सिन्थियाका यादहरु
'तिमीहरूलाई नेपालमा हार्दिक स्वागत छ।' नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मैले बोलेको दोस्रो वाक्य थियो त्यो। त्यसअघि मैले उनीहरूलाई देखिनेबित्तिकै टाढैबाट 'हाई' भनेको थिएँ।
अमेरिकाको सिकागोबाट आएका उनीहरूले थ्याङक्युमात्र भनेनन्, सबैले पालैपालो मलाई अँगालो पनि मारे।यो यात्रामा उनीहरू तीन पुस्ता आएका थिए। हजुरआमा जेन कोबुक्ता गोर्डन, छोरी सिन्थिया गोर्डन र ज्वाइँ बहित
र होक्सा र नाति माइकल होक्सा। तर, उनीहरूले यात्रा अवधिभर मलाई त्यस्तो अनुभूति हुनै दिएनन्। मानौं, उनीहरू कलेजबाट पिकनिक मनाउन आएका एकै उमेरका साथीहरू पो हुन्।
बिहानको १० बजे उनीहरूले नेपालभूमि टेकिसकेका थिए। प्लेनबाट झेरका उनीहरू फेरि तत्कालै कारमा बसे। एअरपोर्टबाट हामी सीधै सोल्टी होटल पुग्यौं। १५ मिनेटपछि हामीले होटल छोडिसकेका थियौं। केही बेरमा हामी भक्तपुर पुग्यौं।
भक्तपुरको टौमढी चोक पुग्दा नेपालकै सबभन्दा अग्लो मन्दिर न्यातपोल अगाडिको एउटा रेस्टुराँको माथिल्लो तलाको उत्तरपूर्वपट्टि रहेको टेबल देखाउँदै सिन्थियाले पति बहितरलाई भनी, 'हेर त, ऊ त्यही टेबलमा बसेर हामीले नेपाली खाना खाएका थियौं। त्यति बेला मेरो पेटमा माइकल थियो।'
सिन्थियाले त्यसो भनिरहँदा उमेरले लक्का भइसकेको माइकल आमाले देखाउँदै गरेको टेबलतिर एक टकले हेरिरहेको थियो। यति बेला भने ऊ भिडियो गेममा मस्त र व्यस्त थिएन। होइन भने ऊ अधिकांश समय गेममै व्यस्त भइरहेको हुन्थ्यो।
भच्र्युल दुनियाँमा अभ्यस्त र व्यस्त भइरहको माइकल प्रकृतिभन्दा पर पुग्ला भनेर बाबुआमा दुवै चिन्तित देखिन्थे। हजुरआमा गोर्डेन भने नातिका हरेक इच्छाको समर्थन गर्थिन्। पटकपटक भन्दै थिइन्, 'माइकललाई तिमीहरू केही नभन। जे गर्छ गर्न देऊ। मानिसलाई उसको इच्छाको बाटोमा स्वतन्त्रतापूर्वक छाडिदिनुपर्छ।'
माइकल निकै कम बोल्थ्यो। बोल्दै बोल्दैन थियो भन्दा पनि हुन्छ। सोधेको कुराको जवाफ मात्र दिन्थ्यो। नचपाईकन सीधासीधा। भिडियो गेमबाट एक निमेष आँखा उठाउँथ्यो र मुसुक्क हाँस्थ्यो।
दिनभर सहरका अनेक गल्ली र चोकहरूमा म उसलाई 'आर यु ओके' भनेर सोध्थेँ। र, हरेकपटक ऊ फूर्तिसाथ 'आई एम ओके' भन्थी। थाके पनि थोकेको देखाउन चाहँदैन थिई। उसको एउटा खुट्टा निकै सुन्निएको थियो। मानौं, त्यो मिस गोर्डेनको होइन, मिस वा मिस्टर हात्तीको खुट्टा हो।
सुकिलो गोरो अनुहारमा उसका आँखा निकै चम्किला देखिन्थे। घाँटीभन्दा अलि तलसम्म आइपुगेको उसको घुम्रेको कपालमा ऊ असाध्यै सुन्दर देखिन्थ्यो। सिन्थिया अलि डल्ली भए पनि एकदम उज्याली थिई।
सिन्थियाको अमेरिकी परिवार १२ वैशाख २०७२ को विनाशकारी भूकम्पभन्दा ठीक अगाडि नेपाल आएका थिए। त्यसअघि झन्डै २० वर्षअगाडि पनि सिन्थिया दम्पती नेपाल आएका रहेछन्।
जहाँ पनि पुग्थे, प्रायः उनीहरू विगत सम्झिहाल्थे, 'हामी त्यहाँ बसेका थियौं। त्यहाँ घुमेका थियौं। अलिअलि बदलिए पनि यी ठाउँहरू उस्तै रहेछन्।'
