अर्जेन्टिना र चिलीबीच कोपा अमेरिकाको उपाधि भिडन्त
काठमाडौंः कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिकालागि फेरि पनि डिफेन्डिङ च्याम्पियन चिली र अर्जेन्टिना भिड्ने भएका छन् ।
बिहीबार बिहान अमेरिकाको सिकागोमा भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई २–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन चिलीले अर्जेन्टिनासँगको भिडन्त पक्का गरेको हो ।
स्टेडियम रहेको क्षेत्रमा चलेको ठूलो आँधीहुरीका कारण दोस्रो हाफको खेल तीन घन्टासम्म रोकिएको थियो । दोस्रो हाफमा पनि चिलीले पहिलो हाफकै नतिजालाई कायम राख्न सक्दा अर्जेन्टिनासँगको उपाधि भिडन्त पक्का गर्यो ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अमेरिकामाथि ४–० को नतिजा निकाल्दै फाइनल यात्रा पक्का गरिसकेको छ ।
चिलीलाई फाइनल पुर्याउन खेलको सातौं मिनेटमा एरानग्वुइजले सातौं मिनेटमा पहिलो गोल गरे ।
त्यसको चार मिनेट नबित्दै चिलीले जाजे फ्युन्जालिडाको गोलमा अग्रता दोब्बर बनायो । पहिलो हाफमा गरेको दुई गोल नै चिलीलाई जितका लागि पर्याप्त भयो ।
दोस्रो हाफको ५७ औं मिनेटमा कार्लोस सान्चेजले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा सीमित कोलम्बिया झन दबाबमा परेको थियो । तनावपूर्ण खेलमा रेफ्री दुबै देशका नौ खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए ।
घरेलु भूमिमै भएको अघिल्लो संस्करणको उपाधि चिलीले अर्जेन्टिनालाई हराउँदै उचालेको थियो । त्यसयता भएका भिडन्तमा भने अर्जेन्टिना विजयी हुँदै आएको छ ।
कोपा अमेरिकाको समूह चरणकै खेलमा पनि अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गर्न सफल भएको थियो ।
यी दुई देशबीच कोपा अमेरिकाको सयौं संस्करणको उपाधिका लागि आइतबार अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।
अर्जेन्टिना सन् १९९३ देखिको ठूलो उपाधिको खडेरी टार्न तथा गत सिजनको बदला लिने गरी मैदानमा उत्रिने छ भने चिलीले उपाधिका रक्षाका लागि खेल्नेछ ।