लोकगायिकाको परिवारैले पाएन नागरिकता

लोकगायिकाको परिवारैले पाएन नागरिकता

बेसीसहर: 'गाउँसहरमा लमजुङ दरबार
मायालाई दिने थिएँ फूलजस्तो जोवन
भइसक्यो मेरो घरबार...'
कुनै बेलाको चर्चित यो लोकगीतसँगै सयौं गीतमा स्वर भरेकी लोकगायिका माया गुरुङ (देवीमाया) ले नेपाली नागरिकता खोज्दै सरकारी कार्यालय धाउन थालेको वर्षौं बितिसक्यो।

उनका पतिको परिवारले अन्तरजातीय विवाहलाई स्वीकार नगर्दा मायामात्र होइन उनका पति, तीन छोरी र दुई छोरा नागरिकताबाट वञ्चित भएका छन्।
लमजुङ बेसीसहर नगरपालिका-१५ नाल्मा डाँडागाउँका लेखमान गुरुङ र मायाले गरेको अन्तरजातीय बिहेलाई लेखमानका बुबाले अस्वीकार गरी उनलाई नै छोरा मान्न अस्वीकार गरेपछि यो समस्या सिर्जना भएको हो।

माया अहिले ५५ वर्ष लागिन्। लेखमान र उनको उमेर १५ दिनमात्र फरक छ।साबिक नाल्मा गाविस डाँडागाउँको बाक्लो गुरुङ बस्तीका बीचमा एकमात्र थापामगरको घर थियो। त्यही घरमा जन्मिएकी हुन् माया। गाउँमा एउटामात्र थापामगरको घर भएकाले संस्कृति, भेषभूषा र रहनसहन गुरुङ समुदायकै जस्तो थियो।

१३ वर्षदेखि नै लोकगीत गाउन थालेकी माया गाउँमा हुने रोधीघरको आकर्षण बन्थिन्। उनको सुरिलो स्वर र मिठा शब्दले युवा भुतुक्कै हुन्थे।
लेखमान र उनको घर नजिकै थियो। सानैदेखिका दौंतरी हुन् उनीहरू।

मायालाई परिवारको साथ थियो तर लेखमानले सानैदेखि परिवारबाट माया पाएनन्। मजदुरीका लागि भारत जाने-आउने गर्ने लेखमान पनि संगीतका पारखी हुन्। रोधीघरमा कहिले मादल, कहिले 'माउथ हार्मोनी' (मुखले बजाउने बाजा) उनकै जिम्मामा पर्थ्यो।

रोधीघरमा अंकुराएको प्रेमविवाहमा परिणत गर्ने दुवैको इच्छा थियो। तर भनेजस्तो सजिलो भने थिएन। लेखनाथका बुवा मनिराज गुरुङ अन्तरजातीय विवाहलाई पटक्कै रुचाउँदैन थिए। त्यतिबेला सम्झँदै मायाले भनिन्, 'बाबाले उहाँलाई कि मलाई रोज, मायालाई रोज भन्नुभए छ।'

 

प्रेममा परेपछि भारत जान छाडेका लेखमान मायालाई छाड्न चाहँदैन थिए। अन्ततः आठ वर्ष लामो प्रेमसम्बन्ध विवाहमै परिणत गर्ने निर्णय गरे उनले।
'प्रेमसम्बन्धमा परेपछि हाम्रो बिहे नहोस् भनेर धेरै प्रयास भयो,' मायाले भनिन्, 'हाम्रो चोखो प्रेम थियो, एकअर्काप्रति विश्वस्त थियौं, जीवनमरणसँगै गर्ने कसम खाएर बिबाहबन्धनमा बाँधिएका थियौं।'

यो दम्पतीले २०४३ सालमा अन्तरजातीय विवाह गर्दा गाउँमा त्यस्तो विवाह रुचाइँदैन थियो।गाउँमा समाजसेवीका रूपमा चिनिएका मनिराजले अन्तरजातीय बिहे गरेपछि लेखमानलाई 'छोरा नै हैन' भन्ने गरेका छन्।

विवाह गरेको पाँच वर्ष भएदेखि नागरिकताका लागि पहल थालेकी मायाले अहिलेसम्म पनि प्रमाणपत्र पाउन सकेकी छैनन्। उनी त्यसबेला गाविसको सिफारिसका लागि गाविस सचिवकहाँ पुगे पनि आवश्यक कागजात नहुँदा रित्तै फर्किनुपर्यो। त्यसयता उनले नागरिकताका लागि लगातार पहल गरिरहेकी छन्।

