कुलुङ क्याम्पसलाई कोरियाबाट पूर्वविद्यार्थीको सहयोग
काठमाडौँ: भोजपुरको कुलुङ बहुमुखी क्याम्पसलाई दक्षिण कोरियामा कार्यरत वीरेन्द्र उच्च माविका पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन् ।
दक्षिण कोरियाबाट भर्खरै फर्किएका वीरेन्द्र उच्चमाविका पूर्वविद्यार्थी विशाल राईले कोरियाबाट उठेको १२ लाख २७ हजार कोरियन वोन (एक लाख १३ हजार चार सय ५१ रुपैयाँ) क्याम्पस प्रमुख शंकरकुमार राईलाई हस्तान्तरण गरेका हुन् ।
राईले कामदार भिसामा कोरिया पुगेका कुलुङका पूर्वविद्यार्थीले थोरै भए पनि आफूले पढेको गाँउमा स्थापना भएको क्याम्पसको उन्नतिको लागि सहयोग गरेको बताए ।
वीरेन्द्र उच्च माविका पूर्वविद्यार्थी सिताराम गिरी, विशाल राई, राजु घले, भीमप्रसाद दाहाल, मुकेश तामाङ, दिपेन्द्र तामाङ, प्रदीप कार्की, सुबोध बस्नेत, सूर्यप्रसाद दाहाल, जितेन्द्र बस्नेत, देवी राई र शम्भु घलेले प्रति व्यक्ति एक, एक लाख कोरियान वोन क्याम्पसलाई सहयोग गरेका हुन् ।
त्यस्तै, मोरङका सन्जीव राई, ओखलढुङगाका उत्तम राई, तनहुँका कमलचन्द्र सिग्देल, संखुवासभाका हरि राई, झापाका किरण खरेल र डोटीका तिलक विष्टले समेतले गरी कुलुङ बहुमुखी क्याम्पसलाई आर्थिक सहयोग गरेका हुन ।
भोजपुरको दुर्गम कुलुङ गाविसमा रहेको उक्त क्याम्पसमा शिक्षाशास्त्र र व्यवस्थापन संकायको पठन पाठन भइरहेको छ ।