पञ्चकोशको मनोविज्ञान

पञ्चकोशको मनोविज्ञान

प्राचीन ऋषिमुनिहरूले मानवीय मनोविज्ञानलाई पाँच भागमा विभाजित गरेका छन्। जसलाई क्रमशः अन्नमय, मनोमय, प्राणमय, विज्ञानमय र आनन्दमय कोशमा बाँडेका छन्-तैत्तरीय उपनिषद्। कोशको अर्थ हो बोक्रा, गर्भ, आवरण अथवा बन्धन। हिन्दुहरूले अनादि, अनन्त तथा नित्य आत्मामा विश्वास गर्छौं।

पञ्चकोशको अवधारणा आत्माको अमरतासँग जोडिएको छ। विज्ञान र आनन्द मनको उपल्लो चरण हो। मनका आवश्यकताको स्तरबाट माथि उठ्न नसक्नेले विज्ञानमय र आनन्दमय कोशमा अवतरण गर्ने कुनै सम्भावना हुँदैन। आधुनिक मनोविज्ञान मनभन्दा माथिको कुरा सोच्न त सक्छ तर बुझ्न सक्दैन।

असलमा, उपनिषद्का अनुसार आत्मा र मन फरकफरक विषय हुन्। मन भौतिकद्रव्य हो, जसमा चेतना प्रकाशित हुन्छ। आधुनिक मनोविज्ञानले आत्मा र मनका बीच भिन्नता गर्दैन तर प्राचीन वैदिक मनोवैज्ञानिकहरूले मनलाई आत्माको एउटा 'गुण'का रूपमा वर्णित गरेका छन्।

जुन अन्न, प्राणको आवरणमा ढाकिएको छ। जसको कार्य भौतिक सुखदुःखको अनुभव गर्नुमात्र हो। वर्तमान मनोविज्ञानको मन भौतिकताभन्दा माथि उठ्न सक्दैन। तर वैदिक मनोवैज्ञानिकहरूले मनभन्दा पनि उपर विज्ञान तथा आनन्दमय कोशको साक्षात्कार गरेका छन्। यहाँ पाठकहरूले बुझ्नैपर्ने विषय हो आनन्दमय कोशको ढोका अन्नमय, प्राणमय, मनोमय र विज्ञानमयको बाटोमात्र खुल्न सक्छन्।

मान्छेको जीवन अन्नमा बाँधिएको हुन्छ। पृथ्वी, जल, तेज, वायु र आकाश अर्थात् स्थानको अभावमा मान्छे जीवित रहन सक्दैन। यो जीवनको प्राथमिक आवश्यकता हो। अन्नमय कोशको अर्थ हो मानवीय मनको पहिलो भेट इन्द्रीय जगत्सँग हुन्छ।

यस स्तरमा मनलाई शारीरिक आवश्यकताले नियन्त्रण गरेका हुन्छन्। मान्छे आफ्ना मौलिक आवश्यकता पूर्ति गर्न क्रियाशील हुन्छ। मनको यो पहिलो अवस्थाको मानसिक स्वास्थ्य 'आहार, निद्रा, मैथुन'को सहज उपलब्धि र अनुपलब्धिले प्रभावित गर्छ। यो मानसिक स्वास्थ्यको आधारभूत अवस्था हो।

प्राणमय कोश मानसिक स्वास्थ्यको दोस्रो अवस्था हो। यो अवस्था प्राथमिक आवश्यकता सहजतापूर्वक प्राप्त भएकाहरूले सजिलै प्राप्त गर्न सक्छन्। प्राणमय कोशको अवस्थामा मानसिक स्वास्थ्य संकल्प, प्रेरणा, सामाजिक सेवा, सहकार्य, करुणा इत्यादि आत्म-सन्तोषमूलक कार्यमा संलग्न हुन्छ।