नागरिकताका लागि गाउँमा पटकपटक गरेको प्रयास असफल भएपछि उनले २०५० सालमा प्रहरीमा निवेदन दिइन्, प्रशासन धाइन्। तर गाविसको सिफारिस बिनाकाम नबनेपछि उनी हार खाएर १८ वर्षसम्म चुपचाप बस्न बाध्य भइन्।

छोराछोरी बढ्दै गए। नागरिकता झन् अपरिहार्य बन्दै गयो। जेठो छोरा सन्दीप नागरिकता नभएकै कारण विदेश जानबाट रोकिए। बिहे गरेर गएका दुई छोरीले विदेशमा रहको पतिले पठाएको पैसा अर्कैको बैंकखातामा राख्न बाध्य बने। नागरिकता नहुँदा उनको परिवारले थुप्रै समस्या भोग्यो।

२०६८ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीसमक्ष नागरिकता नपाएको गुनासो गर्न पुगेका यी दम्पतीलाई बुवा मनिराजले प्रजिअकै अगाडि 'मेरो छोरा नै हैन, नक्कली छोरालाई म कसरी नागरिकता दिन सक्छु' भनेपछि त्यसबेलाको प्रयास पनि असफल भयो। उनीहरू जहाँजहाँ नागरिकताको पहलका लागि जान्थे, त्यहाँ बुवा मनिराज समस्याको पहाड बनेर उभिन्थे।

त्यसपछि अदालती प्रक्रियामा पुगेका लेखमानले मुद्दा जितेका छन्। जिल्ला अदालत लमजुङ र पुनरावेदन अदालत पोखराले 'बुबा-छोरा' बीचको नाता कायम भएको फैसला गरिसकेको छ। 'डीएनए' परीक्षणले बाबुछोरा पुष्टि भइसकेको छ। यी सबै प्रमाण जुटिसक्दासमेत अहिलेसम्म नागरिकता प्रमाणपत्र भने पाउन सकेका छैनन्।

लेखमानको नागरिकता नहुँदा उनीहरूबीचको नाता प्रमाणित हुन सकेको छैन। उनीहरूबाट जन्मेका कुनै पनि सन्तानको जन्मदर्ता हुन सकेको छैन। जेठा छोरा सन्दीप अहिले २४ वर्ष लागे। विदेश जाने सपना बोकेर आठ कक्षाबाटै पढाइ छोडेका उनको सपना नागरिकता नबनेकै कारण पूरा हुन सकेको छैन।

'नागरिकता नभएपछि पासपोर्ट बनेन,' मायाले भनिन्, 'अहिले विवाह गरेर घरमै कृषि काम गरेर बसिरहेको छ।' कान्छो छोरा अजय प्लस टु सकेर बसेका छन्। घरको कमाइले उच्चशिक्षा पढ्न मुस्किल भएपछि जागिर खाँदै पढ्दै गर्ने उनको सपनामा पनि नागरिकता तगारो बनेको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङले भने प्रक्रिया पूरा नभएका कारण मायालाई नागरिकता दिन नसकिएको जनाएको छ। 'गाविसको सिफारिस, सनाखतलगायत प्रक्रिया छन्, ती पूरा नगरी कसरी नागरिकता प्रमाणपत्र दिन सकिन्छ र ? ' प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले भने, 'निवेदनमा अदालतको 'नाता कायम भएको' मात्र फैसला छ, नागरिकता दिने छैन।'

मायाले नागरिकता नहुँदा आफ्नो पुस्ताको मात्र नभएर दोस्रो, तेस्रो पुस्ताको समेत भविष्य अन्धकार बनेको बताइन्। उनले भनिन्, 'आफू राष्ट्रिय कलाकार भए पनि यस्तो पीडा बोकेर बस्नुपर्दा नमज्जा लागिरहेको छ।'

जीवन नै गीतसंगीतका क्षेत्रमा बिताए पनि नागरिकताका लागि सरकारले पहल नगरिदिँदा दुःख लागेको उनले बताइन्। २०४५ सालमा रेडियो नेपालले आयोजना गरेको अञ्चलव्यापी लोकगीत प्रतियोगितामा उनी प्रथम भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.