राप्तीले सडक काट्न थालेपछि स्थानीय त्रसित

राप्तीले सडक काट्न थालेपछि स्थानीय त्रसित

होलिया (बाँके): राप्ती नदीले निर्माणाधीन तटबन्ध भत्काएर सडक कटान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । होलिया ७ प्रिपहवास्थित सडक नदीले धमाधाम काटिरहेको छ । निर्माणाधीन तटबन्धसमेत भत्काइरहेको छ ।

राप्ती नदी उक्त सडक भत्काएर गाउँ पसेमा होलियाका टेपरी, छिटैपुरुवा र पिप्रहवामा सयौं परिवार जोखिममा पर्नेछन् । राप्तीमा बाढी आई सडक कटान गर्न थालेपछि स्थानीय बासिन्दा तीन दिनदेखि जाग्राम बसेका छन् ।

‘बाढी आउन थाल्यो । अब रातभर सुत्न पाइँदैन’, झंग्रु लोनियाले भने, ‘तटबन्ध नै भत्काएर सडक काट्न थालिसक्यो । नदी कुन बेला पस्ने हो, ठेगान छैन ।’

उनले वर्षा हुन थालेपछि नै होलियाका बासिन्दाले राम्रोसँग सुत्न नपाउने गरेको बताए । ‘कतिखेर गाउँमा बाढी बस्छ भनी कुरेर बस्नुपर्छ । राति नै ठूलो पानी आयो भने त बाढी गाउँ पस्छ । त्यसैको डरले रातभर सुत्न पाइँदैन । अहिले तटबन्ध नै भत्काउन थालिसक्यो’, झंग्रुले भने ।

होलिया ७ पिप्रहवाका प्रह्लाद धोबीले नदी सडक कटान गर्न थालेपछि सुत्न नै नपाएको बताए । ‘कहाँ सुत्नु ? कुन बेला सडक भत्काएर गाउँ पस्ने हो, बालबच्चा त बचाउनुपर्यो नि’, धोबीले भने ।

होलिया ५ टेपरीका रामकुमार बाहुनले नदीमा पानी बढ्न थालेपछि घरमा आलोपालो गरेका सुत्ने गरेको बताए । ‘कतिखेर बाढ, आउँछ, ठेगान नै हुँदैन । त्यसैले हामी त घरमा आलोपालो गरेर सुत्छौं’, रामकुमारले भने । उनले नदीमा बाढी आएर कटान गर्न थालिसकेको बताउँदै भने, ‘जमिन कटान गर्न थालिसक्यो । बढ्दै गयो भने गाउँमै पस्न सक्छ । बाढी गाउँमा पस्यो भने भाग्नुको विकल्प छैन ।’

गाईबस्तु चराउन आएका ग्वालासमेत राप्तीमा बाढी आएका कारण वारिको वारि, पारिको पारि भएका छन् । राप्ती नदीले विगत वर्षका बाढीमा होलियाका ६ वटा गाउँ बगाइसकेको छ । वडा नं १ कुडुवा, वडा नं २ चौफेरी, वडा नं ३ कृषि चौफेरी, वडा नं ४ होलिया गाउँ, वडा नं टेपरी र वडा नं ६ छिटैपुरुवा बगाइसकेको छ ।

बाढीले बगाएर विस्थापित भएकाहरू कोही बेतहनीस्थित झोरा जंगलमा बस्दै आएका छन् भने कोही आफन्तको शरणमा छन् । कतिपय भने नेपाल नै छोडेर भारतीय भूमिमा बस्न बाध्य छन् । भारतले बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण बर्सेनि बाँकेका ७ वटा गाविस डुबानमा पर्दै आएका छन् । फत्तेपुर, होलिया, बनकट्टी, बेतहनी, गंगापुर, मटैया, कम्दीलगायत गाविस बर्सेनि डुब्ने गरेका छन् ।

यस वर्ष भारतले एकतर्फी बनाएको सडक नामको पक्की बाँधले नेपालगन्ज नगरपालिकासहित आधा बाँके नै जोखिममा परेको छ । सडक कटानस्थलमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईसहितको टोलीले निरीक्षण गरेको छ । कटान स्थलको मर्मतसम्भारका लागि ठेकेदारलाई निर्देशन पनि दिएका छन् ।

उच्च सतर्क अवस्था

पूर्वसूचना प्रणालीबाट बाढी आएको सूचना आउनेबित्तिकै उच्च सतर्क अवस्था रहेको स्थानीय प्रशासनले जनाएको छ । प्रजिअ रविलाल पन्थले स्थानीय प्रशासन उच्च सतर्कताका साथ पूर्वतयारी अवस्थामा रहेको दाबी गरे । ‘पूर्वसूचना प्रणालीबाट खबर आउनेबितिकै साइरन बजाएर सुरक्षित स्थानमा जाने अभ्यास भइरहेको छ । उद्धारका लागि जनशक्ति तयार छ । सुरक्षा निकाय उच्च सतर्क अवस्थामा छ’, प्रजिअ पन्थले भने । पूर्वसूचनाका लागि बाँकेको कुसुममा पानीको सतह मापन गर्ने टेलिमेट्री राखिएको छ । बाढी खतराको रेखाबाट माथि जाने अवस्थामा आउनेबित्तिकै जोखिम क्षेत्रमा खबर गर्ने गरिएको छ ।

रेडक्रसलगायत संघसंस्थाले पूर्वतयारीको तालिम दिने काम गरिरहेको जानकारी उनले दिए । प्रजिअ पन्थले राप्ती नदीपारिको क्षेत्रका लागि ३५० परिवारको खाद्यान्न त्रिपाल गंगापुरमा लगेर राखिसकेको जानकारी दिए ।

डुबेर एकको मृत्यु

बाँकेको बेलभार ४ का १६ वर्षीय तपेन्द्रसिंह शिखको डुबेर मृत्यु भएको छ । स्थानीय नालामा बाढी आएपछि पौडी खेल्न गएका सिंहको डुबेर मृत्यु भएको जानकारी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिए । बिहीबार डुबेका सिंहको शव शुक्रबार भेटिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.