प्रभाव पार्नसक्ने स्ट्राइकरः थोमस मुलर
एजेन्सीः स्ट्राइकर थोमस मुलर जर्मन टोलीका महत्वपूर्ण सदस्य हुन् । जर्मनीले सन् २०१४ को विश्वकप जित्दा मुलरको भूमिका महत्वपूर्ण थियो ।
त्यसबाहेक जर्मन टोलीको प्रदर्शनमा पनि मुलर सशक्त देखिने गरेका छन् । मुलर अग्रपंक्तिमा कुनै पनि बेला गोल गर्नसक्ने क्षमताका खेलाडी हुन् । उनी आफूमात्रै गोल गर्दैनन्, सहकर्मीलाई निःस्वार्थ भएर गोलका अवसरसमेत जुटाइदिन्छन् ।
यसैले उनी टोलीमा नियमित रहने गरेका छन् । समूहगत चरणको अन्तिम तर निर्णायक खेलमा उत्तरी आयरल्यान्डविरुद्ध सिक्स यार्ड बक्समा मुलरकै उत्कृष्ट पासमा मारियो गोमेजले गोल गरेपछि जर्मनी अन्तिम १६ मा पुगेको थियो ।
यद्यपि समूह चरणको खेलमा गोल गर्न असफल भएका मुलरले जर्मनीलाई नकआउट चरणबाट थप अघि बढाउन सक्नेछन् ।
सन् २०१० मा अर्जेन्टिनाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका मुलरले त्यसयता ७४ खेल खेलिसकेका छन् ।
जर्मन क्लब बायर्न म्युनिखका यी २६ वर्षीय मुलरले टोलीका लागि ती खेलबाट ३२ गोलसमेत गरेका छन् ।