क्रान्तिका हतियार
अहिले नेपालको माओवादी आन्दोलन आन्तरिक र बाह्य दुवै किसिमका संघर्षका बीचबाट अघि बढेको छ। इतिहासमा हामीले गरेका कमीकमजोरीबाट पाठ सिकेर मात्र हामी अगाडिको बाटो तय गर्न सक्छौँ।
माओले निर्देशित गरेका मूल्यलाई निषेध गरेर होइन, अझ उच्चताका साथ आत्मसात गरेर र दरिलो गरी व्यवहारमा लागू गरेर मात्र हाम्रो क्रान्तिकारी यात्रा सम्भव छ। यसलाई खारेज गर्नु भनेको ढिलोचाँडो विसर्जनको बाटो समात्नु हो।
माओले देखाएको बाटोमा अघि बढ्ने भनेको नेपाली समाजको विशिष्टतामा माओवादी राजनीतिक तथा फौजी नीतिलाई लागू गर्ने हो। जुन किसिमको स्थिति हामीले भोग्यौँ नेतृत्व पंक्तिबाट, यो निकै पीडादायी छ।
आम जनतामा विश्वासको वातावरण बनाउने कुरा यतिबेर साँच्चिकै जटिल छ तापनि नेपाली माओवादी आन्दोलनले छिट्टै क्रान्तिकारी बाटो समात्नेछ भन्नेमा हामी विश्वस्त हुनैपर्छ।
नेपालमा माओवादी आन्दोलन समाप्त भयो भनेर 'उत्सव' मनाउनेहरू तथा यो समाप्त भइजाओस् भनेर धारेहात लगाउनेहरूले सोचेजस्तो नेपालको माओवादी आन्दोलनको अवस्था छैन, यो समाप्त भएको छैन र समाप्त हुनेवाला पनि छैन। अवश्य पनि, एक कालखण्डमा यस आन्दोलनको अगुवाइ गर्नेहरूले बाह्य तथा घरेलु प्रतिक्रियावादका सामु आत्मसमर्पण गरेर नेपाली क्रान्तिलाई धोका दिएका छन्, तिनको जति निन्दा गरे पनि कम हुन्छ।
तर नेपाली जनताको ठूलो हिस्सा राष्ट्रियता र जनतन्त्रको पक्षमा छ र जनयुद्धका बीचबाट निर्मित नेता तथा कार्यकर्ताको एउटा पंक्ति नेपाली जनताको मुक्तिको लागि बलिदानका हरेक चुनौतीको सामना गर्न तयार छ। यो नेपाली माओवादी आन्दोलनको उज्यालो पक्ष हो।
माओवादीहरूबीच एकताको नाममा सिंगो माओवादी आन्दोलनलाई ध्वस्त पार्न गरिएको षड्यन्त्र असफल भएको छ÷पारिएको छ र कथित माओवादी केन्द्र दक्षिणपन्थी अवसरवादी, सारमा नवप्रतिक्रियावादीहरूको झुन्डमा फेरिएको छ। साथै यसले क्रान्तिकारीहरूलाई नयाँ किसिमले एकताबद्ध हुने अवसर र चुनौती पनि सिर्जना गरेको छ। परन्तु क्रान्तिकारीहरू एकताबद्ध हुने कुरा सुन्नमा जति प्रिय छ, व्यहारमा त्यति सहज छैन। यो अहिलेको यथार्थ हो।
आजको स्थितिमा माओको अनुभव र शिक्षा हाम्रा लागि एकदमै सान्दर्भिक छ। यो सही हो, हामीले सहरको कामलाई हिजोको भन्दा बढी जोड दिनैपर्ने हुन्छ। परन्तु नेपाली नयाँ जनवादी क्रान्तिको लागि अहिले पनि गाउँ नै प्रधान हुन्छ भन्ने कुरालाई अलिकति पनि बेवास्ता गर्नु हुँदैन र मिल्दैन। बेवास्ता गर्नु आत्मघाती काम हुन्छ। यो भनेको अर्को किसिमले विसर्जनको बाटो समात्नु हो।
२०५२ सालमा जनयुद्ध आरम्भ गर्दा पनि हामीले चिनियाँ क्रान्ति र फौजी कार्यदिशाको ठाडो नक्कल गरेका थिएनौँ र अहिले पनि नेपाली समाजको विशिष्टतामा माओको राजनीतिक र फौजी नीतिलाई व्यवहारमा लागू गर्ने हो।
अहिले क्रान्तिकारीहरूबीच एकता र धु्रवीकरणका सन्दर्भहरू चलिरहेका छन्। यस सन्दर्भमा मूलतः कमरेड मोहन वैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), कमरेड विप्लवको नेतृत्वमा रहेको नेकपा, माओवादी र कम्युनिस्ट न्युक्लिअस, नेपालको चर्चा हुनु स्वाभाविक छ।
