अन्तत: ईयूबाट बाहिरियो बेलायत

अन्तत: ईयूबाट बाहिरियो बेलायत

काठमाडौं:युरोपेली युनियन (ईयू) को प्रभावशाली साझेदार बेलायत शुक्रबार ईयूबाट बाहिरिएको छ । बेलायतमा भएको ऐतिहासिक जनमतसंग्रहमा ५१.९ प्रतिशत बेलायती नागरिकले ईयूबाट बाहिरिने (लिभ) र ४८.१ प्रतिशतले रहिरहने (रिमेन) पक्षमा मत दिएपछि बेलायतको क्षेत्रीय संगठन ईयूसँगको ४३ बर्से आबद्धता अन्त्य भएको बीबीसीले जनाएको छ ।

परिणामअनुसार इंगल्यान्ड र वेल्सका नागरिकले बाहिरिनुपर्ने तथा लन्डन, नर्दन आयरल्यान्ड र स्कटल्यान्डका जनताले बेलायत अझै ईयूसँग आबद्ध रहनुपर्ने पक्षमा मतदान गरे । ऐतिहासिक जनमतसंग्रहमा ४ करोड ६५ लाख बेलायती मतदान दिन योग्य भए पनि त्यसको ७१.९ प्रतिशत मात्रै मत खसेको छ ।

१ करोड ७४ लाख १० हजार ७ सय ४२ बेलायती नागरिकले बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा मतदान गरेका थिए भने १ करोड ६१ लाख ४१ हजार २ सय ४१ ले बेलायत ईयूमै आबद्ध भइरहनुपर्ने पक्षमा मत दिए ।

युरोपेली युनियनमा बेलायत रहने वा नरहने भन्ने सम्बन्धमा बेलायतमा भएको यो दोस्रो जनमतसंग्रह हो । यसअघि सन् १९७५ मा सम्पन्न पहिलो जनमतसंग्रहमा बेलायतका ६७.२ प्रतिशत जनताले तत्कालीन युरोपियन कम्युनिटी (कमन मार्केट) एरियामा रहनुपर्ने पक्षमा मत दिएका थिए ।

बेलायतलाई ईयूसँग अलग हुनका लागि आवश्यक प्रक्रिया पूरा गर्न अझै केही दशक लाग्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ईयूबाट बाहिरिन बेलायती जनताले मत दिएसँगै शुक्रबार नै प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । बेलायत ईयूमा आबद्ध भइरहँदा नै बेलायतलाई फाइदा हुने बताउँदै त्यसका पक्षमा अभियान चलाउँदै आएका क्यामरुनले आगामी अक्टोबर महिनामा औपचारिक रूपमा प्रधानमन्त्री पद छाड्नेछन् ।

‘अबको अर्को गन्तव्यमा मुलुकलाई लैजान म क्याप्टेन बन्न खोज्नु ठीक होइन भन्ने मलाई लाग्छ’, क्यामरुनले टेन डाउनिङ स्ट्रिटमा भने । क्यामरुनले आफ्ना उत्तराधिकारीले बेलायतलाई ईयूबाट औपचारिक रूपमा बाहिर ल्याउन अबका दिनमा गर्नुपर्ने संवाद निकै जटिल हुने प्रतिक्रिया दिए ।

युरोपेली युनियनबाट बेलायत बाहिरिनुपर्ने भन्दै ‘ब्रेक्जिट’ नामक अभियान निरन्तर चलाउँदै आएका कन्जरभेटिभ पार्टीमा आबद्ध लन्डनका पूर्वमेयर बोरिस जोनसोन अब बेलायती प्रधानमन्त्रीको दाबेदार देखिएका छन् ।

बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा निरन्तर आवाज उठाउँदै आएका बेलायतीले इन्डिपेन्डेन्स पार्टीका नेता निगेल फारागेले जुन २३ को ऐतिहासिक दिनलाई बेलायत स्वतन्त्रता दिवसका रूपमा मनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

ईयूका अन्य २७ सदस्य देशका नेताहरूले बेलायतको ईयू बहिर्गमनका सम्बन्धमा आगामी मंगलबार छलफल गर्ने भएका छन् । ‘हामी यो आशा गर्छौं, बेलायत सरकारले अब चाँडोभन्दा चाँडो जनमतसंग्रहको निर्णय कार्यान्वयन भएकोबारे अवगत गराओस् । तर अबको यो प्रक्रिया बेलायतका लागि निकै पीडादायी हुने देखिन्छ’, युरोपेली कमिसन, युरोपेली संसद् र युरोपेली काउन्सिलका नेताहरूले संयुक्त रूपमा जारी विज्ञप्तिमा भनेका छन् ।

दोस्रो विश्वयुद्धको समाप्तिलगत्तै विश्वमा दिगो शान्ति स्थापना गर्ने उद्देश्यले सन् १९५८ मा स्थापित युरोपेली युनियनमा हालसम्म युरोपका २८ मुलुक सदस्य रहँदै आएका छन् । ईयूबाट बेलायत बाहिरिएपछि विश्वभरबाट नकारात्मक प्रतिक्रिया आएका छन् ।

बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा लामो समयदेखि अभियान चलाउँदै आएकाहरूले ईयूबाट बेलायत बाहिरिएसँगै अब उसले स्वतन्त्र रूपमा अघि बढ्नसक्ने भन्दै बेलायत स्वतन्त्र भएको प्रतिक्रिया दिएका छन् ।

ईयूबाट बेलायतबाट बाहिरिएसँगै ईयू र बेलायत दुवैको अर्थतन्त्र धराशायी हुने र त्यसले विश्वकै अर्थतन्त्र संकटमा पार्ने खतरा उत्पन्न भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ । बेलायती जनमतसंग्रहको नतिजासँगै विश्वको स्टक मार्केट तथा तेलको मूल्यमा गिरावट आएको छ । बेलायती पाउन्ड स्टर्लिङको भाउसमेत नाटकीय रूपमा घटेको छ ।

युरोपेली युनियनमा रहने वा नरहने भन्ने सम्बन्धमा बेलायती जनता र राजनीतिक दल लामो समयदेखि विभाजित थिए । ईयूसँगको राजनीतिक मुद्दामा साझेदारीलगायत विषयमा लामो समयदेखि बेलायतभित्र संशय कायम थियो । बेलायत र ईयूबीच संशयपूर्ण सम्बन्ध लामो समय टिक्न नसक्ने अड्कलबाजी हुँदै आएका थिए ।

जनमतसंग्रहले ईयूबाट बेलायत अलग्गिनुपर्ने पक्षमा बढी मत दिएलगत्तै ईयूकै अर्को प्रभावशाली साझेदार मुलुक जर्मनीकी चान्सलर एन्जेला मर्केलले बेलायती जनताको निर्णयलाई ईयूका लागि ‘ठूलो धक्का’ भनेकी छन् । त्यस्तै ईयूकै अर्को ठूलो साझेदार मुलुक फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलन्दले बेलायतको जनमतसंग्रहलाई ईयूका निम्ति ‘गम्भीर परीक्षा’ भनेको एएफपीले लेखेको छ ।

अमेरिकी राष्ट्रपति चुनावका प्रतिस्पर्धी रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले बेलायती जनताले स्वतन्त्रताका लागि ईयूबाट बेलायत बाहिरिने निर्णय लिएको भन्दै समर्थन गरेका छन् । ‘बेलायती जनताको यो महान् काम हो । यो गजब भयो । यो परिणामबाट बेलायतीले आफ्नो मुलुकलाई पुरानै स्वतन्त्रताको पथमा लान खोजेको देखियो’, बेलायतको स्कटल्यान्ड भ्रमणमा रहेका ट्रम्पको भनाइ उद्धृत गर्दै एपीले लेखेको छ ।

बेलायती जनमतसंग्रहको परिणाम आएपछि युरोपियन कमिसनका अध्यक्ष जाँ क्लाउडे जन्करले ईयू समाप्तिको दिशातिर अघि बढेको भन्ने तर्कलाई ठाडै अस्वीकार गरेका छन् । सबैजसो ईयूका सदस्य मुलुकमा उक्त संगठनमा आबद्ध रहिरहने वा नरहने भन्ने विषयमा रहेको द्विविधा, युरोपको अर्थतन्त्रतमा आउन नसकेको सुधार र पछिल्ला वर्षमा युरोपमा देखिएको आप्रवासन संकटका कारण युरोपेली युनियनको भविष्य राम्रो नरहेको विश्लेषण हुँदै आएको थियो ।

ईयूबाट बेलायत अलग्गिने भएपछि बेलायतमा समेत तीव्र ध्रुवीकरण देखिएको समाचारमा जनाइएको छ । बेलायतको राजधानी लन्डन र स्कटल्यान्ड, नर्दन आयरल्यान्डका बीचमा ध्रुवीकरण देखिएको छ । स्कटल्यान्डका फस्ट मिनिस्टर निकोला स्टर्गनले स्कटल्यान्ड बेलायतबाट अलग हुन पुनः अर्को जनमतसंग्रह हुनसक्ने बताइन् । यसअघि सन् २०१४ मा भएको जनमतसंग्रहमा स्कटल्यान्डका बढीजसो जनताले बेलायतकै अभिन्न अंगका रूपमा रहने फैसला गरेका थिए ।

जनमतसंग्रहको नतिजासँगै बेलायती पाउन्ड स्टर्लिङको भाउमा दस प्रतिशतले गिरावट आएको एएफपीले जनाएको छ । ३१ वर्षयता बेलायती मुद्राको भाउमा यतिविघ्न गिरावट आएको हो ।

बेलायती जनमतसंग्रहको परिणामसँगै नेदरल्यान्ड्स र फ्रान्सका केही राजनीतिक दलले आफ्नो मुलुकमा पनि ईयूबाट बाहिरिनका लागि जनमतसंग्रह हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । युरोपेली युयियनका अन्य सदस्य मुलुकमा समेत सोही लहर आउने आशंका बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.