अबको कांग्रेस कार्यदिशा
भारतीय स्वतन्त्रताको लडाइँमा समेत अग्रपंक्तिका योद्धा रहेका जननायक बीपी कोइरालाको सक्रियतामा नेपाली कांग्रेसको जग निर्माण भयो। तेह्रौँ महाधिवेशनसम्म आइपुग्न मुलुककै ऐतिहासिक र पुरानो पार्टी कांग्रेसले कम्ती उचारचढाव पार गर्नुपरेन।
सात दसकअघि नै कांग्रेसले पारित गरेको नीति, कार्यदिशा र धारणा आजको युगभन्दा पनि क्रान्तिकारी र समावेशी थियो भन्ने कुरा तमामौँ तथ्यले पुष्टि गर्छ। कांग्रेसले राजनीतिक साथै आर्थिक समानताका आधारमा उभिएको प्रजातन्त्रलाई आफ्नो आदर्श स्विकारेको थियो, जनताको संविधान जनताद्वारा नै निर्माण गर्ने परिकल्पना गरेको थियो।
त्यही परिकल्पनास्वरूप संविधानसभाबाट मुलुकको संविधान कांग्रेसकै अगुवाइ र सक्रियतामा निर्माण भई कार्यान्वयन प्रक्रियामा छ।कांग्रेसले निरंकुश राणा शासनको मात्रै जरा उखेलेर फालेन, २०१७ सालमा खोसिएको प्रजातन्त्र पुनर्स्थापित गर्ने मोर्चाको नेतृत्व गर्यो। मुलुकमा प्रजातन्त्र फस्टाउँदै गर्दा सल्किएको द्वन्द्वको आगोलाई शान्तिपथमा ल्याउने अहं जिम्मेवारीसमेत पूरा गर्न पछि परेन।
संविधान निर्माणपछि यसको कार्यान्वयनको जटिल प्रश्न खडा भएका बेला कांग्रेसले नयाँ नेतृत्व पाएको छ। राजनीतिक जटिल परिस्थितिबीच मुलुककै अभिभावक दलका रूपमा पार्टीको मात्रै नभएर सिंगो मुलुकले निकास र राजनीतिक स्थिरताको अपेक्षा आम नेपालीले कांग्रेससँग गरेका छन्।
लोकतान्त्रिक संस्कारको अपेक्षा
झन्डै एक दसकदेखि कांग्रेस पार्टी र पार्टीका भ्रातृसंस्थामा आन्तरिक लोकतन्त्रको अभ्यास हुन पाएको छैन। जसका कारण एउटा ठूलो तप्का पार्टी र पार्टीका भ्रातृ संस्थामा बसेर गर्न पाउने लोकतान्त्रिक अभ्यासबाट वञ्चित भएको छ।
उनीहरूले यतिबेला पार्टी नेतृत्वले त्यो अवसरलाई खुला र सपाट रूपमा अगाडि बढाउने अपेक्षाका साथ उभिएको देखिन्छ।पार्टीइतरको लोकतान्त्रिक प्रक्रिया र पद्धतिको कुरा गर्ने हो भने झन् विकराल अवस्था छ। मुलुकमा करिब १७ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन पाएको छैन।
यसले गाउँगाउँ र वडावडामा नेतृत्व विकास र राजनीतिक संस्कारको अभ्यास ठप्प पारेको छ। संविधान कार्यान्वयनका जटिलताबीच पुनर्संरचना आयोगको रिपोर्टविना नै वर्तमान सरकारले निर्वाचनको झ्याली पिटिरहेको छ, जुन सस्तो लोकप्रियताको माध्यम मात्रै हो भन्न सकिन्छ।
यद्यपि निर्वाचनका अभ्यासहरूमा मुलुककै माउ पार्टीको हैसियतले कांग्रेसले अहं भूमिका निर्वाह गर्नैपर्ने अपेक्षा यतिबेला कांग्रेसीजनले मात्रै होइन, आम नेपालीले गरिरहेका छन्।
