हेलमेटबिना मोटरसाइकल कुदाउँदा प्रधानमन्त्रीलाई सजाय
एजेन्सी: नेपालमा नेतादेखि मन्त्री र प्रधानमन्त्रीसम्म सडकमा निस्कँदा जनताले पाउनुसम्म दु:ख पाउँछन् । उनीहरुका लागि ट्राफिक प्रहरीले सडक नै खाली गराउँछन् ।
यदि नेताहरु ट्राफिकमा आइपुगे भने नियमको बेवास्ता गर्दै साइरन बजाउँदै अघि बढ्छन् । यस्तो लाग्छ नेपालमा नियम भनेको सानातिना र सर्वसाधरणका लागि मात्रै हो ।
तर, कम्बोडियामा भने ट्राफिकको सानो नियम तोड्दा त्यहाँका प्रधानमन्त्री नै कारबाहीमा परेका छन् ।
कम्बोडियाका प्रधानमन्त्री हुन सेनमाथि मोटरसाइकल चलाएको समयमा हेलमेट नलाएको पाइएपछि कारबाही चलाइएको हो ।
हेलमेट नलगाइ सडकमा निस्केको पाइएपछि सडकमा ड्यूटीमा रहेका ट्राफिक प्रहरीले उनलाई ठाउँको ठाउँ जरिबाना तिराएका हुन् ।
हुन सेनले आफूले हेलमेट नलगाइ हिँड्दा ट्राफिक प्रहरीलाई जरिबानामात्रै बुझाएनन् सार्वजनिकरुपमा माफी नै मागेका छन् ।
कम्बोडियाका एक यातायात पुलिस अधिकारीले जनाए अनुसार यातायात नियमको उल्लङ्घन गरेकाले प्रम हुनसेलाई १८ जुनमा कोन्ह कोङ्ग प्रान्तमा १५ सय रियाल (३.७५ डलर) जरिबानाको रसिद काटेका हुन् ।
ती अधिकारीका अनुसार प्रधानमन्त्री हुन सेनलाई ट्राफिक नियम उलङ्घनको सजाय राजधानी नोम पेन्हमा भुक्तान गर्न लिखित निर्देशन दिइएको छ ।
हुन सेनले बुधवार आफ्नो फेसबुक पेजमा लेख्दै ट्राफिक प्रहरीले तोकिदिएको सजाय आफूले भुक्तान गर्ने प्रतिवद्धता जनाएका छन् ।
हुन सेन १८ जुनमा कोह कोङ्ग गएका थिए । त्यहाँ उनले मोटरसाइकल चढ्ने कुनै योजना पनि बनाएका थिएनन् ।
यस क्रममा उनी आफ्नो सरकारी कारबाट उत्रेर सडक किनारामा रहेको एक मोटरसाइकल-ट्याक्सी चालकको नजिक गएका थिए ।
त्यहाँ पुगेपछि उनले मोटरसाइकल मालिकलाई पछाडि राखेर करिब २ सय ५० मिटरसम्म बिना हेलमेट मोटरसाइकल हाँकेका थिए ।
हुन सेनले आफ्ना सबै समर्थक र शुभेच्छुकलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत यस घटनाका लागि पुलिसलाई दोषी देखाएर निन्दा नगर्न अपिल गरेका छन् ।
हुन सेनले यो घटनामा आफ्नो गल्ती भएको जनाउँदै तोकिएको जरिबाना र सजाय भुक्तान गर्ने जनाएका छन् । उनले यो घटनालाई निन्दाको विषय नबनाइ कानुन पालन गर्नका लागि एक उदाहरणसरह लिन पनि कम्बोडियाका जनतामा आग्रह गरेका छन् ।