अहिलेको सन्दर्भमा क्रान्तिकारीहरू पुनः संगठित हुने अथवा नयाँ केन्द्रमा गोलबद्ध हुने कुरामा चारओटा आधारहरूमा प्रस्ट हुनुपर्ने हुन्छ: पहिलो, माक्र्सवाद-लेनिनवाद-माओवाद नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्त हो, दोस्रो, नयाँ जनवादी क्रान्ति नेपाली सर्वहारा वर्गीय क्रान्तिको न्यूनतम कार्यक्रम हो, तेस्रो, क्रान्तिका 'तीन जादुगरी हतियार' नेपाली क्रान्तिका आधारभूत पक्ष हुन् र चौथो, नेपाली विशिष्टताको जनयुद्ध नेपाली क्रान्तिको कार्यदिशा हो।
प्रस्टताका साथ भन्नुपर्ने हुन्छ— कमरेड विप्लवको माओवादी पार्टीले अघि सारेको 'एकीकृत जनक्रान्ति' को कार्यदिशा कार्यदिशा नै होइन र यसका माध्यमबाट बढीमा प्रतिक्रियावादी सरकारमा 'सत्ता साझेदारी' सम्म पुग्न सकिएला। प्रतिक्रियावादी सत्तामा साझेदारी गर्ने हो भने आफूलाई माओवादी, क्रान्तिकारी भन्नुको अर्थ छैन।
फेरि कार्यदिशाका बारेमा बहस-छलफल नै नचलाउने र आफूहरूले अघि सारेको 'एकीकृत जनक्रान्ति' को कार्यदिशा मानेर खुरुखुरु सुरुङभित्र पसेपछि मात्र एकता अथवा धु्रवीकरण हुने हठका कारण विप्लव समूहले एकता नै नचाहेको अथवा यसका नाममा अरूलाई पुच्छरवादी बनाउन खोजेको देखिन्छ।
संगठनात्मक दृष्टिले गतिशील देखिए पनि यसका कार्यक्रमहरू 'सडकदेखि सडकसम्म' मै सीमित छन्। क्रान्ति विचारले हुन्छ, उमेर अथवा आक्रोशले होइन। वैचारिक परिपक्वताले नखारिई र केटौलेपनबाट माथि नउठी सिंगो मुलुकको केन्द्रीय नेतृत्व समाल्ने र क्रान्ति हाँक्ने कुरा सम्भव छैन। यस्तो अवस्थामा, अहिलेकै स्थितिमा, सो समूहसित पार्टी एकता होइन, मुद्दा हेरेर कार्यगत एकताको सम्भावना नै बढी देखिन्छ।
बहस-छलफलप्रति उदासीन हुनु तथा वैचारिक संघर्षलाई निषेध गर्नु भनेको अगाडिको बाटो बन्द गर्नु हो। यो भनेको विसर्जनवाद नै हो। निरन्तर वैचारिक तथा व्यावहारिक संघर्षमार्फत हासिल हुने प्रस्टताले नै एकताको सम्भावनालाई नजिक ल्याउँछ।
हिजो जनयुद्ध आरम्भ गर्दा नेपालको कम्युनिस्ट आन्दोलनमा लामो अवधिसम्म सक्रिय र खारिएको समूह थियो र त्यसैको प्रशिक्षणमा अगाडि बढेको युवाहरूको जमात थियो। खास गरेर मशाल (मोटो मशाल नामले स्थापित) पार्टीमा भक्तबहादुर श्रेष्ठ, मोहन वैद्य 'किरण', सीपी गजुरेल, ईश्वरी दाहाल असारेहरूको समूह थियो।
यही समूहको छहारीमा नयाँ समूह प्रशिक्षित र विकसित भएको थियो। यसमा पनि वैचारिक ऊर्जाका लागि भक्तबहादुर र किरणको दरिलो अगुवाइ थियो। यो अहिलेको जस्तो दुई नम्बरी सिमेन्ट र दुई नम्बरी इँटाले बनेको जग थिएन र होइन।
जनयुद्धले केही युवालाई अगाडि त ल्यायो, तर यसले त्यो जगबाट आफूलाई विच्छेद गरेर जसरी अगाडि बढ्न खोज्यो, दुर्घटनाको आरम्भ यहीँबाट भयो। पानी मिसिएको पेट्रोलबाट लामो अवधिसम्म गाडी चल्न सक्ने अवस्था हुँदैन र दुई नम्बरी सिमेन्ट र दुई नम्बरी इँटाको जगले सानो भुइँचालो पनि धान्दैन।