यो अवस्थामा मानिसले आफूले खाइपाइ आएको सुखसुविधालाई जोगाउन र त्यसैका आधारमा सुखमय जीवन जिउन प्रयत्न गर्छ। यसमा अन्नमयकोशको बढी प्रभाव परिलक्षित हुन्छ भने 'इन्द्रिय सुख' यसको पहिलो प्राथमिकतामा पर्छ।

मनोमय स्थिति विचारशील अवस्था हो। यो अवस्था प्राप्त गर्न अन्नमय र प्राणमय कोशका आवश्यकताभन्दा माथि उठेको हुनुपर्छ। यो विवेकशील अवस्था हो। उपनिषद्हरूले 'मन'ले नै मान्छे बनाउँछ भनेका छन्।

 

मनन् गर्न सक्ने भएकोले नै वर्तमान मान्छेलाई मनुष्य भनिएको हो। मननात् मनुष्य। मननको अर्थ हो चिन्तन। जब मान्छेका प्राथमिक आवश्यकताहरू सहजै पूरा हुन्छन् त्यस विषयमा कुनै संशय रहन्न, त्यसपछि उसले वैचारिक जगत्मा प्रवेश गर्छ।

यो सिर्जनशील मानसिक अवस्था हो। यस अवस्थामा मान्छेले आफ्ना शारीरिक इच्छाहरूमा विवेकीय नियन्त्रण प्राप्त गर्छ। तालमेल, उचित, अनुचित, शुभअशुभ, नैतिकता आदि मनोमय जगत्का क्रियाकलाप हुन्। 

आजको मनोविज्ञानले मान्छेको बुद्धिले बुझ्न सकोस् अथवा नसकोस् आध्यात्मिक अवस्थाको मानसिक स्वास्थ्यको आवश्यकतालाई पूर्णतः स्वीकार गरिसकेको अवस्था छ। यस अर्थमा, उपनिषद्को मनोविज्ञानको खोज आश्चर्यजनक रूपमा व्यावहारिक भएको प्रमाणित हुन्छ।

 
विज्ञानमय कोश उपरोक्त तीनैवटा मानसिक अवस्थाभन्दा उच्चतर अवस्था हो। यो भाव, संवेदना र बौद्धिक अवस्थाको पूर्णस्तर हो। न्यायपूर्ण जीवन, संयम, शालीनता, परोपकार आदि विवेकीय भावहरू व्यक्तिका स्थायीभाव अर्थात् अभ्यासजन्य कर्म बन्छन्।

शत्चरित्र नै यस कोशको उच्चतम मानसिक स्वास्थ्य हो। यहाँ हामीले के बुझ्नुपर्छ भने यद्यपि यो भौतिक चेतनाको उच्चतर अवस्था हो। यो अवस्थामा पनि पाशविक अर्थात् इन्द्रियहरू र मनको चाहनाले व्यक्तिलाई निम्नतर अवस्थामा लैजान सक्छन्।

आनन्दमय कोश मानसिक स्वास्थ्यतर अवस्था हो। यो मानसिक अनुभूतिको सबैभन्दा सुखी, पूर्ण, सन्तुष्ट अवस्था हो। यो अवस्था प्राप्त गरिसकेपछि मान्छेमा पुनः निम्नतर अवस्थामा फर्कने अवस्थाको पूर्ण अन्त्य हुन्छ। धेरै मानिसहरू शरीर, प्राण, मन र विज्ञानमय कोशको श्रेणीबाट माथि उठ्न सक्दैनन्।

विश्वको ७५ प्रतिशत जनसंख्या अन्न अर्थात् शरीरको स्तरमा जीवनयापन गर्छन्। १५ प्रतिशत व्यक्तिहरूले प्राणमय जीवनलाई आफ्नो अन्तिम लक्ष्यका रूपमा बुझेर मर्छन्। अन्य, १० प्रतिशत जनसंख्याले मनको इच्छापूर्ण गर्ने प्रयत्नलाई नै जीवनको अन्तिम अवस्था ठानेर उद्योग गरिरहेका हुन्छन्।