सबल प्रतिपक्ष
यतिबेला कांग्रेस सत्ताधारी दलहरूको नजिकको साक्षीका रूपमा छ। ऊसँग प्रमुख प्रतिपक्षीको जिम्मेवारी निर्वाह गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी छ। लोकतन्त्रको सुन्दर पक्ष भनेकै सत्तापक्ष र प्रतिपक्ष हो।
सत्ताधारीले जनताद्वारा प्रदत्त अधिकारअनुरूप सत्ता सञ्चालन गर्ने जिम्मेवारीभन्दा प्रतिपक्षले 'वाचडग' का रूपमा खेल्ने भूमिका कम जिम्मेवारीपूर्ण होइन। २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले थलिएको मुलुकमा राजनीतिक परिस्थितिका कारण गरिएको नाकाबन्दीले थप जटिलता थपेको छ।
त्यसको दुस्प्रभावमा मुलुकको अर्थतन्त्र, समाज र दैनिकी नै कष्टकर बनेको छ। यस परिस्थितिमा राज्यले समान वितरण र राज्य हुनुको प्रत्याभूति जनतालाई दिलाउन नसकेको सत्य घामजस्तै छर्लंग छ।
केही समय मुलुकको प्रमुख दल आफ्नो महाधिवेशनमा होमिएको मौकामा मुलुकमा बढेको कालोबजारी, ठगी, महँगी र अवैधानिक क्रियाकलापले थलिएको जनताको दैनिकी अझै उकासिन सकेको छैन। कुनै लेखाजोखाविना ल्याइएको सरकारको वितरणमुखी बजेटले यसलाई थप मलजल गर्ने देखिन्छ।
कांग्रेसको काँधमा पार्टी राजनीति मात्रै नभएर राष्ट्रिय राजनीतिदेखि आम जनताको दैनिक सरोकारको विषयसमेत गाँसिएको छ। असन्तुष्ट स्वरहरूलाई सम्बोधन गर्दै आफ्नै नेतृत्वमा निर्माण भएको नयाँ संविधान कार्यान्वयन अभिभारासमेत कांग्रेसको काँधमा छ।
आज पनि कृत्रिम अभाव, मनोमानी महँगी र अफवाहको आगोमा जनतालाई सेक्ने काम भइरहेको छ। यो अवस्थामा कांग्रेसले एक जिम्मेवार र जनताको पार्टीका रूपमा आफूलाई उभ्याउनुपर्ने टड्कारो आवश्यकता खड्किएको छ।
चुस्त संगठनको खाँचो
सत्ता प्राप्तिको माध्यमले भौतिक रूपमा विकास, सामाजिक रूपमा न्याय र आर्थिक रूपमा समृद्धि राजनीतिको अन्तिम लक्ष हो। त्यसको लागि निर्वाचनका माध्यमले जनताद्वारा अनुमोदित हुँदै बहुमत प्राप्त हुनुपर्छ।
जनतालाई विश्वास दिलाउन पार्टीको नीति, पद्धति, कार्यशैली र कार्यदिशा चुस्त र स्पष्ट हुनु नितान्त आवश्यक छ। त्यसका लागि नेता-कार्यकर्ता स्वयं पार्टी नेतृत्वबाट प्रशिक्षित र दीक्षित हुन जरुरी छ।
राजनीतिक जीवनशैलीले एउटा नेता जबसम्म पार्टीको नीति, सिद्धान्त र उद्देश्यप्रति विश्वस्त र परिपक्व हुन सक्दैन तबसम्म उसले कार्यकर्तामाझ आफ्ना कुरा प्रस्टरूपले राख्ला भन्ने अपेक्षा गर्न सकिँदैन।
जबसम्म कार्यकर्ता तहमा नेतृत्वले बुझाउने गरी नीति, धारणा र योजना प्रस्तुत गर्न सक्दैन त्यो स्थितिमा आम जनता उसप्रति झुकाव र विश्वास राख्लान् भन्ने कुरा कल्पना मात्रै हो।
