यस्तो छ खेलकुद 'मार्केटिङ टुल'

यस्तो छ खेलकुद 'मार्केटिङ टुल'

विद्यार्थी पढाउन बिल्डिङ ठड्याएर मात्रै हुँदैन। कलेज सञ्चालकहरूलाई बाध्यता थपिएको छ, भवनसँगै कम्तीमा एउटा बास्केटबल कोर्ट हुनुपर्छ। टेबुल टेनिसको बोर्ड, फुटसल कोर्ट, भलिबल कोर्ट अनि सम्भव भएसम्म अन्य खेलका भौतिक पूर्वाधार पनि हुनुपर्छ।

कलेजहरूले आफ्नो प्रांगणमा यी संरचना देखाउन सकेनन् भने विद्यार्थी पाउन मुस्किल छ। पछिल्लो समय अतिरिक्त क्रियाकलापमा अगाडि रहेका कलेजहरू नै विद्यार्थीको रोजाइमा पर्ने गरेको पाइन्छ।

कलेजले खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँदैन र विद्यार्थीलाई त्यो वातावरण दिन सक्दैन भने त्यस्ता कलेज अचेल रोजाइमा पर्दैनन्। यो तथ्यलाई बुझेका कलेजहरूले खेलकुदलाई प्राथमिकतामा राख्न थालेका छन्। कलेजहरूले खेलकुद गतिविधिकै लागि वार्षिक लाखौं रुपैयाँको बजेटसमेत छुट्याउने गरेका छन्।

राजधानीका एक कलेज सञ्चालक भन्छन्, 'कलेजमा टेबुलटेनिस कोर्ट वा बास्केटबल कोर्ट देखेनन् भने विद्यार्थीहरू भर्ना हुनै मान्दैनन्। आजभोलि गुणस्तरीय पढाइले मात्रै विद्यार्थी तान्न सकिन्न। विद्यार्थी तान्नकै लागि भए पनि तुलनात्मक रूपमा सहज र सस्तो पर्ने बास्केटबल र टेबुलटेनिसको कोर्टमात्रै भए पनि देखाउन सक्नुपर्छ।'

आफ्नो नाम उल्लेख गर्न नचाहेका ती कलेज सञ्चालकले भनेजस्तै कलेजहरूले विद्यार्थीलाई आकर्षित गर्न आफैंले खेलकुद गतिविधि आयोजना गर्ने मात्रै हैन, अरूले आयोजना गर्ने प्रतियोगितामा समेत सहभागिता जनाउने, खेलकुदमा राम्रो गरेकाहरूलाई छात्रवृत्ति प्रदान गर्ने र आफैंले क्लब स्थापना गरेर खेलकुद गतिविधि अझ व्यवस्थित बनाउने गरेका छन्।

क्लब वा आफ्ना खेलाडीलाई प्रशिक्षित गर्न नाम चलेका राष्ट्रिय स्तरका खेलाडीलाई नियमित तलब तोकेर जिम्मेवारी दिने प्रचलन पनि बढेको छ।यसले खेलाडीलाई आर्थिक रूपमा राहत पुर्याएको छ। प्रशिक्षक पूर्वबास्केटबल खेलाडी विकास शाही कलेज खेलकुदका कारण खेलाडीलाई जीवन निर्वाह गर्न सहज भएको अनुभव सुनाउँछन्।

'कलेजहरूले खेलकुदलाई प्राथमिकता दिँदा खेलाडीलाई जीवन निर्वाह गर्न केही सहज बनेको छ', उनी भन्छन्, 'खेलाडीका रूपमा मात्रै हैन, सन्न्यास लिएपछि पनि प्रशिक्षक वा खेलकुद संयोजकलगायतको भूमिकामा रहेर काम गर्ने अवसर मिलेको छ।'

हुन त कलेजहरूले खेलकुदलाई प्राथमिकतामा राख्नुको अर्को पाटो पनि छ। खेलकुदले कलेजहरूलाई आफ्नो सहज तर व्यापक प्रचारमा मद्दत पुर्याउने गरेको छ। सीधा अर्थमा भन्नुपर्दा कलेजहरूका लागि खेलकुद 'मार्केटिङ' को राम्रो माध्यम बनेको छ।

खेलकुदकै कारण कलेजहरूले पत्रपत्रिकामा उच्च प्रचार पाउँछन्। त्यसले उनीहरूलाई एकैपटक आफ्ना हजारौं सम्भावित विद्यार्थीमाझ पुर्याएको छ। समाजमा कलेजलाई स्थापित गराएको छ। यसले गर्दा पनि कलेज सञ्चालकहरू खेलकुदलाई सँगै जोडेर लग्न मञ्जुर भएका देखिन्छन्।

 