जगविनाको 'क्रान्तिकारी उत्साह' भनेको हावामा लट्किनु हो र यसको परिणति भनेको अन्ततः विसर्जन नै हो। पेरिस कम्युनदेखि माओसम्मको इतिहास सबै पुरानो भयो, त्यसले क्रान्ति गर्दैन, क्रान्ति मेरो 'न्यु सिन्थेसिस' ले मात्र गर्छ।
सबैले मलाई नेता र मेरो 'न्यु सिन्थेसिस' लाई मार्गनिर्देशक सिद्धान्त बनाउनुपर्छ, यही नै अहिलेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आवश्यकता हो भनेर आफ्नै शोकगीत गाउने विसर्जनवादी बब अभाकियनको चेलो बन्ने होडबाजी दार्शनिक तहमा शून्यवादी प्रवृत्ति हो र सारतः यो मालेमावादी आन्दोलनविरोधी विसर्जनवादी 'उत्तरवादी' अभियान हो।
पार्टी एकताका सन्दर्भमा अहिले जारी रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को राष्ट्रिय भेलाले विशेष महत्व राख्छ। कार्यदिशाका सम्बन्धमा जेजस्ता समाचार प्रकाशमा आएका छन्, यसले सकारात्मक वातावरण बनाउनेमा विश्वास गर्न सकिन्छ।
प्रचण्ड समूहसित सम्बन्ध विच्छेद गरेर आएपछि वैचारिक-राजनीतिक मूलतः राजनीतिक र संगठनात्मक क्षेत्र तथा कार्यदिशाका सम्बन्धमा गम्भीर कमीकमजोरी भएकै हुन्। अवश्य पनि, सो पार्टीको जारी भेला अथवा आगामी सम्मेलनले विगतमा भएका कमीकमजोरी र समस्या केलाउला, विश्लेषण र संश्लेषण गर्ला र गर्नु आवश्यक पनि छ।
एकताका नाममा प्रवेश गरेका, विगतमा संसदीय राजनीतिमा तर मारेका र आईएनजीओमा रमाएकाहरू र व्यापार-व्यवसायमा लागेकाहरूको बगाललाई लिएर नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्व पंक्ति कसरी अघि बढ्ला, त्यो हेर्न बाँकी नै छ।
यसो हुँदाहुँदै पनि माओवादी आन्दोलन र विचारको रक्षाका लागि यतिबेर किरणकै नेतृत्वमा क्रान्तिकारीहरू गोलबद्ध हुनु आवश्यक छ। यो जगमा उभिएर नै नयाँ अभियानले सार्थकता पाउँछ।
सशस्त्र संघर्षविना नयाँ जनवादी क्रान्ति सम्भव छैन भन्नेमा विवाद छैन तापनि नेपालको अहिलेको विशिष्ट स्थितिमा सशस्त्र संघर्षको स्वरूप कस्तो हुने भन्ने अहिलेको बहस र विवादको विषय हो। कार्यदिशाको प्रस्टताले नै नयाँ केन्द्र निर्माणको आधार बन्छ भन्नेमा हामी सबै प्रस्ट हुनु आवश्यक छ।
बहस-छलफलप्रति उदासीन हुनु तथा वैचारिक संघर्षलाई निषेध गर्नु भनेको अगाडिको बाटो बन्द गर्नु हो। यो भनेको विसर्जनवाद नै हो। निरन्तर वैचारिक तथा व्यावहारिक संघर्षमार्फत हासिल हुने प्रस्टताले नै एकताको सम्भावनालाई नजिक ल्याउँछ।
नेपाली नयाँ जनवादी क्रान्ति चिनियाँ र हाम्रो आफ्नै अनुभवका साथ 'क्रान्तिका तीन जादुगरी हतियार' को जगमा उभिएर वर्ग संघर्षको टेढोमेढो बाटो भएर अघि बढ्नेछ र अन्ततः यसले नेपाली विशिष्टताको जनयुद्धको चरित्र ग्रहण गर्नेछ।
नेपाली समाजको आर्थिक, राजनीतिक र भौगोलिक विशिष्टताका कारण पनि नेपाली नयाँ जनवादी क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धको बाटो भएर नगुज्री धरै छैन। अरू कुरा गोलमटोल र अल्मल्याउने मेलो मात्र हुन्। पदावली जे प्रयोग गरौँ, अन्ततः नेपाली क्रान्तिले लिने बाटो यही नै हो। अहिलेको समस्या भनेको व्यावहारिक पहलकदमीको हो।