बाँकी ४.५ प्रतिशत व्यक्तिहरूले बौद्धिक जीवनलाई आफ्नो सफलता ठान्छन्, असल व्यवहारलाई स्थायी चरित्रका रूपमा विकसित गर्न सफल हुन्छन् भने केवल ०.५ प्रतिशत व्यक्तिहरूले मात्र आनन्दमय कोशमा स्थापित हुने अवसर प्राप्त गर्न सफल हुन्छन्।

आनन्दमय कोश जागृत भएपछि मान्छेले आफूलाई विश्वमा प्रतिविम्बित गर्न थाल्छ। उसका लागि विश्व एउटा घरका रूपमा रूपान्तरित हुन्छ। मान्छे विश्वमानवका रूपमा रूपान्तरित हुन्छ। उपनिषद्हरूले यो अवस्थालाई 'आत्मज्ञान' भनेका छन्। बुद्धले यसलाई महानिर्वाण भनेका छन्।

असलमा, प्याजका बोक्राझैँ कोशहरूले हाम्रो आत्मा ढाकिएको छ। साधना र विवेकले क्रमशः यिनलाई मास्नुपर्छ र उच्चस्तरीय अवस्था प्राप्त हुन्छ। तर उपनिषद्हरूले स्पस्ट भनेका छन् जवसम्म व्यक्तिले निम्नतर अवस्थाहरूमा सफलता प्राप्त गर्दैन तबसम्म उसले मानसिक स्वास्थ्यको समुचित अवस्था प्राप्त गर्न सक्दैन।

उच्चतर अवस्था प्राप्त गर्न सर्वप्रथम अन्नमय आवश्यकता पूर्ति हुन आवश्यकता हुन्छ। त्यसपछि प्राणमय, अनि, मनमय, विज्ञानमय र अन्ततः आनन्दमय कोश प्राप्त हुन्छ।


पाश्चात्य मनोविज्ञ मास्लोले पहिलो आवश्यकता मनोसामाजिक आवश्यकता, दोस्रो सुरक्षा, तेस्रो प्रेम तथा आफ्नोपन, चौथो स्वाभिमान र अन्त्यमा आत्मपूर्णताको चर्चा गर्दा ऋषिमुनिहरूले हजारौं वर्ष पहिला नै यसभन्दा बढी परिकृत रूपमा 'पञ्चकोश'को परिचर्चा गरिसकेका थिए।

मस्लोले आफ्नो मनोविज्ञानलाई भौतिक शरीरबाट माथि उठाउन सकेको देखिन्न। उनी आत्म-साक्षात्कारको अवस्थालाई भौतिक पूर्णताको अवस्थाकै रूपमा व्याख्या गर्छन्।

आजको मनोविज्ञानले मान्छेको बुद्धिले बुझ्न सकोस् अथवा नसकोस् आध्यात्मिक अवस्थाको मानसिक स्वास्थ्यको आवश्यकतालाई पूर्णतः स्वीकार गरिसकेको अवस्था छ। यस अर्थमा, उपनिषद्को मनोविज्ञानको खोज आश्चर्यजनक रूपमा व्यावहारिक भएको प्रमाणित हुन्छ।

हामी नेपालीहरूले मनोविज्ञानको 'जरोकिलो' नेपालमै छ भनेर प्रमाणित गर्न अफ्ठ्यारो छैन। यसका लागि विश्वविद्यालय र विद्वानहरूले आफ्ना विद्यार्थीलाई स्वदेशी अनुसन्धानमा प्रेरित गर्नुपर्छ र यसका मानकहरूलाई विश्वका सामु उपस्थित गर्नुपर्छ। आफ्नो विषयको खोजमा अरूको किन भरोसा गर्ने ? हाम्रो काम हामीले नगरे कसले गर्ने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.