प्रशिक्षक शाही कलेजहरूले खेलकुदलाई 'मार्केटिङ टुल' कै रूपमा प्रयोग गरेको तर्कमा सहमत छन्। सँगै यसले खेलकुदलाई पनि फाइदा पुगेको उनको धारणा छ। 'खेलकुदकै कारण कलेजहरूले थोरै लगानी र इफोर्टमा धेरै चर्चा कमाउन सक्छन्।

कलेजहरूले मार्केटिङ टुलकै रूपमा भए पनि खेलकुदलाई अगाडि बढाइराखेका छन्', उनी भन्छन्, 'यद्यपि त्यसभित्र पनि केही खेलाडी र पूर्वखेलाडीले अवसर पाएका छन्। त्यसबाट राम्रा खेलाडी निकाल्न सके खेलकुदलाई फाइदा पुग्नेछ।' 

कलेजले खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँदैन र विद्यार्थीलाई त्यो वातावरण दिन सक्दैन भने त्यस्ता कलेज अचेल रोजाइमा पर्दैनन्। 

विद्यार्थीलाई शिक्षासँगै खेलकुद आवश्यक छ। यद्यपि कलेज स्तरको खेलकुद गतिविधिलाई अझै व्यापक सुधार गर्नुपर्ने आवश्यकता देख्नेहरू पनि छन्। विश्वविद्यालय खेलकुद संघ नेपाल (उसान) का महासचिव पूर्णसिंह बोहोरा कलेजले विद्यार्थी तान्न मात्रै खेलकुदलाई प्रयोग गर्ने गरेको तर्क गर्छन्।

उनी कलेजहरूले विद्यार्थी भर्ना लिने बेला भनेका खेलकुद गतिविधि वर्षभरि राम्रोसँग सञ्चालन नगर्ने प्रवृत्ति रहेको बताउँछन्। 'अहिले युवा जमातमा खेलकुद क्रेज बढेको छ। विद्यार्थी पढाइसँगै खेलकुद गतिविधि पनि हुने कलेजहरू रोज्छन्', कलेजहरूमा खेलकुद शिक्षकका रूपमा काम गरिसकेका उनी अनुभव सुनाउँछन्, 'त्यसैले कलेजहरूलाई टेबलटेनिस बोर्ड मात्रै भए पनि खेलकुद संरचना नदेखाई सुख छैन तर भर्ना लिँदा उनीहरूले गरेको बाचा पूरा गर्दैनन्।'

बोहोरा कलेजहरूले विद्यार्थीसँग बाचा गरेका खेलकुद गतिविधि मात्रै गम्भीरतापूर्वक सञ्चालन गर्ने हो भने खेलकुद विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउँछन्। 'एक त खेलाडीहरूलाई कलेजमा खेल्ने अवसर नै कम दिइन्छ। १५-२० मिनेटको ब्रेक दिइन्छ। त्यसमा खाजा खाने कि खेल्ने? ' उनी भन्छन्, 'त्यसैले खेलाडीहरूले अभ्यासका लागि छुट्याउनुपर्ने बाध्यता छ।

त्यसमाथि पनि अपवादबाहेक अन्य कलेजले विद्यार्थीलाई प्रतियोगितामा सहभागी हुने अवसर पनि दिँदैनन्। उनीहरूले आफ्नो ब्रोसरमा लेखेका खेलकुद गतिविधि मात्रै राम्रोसँग सञ्चालन गर्ने हो भने हामी धेरै खेलाडी उत्पादन गर्न सक्छौं।'

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत विद्यालय तथा विश्वविद्यालय खेलकुद विकास विभागका संस्थापक विभागीय प्रमुख कुलबहादुर थापा पनि कलेज खेलकुदलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउँछन्। 'कलेजहरूले खेलाडीबाट पनि खेलकुद शीर्षकमा रकम उठाउँछन्।

त्यसमा कलेजहरूलाई सहमत गराउन सकेमा थप लगानी बढाउन सकिन्छ', थापा भन्छन्, 'यसरी व्यवस्थित गर्न सकिएको अवस्थामा कलेज प्रतियोगिता निकै उपयोगी हुनेछ।' थापा कलेज प्रतियोगिताबाट खेलाडीहरूलाई जागिरको व्यवस्था मात्रै हैन राम्रा प्रतिभावान् खेलाडीसमेत उत्पादन गर्न सकिने तर्क गर्छन्।

कलेज खेलकुदको समन्वय र नियमन गर्ने निकायको अभाव भएको जानकारहरूको तर्क छ। 'कलेज स्तरमा हुने प्रतियोगिताको नियमन गर्ने निकाय अहिलेसम्म छैन। त्यसकै अभावमा कलेजहरूले आयोजना गर्ने प्रतियोगिताको नियमन हुन सकेको छैन', उनी भन्छन्, 'समन्वयन गर्ने निकाय बनाएर खेलकुदलाई अझ व्यवस्थित बनाउन सकियो भने कलेज खेलकुद अझ प्रभावकारी हुनेछ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.