बाबुलाई जुत्ताको माला लगाएर घुमाइयो

बाबुलाई जुत्ताको माला लगाएर घुमाइयो

वीरगन्जः छोराले अन्तरजातिय प्रेम विवाह गरेको आरोपमा गाँउका मुखिया (पूर्व गाविस अध्यक्ष) र अगुवाहरुले बाबुलाई जुत्ताको माला लगाएर गाँउ घुमाएका छन् ।

वीरगन्ज उपमहानगरपालिका–२१ भवानीपुरका ६४ वर्षीय शिवपुजन साह तेलीलाई बुधबार गाँउका मुखिया र अगुवाहरुले जुत्ताको माला लगाएर गाँउ परिक्रमा गराएका हुन् ।

शिवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रविना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए । घरबाट भागेर दुवै जनाले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमै पञ्चायती (सर्वपक्षीय छलफल) भएको थियो ।

पञ्चायतमा सहभागी गाँउका मुखिया र अगुवाहरुले माथिल्लो जातको केटीसँग विहे गरेको भन्दै अर्जुनका बुबा शिवपुजनलाई जुत्ताको माला लगाएर गाँउ परिक्रमा गराउने निर्णय गरे ।

पञ्चायतको निर्णयानुसार गाउँका मुखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाइदिन गाँउका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए ।

मुखियाको आदेशमा शिवपुजनको घाँटीमा चौकीदार पासवानले जुत्ताको माला लगाइदिए । त्यसपछि मुखियाहरुको अगुवाइमै गाँउलेहरुले शिवपुजनलाई गाँउ परिक्रमा गराएका थिए ।

जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराउने क्रममा मुखिया र गाउँका अगुवाहरुले शिवपुजनलाई कुटपिट पनि गरेको पीडितका काहिँला छोरा नानक चन्द साह तेलीले बताए ।

भवानीपुर गाँउमा पटेल जातिको बाहुल्यता रहेको छ । तेली जातिको दुई तीन घरधुरी मात्र छ ।

पटेल जातिका अगुवा र मुखियाहरुले जुत्ताकै माला लगाएर दुव्र्यवहार गरेपनि गाँउमा पटेलहरुको हालीमुहाली रहेका कारण पीडित शिवपुजनले डरले प्रहरीमा उजुरी दिन मानेका थिएनन् ।

तर उनका काहिँला छोरा नानक चन्दले खबर गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरले बुधबार बेलुकी नै मुखियाहरु शिवशंकर, ब्रम्हदेव र चौकीदार हजरालाई पक्राउ गरेको छ ।

 

 

बिहीबार पीडित शिवपुजनका काहिँला छोरा नानकचन्दले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी पनि दिएका छन् । उजुरीका आधारमा प्रहरीले तीनैजनाविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

बिहीबार तीनैजनालाई जिल्ला प्रशासन कार्यालय पर्सामा हाजिर गराएर अनुसन्धानका लागि सात दिनको म्याद थप गराइएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

‘मलाई जुत्ताको माला लगाएर गाँउ घुमाएकै हुन्’, जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक श्रेष्ठसामू बिलौना गर्दै शिवपुजनले भने, ‘गाँउमा पटेलहरुको हालीमुहाली छ हजुर, पुलिसले उनीहरुलाई केही गर्यो भने मलाई गाँउमा बस्न धेरै दिक्कत हुन्छ ।’

तर प्रहरी उपरीक्षक श्रेष्ठले भने कसैको पनि डरत्रास नमान्न र केही भएमा प्रहरीलाई तुरुन्त खबर गर्न भन्दै शिवपुजनलाई सम्झाएर पठाएका छन् ।

‘केटाले केटी लिएर भाग्यो भन्दैमा छोराले गरेको गल्तीको सजाय बाबुलाई दिन मिल्दैन’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘अर्को कुरा पञ्चहरुले कानुनविपरित काम गरेका हुन्, कानुनविपरित काम गर्ने जो भएपनि कारवाही हुन्छ ।’

पक्राउ परेका दुबै मुखिया कांग्रेसनिकट मानिन्छन् । उनीहरु पक्राउ परेलगत्तै विभिन्न दलका नेता र सांसदहरुले दुबैलाई छोडिदिनका लागि प्रहरी उपरीक्षक श्रेष्ठलाई बुधबार बेलुकीदेखि नै दबाब दिइरहेको प्रहरी श्रोतले जनाएको छ ।

‘यस्ता घटनाहरुमा नेताहरुको फोन आइरहन्छ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘तर पर्सा प्रहरी दबाब र प्रभावमुक्त छ । दोषीलाई कानुनअनुसार कारबाही अवश्य हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.