबित्तिकै भोलि भ्रष्टाचार र अपारदर्शिताका आशंकाहरू उठ्न थाल्छन्, सरकारका विविध अन्य निर्णय र दलहरू त्यस्ता आशंका र आरोपका सिकार भएजस्तै ।

यदाकदा सैनिक कल्याणकारी कोषमा मौज्दात रकम र त्यसको व्यापारिक प्रयोजनबारे बहस हुँदा आलोचनात्मक टिप्पणीहरू भित्रैबाट पनि प्रशस्त मात्रामा आएका छन् । किनकि सेनाले व्यापार गर्न थालेपछि ऊ मुनाफामुखी संस्था बन्न पुग्छ र त्यसमा अरू खालका र विभिन्न पक्षका स्वार्थहरू गाँसिन पुग्छन् ।

त्यसैले व्यावसायिक सेनालाई व्यापारबाट बाहिर राख्नैपर्छ, दलीय राजनीतिबाट बाहिर राखेजस्तै । दुर्भाग्य, अहिले सरकारले नेपाली सेनासँग रहेका ११ वटा विमानहरू व्यापारिक नाफाको लागि प्रयोग गर्ने निर्णय गरेको छ । रक्षामन्त्री वा राज्यमन्त्री प्रमुख रहने गरी नेपाली सेनाको विमान चार्टरको लागि समिति गठन गरी त्यसको निर्णयअनुसार व्यापारिक या मुनाफाको लागि ती विमानको सञ्चालन हुने निर्णय सरकारले लिएको छ ।

अतीतमा यस्तो निर्णयबाट सेना विवादमा तानिने आशंकाका साथ मानवीय उद्धार तथा उच्च पदस्थ सरकारी अधिकारीहरूले विशेष अवस्थामा ‘भाडा’ मा ती विमानहरू प्रयोग गर्न पाउने व्यवस्था राखियो, सैनिक मुख्यालयको निर्णयमा ।

प्राप्त आँकडाअनुसार अतीतमा विभिन्न प्रधानमन्त्रीहरूसँग रक्षामन्त्रीहरूले सैनिक विमान प्रयोग गरेवापत भाडा चुक्ता गरेका छैनन् । तर यो तथ्यलाई बेवास्ता गरी दलीय राजनीतिबाट आएका÷आउने रक्षामन्त्रीसमेतको समितिले सेना प्रमुखसमेत रहने समितिमार्फत नाफामुखी प्रयोजनको लागि सैनिक विमान भाडामा दिनुले सेनालाई ठूलै विवादमा तान्नेछ । वास्तवमा सेनाको छविको लागि यो आत्मघाती कदम हुनेछ ।

सेनाले नाफाको लागि व्यापारिक गतिविधि चलाएमा त्यसको सरोकार विमान सञ्चालनमा मात्र रहने छैन र उसले विस्तारै समाजमा अरू व्यापारिक घरानासँग प्रतिस्पर्धामा जानुपर्नेछ । के यो अवस्था त्यसबाट उत्पन्न हुने परिणामको लागि सेना तयार छ ? त्योसँगै सेनाले जनताको सम्मान र अहिलेको अवस्थामा सबभन्दा भरपर्दो राज्यको अंगका रूपमा कमाएको छवि गुमाउनेछ । त्यसैले यो कदम तत्काल त्याग्नु श्रेयष्कर हुनेछ, उसको लागि ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.