आत्महत्या व्यक्तिको अधिकार हो भने...
नकुल सिलवालसित मेरो भेट पहिलोचोटि सम्भवतः २०३५÷०४० को मध्य कुनै वर्षतिर भएको थियो।परिचय गराएको मेरो घनिष्ठ मित्र कुमुद देवकोटाले। ऊसित मेरो परिचय २०२२ सालदेखि नै थियो। अतः काठमाडौं आएको बेला अनिवार्यतः उसको निवास सार्र्कीगाउँ, बानेश्वर पुग्थेँ।
यी दुवै अब यस जगत्मा सशरीर छैनन् तर साहित्यजगत्मा आआफ्ना सिर्जना र योगदानद्वारा छन्। त्यसै हुनाले मैले यी दुवैको नामअगाडि 'स्वर्गीय' भनेर लेखिनँ र लेख्नेछैन। उसै पनि स्वर्ग÷नर्क भन्ने कुरामा मलाई विश्वास छैन।
अनि त, कुमुदले युवा साहित्यकार भनेर परिचय गराएपछि मैले देखेँ— विसं २०१९ सालमा सिन्धुपाल्चोकको सेलाङ गाविसमा जन्मिएका यौवनदिप्त, आत्मविश्वासी र उत्कृट उत्साहले नेपाली साहित्य संसारमा हामफालेका नकुल सिलवाल नामक युवकलाई। त्यस बेला उनी कुमुदको छिमेकी थिए।
त्यस बेलादेखि नै नकुल स्वयं स्रष्टामात्र नभएर द्रष्टा पनि हुने जमर्कोमा थिए, 'बगर' पत्रिका निकालेर साहित्यलाई मञ्च प्रदान गर्ने गुरुत्तर अभिभारा पनि बोक्न कम्मर कसेका थिए।
नेपालमा, साहित्य सेवाजस्तो विकट र कण्टकाकीर्ण बाटोमा, अग्रसर हुन 'बगर' पत्रिकाका लागि मसँग रचनाद्वारा सहयोगको अपेक्षा गरियो। नकुल भाइको यस्तो अपेक्षा र आग्रहलाई मजस्तो ठाउँ न ठहरको मान्छेले अस्वीकार गर्न सकिनँ र यदाकदा मेरा रचनाहरू छापिँदै रहे 'बगर' पत्रिकामा।
नेपाली साहित्य जगत्जस्तो आर्थिक रूपले पूर्णतः उपेक्षित क्षेत्रमा व्यक्तिगत र एकल प्रयत्नद्वारा 'बगर फाउन्डेसन'जस्तो संस्था, 'बगर'जस्तो साहित्यिक पत्रिका निरन्तर सञ्चालन गर्नुमात्र होइन कथा र कविताको क्षेत्रमा दर्जनजति मौलिक कृति प्रदान गर्नसक्नु प्रतिभा र योग्यताले मात्र भ्याउने कुरा होइन, यसका लागि थप व्यवस्थापकीय र सम्पादकीय क्षमतासमेत चाहिन्छ।
पछिपछि थाहा पाएँ, यस्ता संघर्षशील व्यक्तित्वका धनी कठोर र कुटिल होइन हँसिलो र सबैसित मिल्ने स्वभावका रहेछन्।कुनै पनि पत्रपत्रिकाको कार्यालयमा, कुनै पनि साहित्यिक संघसंस्थामा अथवा कुनै पनि साहित्यिक कार्यक्रममा कसैले पनि भेट्न सक्थे पत्रपत्रिका र पुस्तकहरूले भरिएको ब्याग बोकेका उज्यालो र हँसिलो मुहार भएका— नकुल सिलवाल।
म २०७२ जेठताका अमेरिकाबाट फर्केपछि मेरा निकटका शुभेच्छुकहरूले सुनाए, 'नकुल अचेल कसैसँग भेट्दा पनि भेट्दैनन्, फोनसम्म पनि उठाउँदैनन्।'
मैले ठानेँ, थकित÷व्यथित अवस्था होला। निरन्तरको बाँच्ने र बचाउने संघर्षले जोसुकै पनि थाक्नसक्छ। अतः मैले चलाइनँ।
तर, आजभन्दा झन्डै तीन महिनाअघि मलाई नकुल भाइसित भेट्ने इच्छा उत्कट रूपले जाग्रत भयो। मैले आशङ्काग्रस्त हुँदै फोन गरेँ। फोन अरूले नै उठाएको भए पनि नकुल भाइसित निर्विघ्न सम्पर्कित भएँ। भेट्न चाहेँ। सहर्ष भेट्न माने।
डाक्टरले मलाई घरबाहिर एक्लै नहिँड्नू भनेको हुँदा साहित्यकार भाइ सुनील पुरीसँगै गएँ। नकुल भाइ पूर्ववत् प्रफुल्ल मुद्रामा भेट भए। म पनि आश्वस्त र प्रसन्न भएँ। मेरो नकुलसितको अन्तिम भेट यही रहेछ।
विसं २०७३ जेठ १६ गते बिहान ८:३० मा कथाकार नारायण तिवारीले 'फेसबुक'मा यो दुःखद समाचार राख्नुभएको रहेछ, '२०७३ साल जेठ १६ गते बिहान ७ बजे साहित्यकार नकुल सिलवालद्वारा आत्महत्या।' पढेँ, पढेर स्तब्ध भएँ।
अब शीर्षकलाई पूर्णता दिन चाहन्छु, 'आत्महत्या व्यक्तिको अधिकार हो भने व्यक्तिको कर्तव्य के हो ? '
- आज नेपाल अवसादग्रस्त छ। नेपालीहरू अवसादग्रस्त छन्।
- नेपाल र नेपालीलाई अधिकारमात्रै चाहिन्छ कि अधिकारसँगसँगै आउने कर्तव्य पनि चाहिन्छ ? ? ?