बागमतीको फोहोर उठाउँदा बोरामा शव भेटियो
काठमाडौँ: बागमती सफाइमा शनिवार एक अपरिचित युवाको शव फेला परेको छ ।
सफाइको १६३ औँ हप्तामा शनिबार थापाथली कुपण्डोल आसपासको बागमती नदी सफाइका क्रममा कुपण्डोलतिरको भागमा बोरामा बन्द गरिएको अवस्थामा शव भेटिएको हो ।
गन्हाउने भइसकेको शव फेला परेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिए ।
नदीमा भेटिएको शव प्रहरीलाई बुझाइएको छ ।
सरसफाइमा सात मेट्रिक टन फोहर
यस क्षेत्रमा सफाइ गरी आज सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । ‘आज थापाथली पुल माथिको सुकुम्बासी बस्तीमा पसेर त्यहाँको वस्तुस्थिति पनि अवलोकन गर्यौँ, सुकुम्बासीका नाममा निजी कार र मोटरसाइकल राखेर बसेका हुकुम्बासीले बागमती किनार कब्जा गरेको यथार्थ सफाइका सहभागीले देख्ने अवसर पायौँ’, कार्यकारी निर्देशक सिंहले भने ।
करिब ६०० मिटरको बागमती किनारमा ४३० परिवारका दुई हजार मानिस बसोवास गरेको तथ्याङ्क समितिसँग छ ।
नदी कब्जा गर्ने उद्देश्यले अधिकांश मानिस बसेका छन् । गरीब, बेसहारा र केही नभएका पाँचदेखि सात परिवारमात्र रहेको उनले बताए ।
अतिक्रमणकारीलाई हटाउन ठूला राजनीतिक दलका शीर्षस्थ नेतालाई आजै भेटेर अनुरोध गरिएकामा उहाँहरुले दुई दिनको समय मागेको पनि समितिले जनाएको छ ।
सुकुम्बासीको अतिक्रमणका कारण थापाथली क्षेत्रमा मात्र ढल विच्छ्याउन र पर्खाल लगाउन नपाइएको निर्देशक सिंहको गुनासो छ ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायतका सङ्घ संस्थाको उपस्थिति थियो ।
विसं २०७० जेठ ४ गते शनिबारदेखि साप्ताहिक रुपमा बागमती सफाइ हुँदै आएको छ ।
शनिबार नै गुह्यश्वरीमाथिको भागमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज, रुद्रमती, विष्णुमती लगायत बागमतीका सहायक नदीमा पनि सफाइ गरिएको छ । रासस