भूकम्पपीडितका लागि सेनाले बनाए सामुदायिक भवन
नुवाकोटः गत वर्ष वैशाख १२ को शक्तिशाली भूकम्पले घरबार गुमाएका भूकम्पपीडितका लागि नेपाली सेनाले तीन सामुदायिक भवन निर्माण गरेको छ ।
दैनिक तीन सय सेना खटाएर सेनाले निर्माण सुरु गरेको १५ दिनमा तीन सामुदायिक भवन निर्माण गरेको हो ।
नुवाकोटका वुधसिह, थानसिह र ओखरपौवा गाविसमा सामुदायिक भवनको निर्माण कार्य सम्पन्न भएको सेनाको श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङले जानकारी दिए ।
गुरुङले नेपाली सेनाले बसुन्चेत गाविसमा तीन दिन भित्र अर्को सामुदायिक भवनको निर्माण कार्य सम्पन्न गर्ने समेत बताए ।
नुवाकोटमा सेनाले सात, समुदायले एक र ठेक्कामार्फत निर्माण व्यवसायीले दुई स्थानमा सामुदायिक भवनको निर्माण कार्य गरिरहेका छन् ।
बर्षात्मा भुकम्प पीडितललाई बस्नका लागि धमाधम सामुदायिक भवन निर्माण भइरहेको छ । नुवाकोटका विभिन्न स्थानमा तीन दिनभित्र चार वटा आधुनिक सामुदायिक भवन निर्माण गरि हस्तान्तरण गर्ने उद्देश्य नेपाली सेनाको छ ।
सेनाले बिहीबारसम्म वुधसिह, थानसिह र ओखरपौवा गाविसमा २३/२३ लाख रुपैयाँ लागतको सामुदायिक भवन निर्माण कार्य सम्पन्न गरेको हो ।