विश्वग्रामको अवस्थामा पनि हामी 'ठालू' राजनीतिको 'ह्याङोभर' कै अवस्थामा छौँ। यतिबेला हरेक नागरिक आधुनिक युगसुहाउँदो नेतृत्व, नीति, योजनाको पर्खाइमा छन्।
सुधारका सबै विषयवस्तुको नेतृत्व कांग्रेसले लिनुपर्ने जनचाहना हुँदाहुँदै पनि कांग्रेसले हरेक आन्दोलन र अभियानमा साथ दिने जनता आज किन कांग्रेसप्रति विश्वस्त हुन सकिरहेका छैनन्? यो विचारणीय प्रश्न कांग्रेसजन अगाडि छ।
यसअघिका नेतृत्वले युगसुहाउँदो सामाजिक र आर्थिक परिवर्तनलाई पार्टीको मुख्य कार्यक्रमका रूपमा समावेश गर्न सकेनन्। सिद्धान्त र सक्रियताको समायोजनमा ध्यान दिएनन्।
उनीहरूले आम जनताका बीचमा गएर नीति र कार्ययोजना कार्यान्वयनमार्फत जनताको मन जित्नुको साटो केन्द्रमुखी राजनीतिलाई प्र श्रय दिए। जसको परिणति २०४६ सालको परिवर्तनको नेतृत्व गरेर २०४८ को आम निर्वाचन र ०४९ को स्थानीय निर्वाचनमा बहुमत प्राप्त कांग्रेस दुई दसककै अन्तरालमा रुग्ण बन्न पुग्यो।
अबको बाटो
तेह्रौँ महाधिवेशनपछि कांग्रेसको नयाँ नेतृत्वसँग पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनताले धेरै अपेक्षा जोडिएका छन्। कांग्रेसको काँधमा पार्टी राजनीति मात्रै नभएर राष्ट्रिय राजनीतिदेखि आम जनताको दैनिक सरोकारको विषयसमेत गाँसिएको छ।
असन्तुष्ट स्वरहरूलाई सम्बोधन गर्दै आफ्नै नेतृत्वमा निर्माण भएको नयाँ संविधान कार्यान्वयन अभिभारासमेत कांग्रेसको काँधमा छ। वर्तमान सरकारले भूकम्प र नाकाबन्दी जस्ता विषम विपत्बाट ग्रस्त जनतालाई राहतको साटो आहत दिने काम खुलेआम गरेको छ।
माले, मसाले र मण्डलेको जगमा बनेको वर्तमान सरकार तस्कर र माफियाको जालोभित्र फसेको छ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध आज इतिहासकै सबभन्दा कमजोर अवस्थामा पुगेको छ।
आधा दर्जन उपप्रधानमन्त्रीसहित जम्बो मन्त्रिमण्डलमा सवार केपी ओलीजीको रुग्ण शरीर औषधिको भारले जनताको चुलो र चौको बिर्सन थालेको छ। यी सबै अवस्थाबाट मुक्त गरेर मुलुकलाई सही मार्गमा डोर्याउनुपर्ने जिम्मेवारी कांग्रेससामु उभिएको छ।
कांग्रेसले आन्तरिक संगठनलाई चुस्त र सपाट बनाउन आवश्यक छ। कांग्रेस भनेको सक्रिय सदस्य, नेता र कार्यकर्ताको पार्टी मात्र होइन। कांग्रेसले लिने निर्णयबाट कांग्रेसजन मात्रै प्रभावित हुँदैनन्, बल्की समग्र नेपाल प्रभावित हुन्छ। तसर्थ कांग्रेसले तीन करोड नेपाली जनतासँग प्रत्यक्ष सम्पर्क, समन्वयको कार्यनीति उनीहरूमाझ गएर निर्माण गर्नु अबको आवश्यकता हो।
-महर नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन्।