यो एउटा 'रिप्ले' यात्रा जस्तै भइरहेको थियो।
पहिले देखेको ठाउँ रहेछ भने 'ए त्यो त हामीले पहिले पनि देखेका हौं' भन्थे। देखेको हो कि होइन भनी अलमलिए भने 'पहिले देखेजस्तो लाग्छ तर अहिले ठ्याक्कै याद भएन' भन्थे। पहिले नदेखिएको ठाउँ देखे भने 'यो त हामीले पहिलो चोटि देख्दैछौं' भन्थे।
मैले उनीहरूबाट धन्यवाद भने जहाँ पनि पाउँथे। पटकपटक पाउँथे। नयाँ केही चीज देखियो भने त्यसका लागि धन्यवाद भन्थे। पहिले देखिएकै चीज फेरि देखिए त्यसका लागि पनि धन्यवाद दिन्थे। त्यसरी उनीहरू मलाई धन्यवाद दिइरहन्थे। म धन्यवादको धनी भएको थिएँ।
कहिले श्रीमान् मन्दिर देखाउँथ्यो। कहिले श्रीमती सडक देखाउँथी। उनीहरू विगत अनुभूतिका एकएक चीज सम्झँदै थिए।'हेर त। त्यही मन्दिरमुन्तिर तिमीले मलाई अँगालो हालेर निकै बेर किस गरेका थियौ। सम्झन्छौ ? ' श्रीमान्लाई सिन्थियाले सोधी।
केही बेर अड्किएर श्रीमान्ले भन्यो, 'हो हो, मैले सम्झेँ।'
सिन्थियाको अनुहारमा अर्कै उज्यालो आयो।
श्रीमान् वकिल रहेछ। अमेरिकाका ठूल्ठूला कम्पनीको पक्षमा उसले कानुनी सहायता गर्दो रहेछ। आवरणमा ठ्याक्कै बिल क्लिन्टनजस्तो लाग्ने ऊ असाध्यै नम्र थियो।
असाध्यै दयालु डाक्टरजस्तै गरेर यसपटक नेपाल घुम्न उनीहरूसँगै आएकी सासूलाई ऊ निरन्तर ख्याल र हेरचाह गर्दै थियो। तर, खासमा सिन्थियाचाहिँ पेसाले डाक्टर रहिछ।
'मिस गोर्डेन', ज्वाइँले सासूलाई त्यसरी बोलाउँथ्यो। उनीहरू एकअर्कालाई नामले बोलाउँथे। माइकलले एकाधपटक बाबुलाई ड्याड र आमालाई ममा नभनेको होइन तर प्रायः ऊ पनि उनीहरूलाई उनीहरूको नामले नै सम्बोधन गथ्र्यो। श्रीमान्-श्रीमती पनि एकअर्कालाई नामैले बोलाउँथे।
उनीहरू सोल्टी होटलमा बसेका थिए। नेपाल आइपुगेको भोलिपल्ट होटलबाहिरपट्टि उनीहरूले नेपाली सिमकार्ड किने। नेपाल यात्राका अनेक समाचार आफ्नो देशका साथीसंगीलाई सुनाउन सिन्थिया आतुर रहिछ।
भटाभट भन्न थाली, 'हिजो हामी वसन्तपुर गयौं। वसन्तपुरले अहिले पनि आफ्नो प्राचीन अनुहार गुमाएको रहेनछ। हामी अघिल्लोपटक आउँदाजस्तै रहेछ। हामी निकै रमाइलो गर्दैछौं। ब्रेकफास्ट, लन्च र डिनर पनि राम्रो भइरहेको छ।'
मोबाइल कानमा राखेर यताउता हिँड्दै उताका आफन्त र साथीहरूलाई यी र यस्तै अनेक नेपाल समाचार सुनाउँदै ऊ मेरोअगाडि आइपुगी। मेरो आँखामा आँखा राखेर हल्का मुस्काउँदै अलिकति स्वर थपेर भनी, 'गाइड पनि गज्जबकै परेको छ।'
मैले कुनै प्रतिक्रिया जनाइनँ। म गज्जबको होइन, उसको शिष्टता गज्जबको हो भन्ने मलाई थाहा छँदै थियो।
फोन राखिसकेपछि के लागेछ कुन्नि ? 'फेरि भन्न थाली, तिमी साँच्चै गज्जबको छौ।'
नभनी सुखै पाइन। भनेँ, 'धन्यवाद।'
अर्को दिन उनीहरू पोखरा जानु थियो।
अघिल्लोपटक नेपाल आउँदा पनि उनीहरू पोखरा गएका रहेछन्। त्यति बेला त्यहाँको नामी होटल फिस्टेलमा बस्ने विचार गरेर रिसेप्सनमा गएछन्। रुमको रेट सोधेछन्। त्यो रेट उनीहरूका लागि त्यति बेला निकै महँगो भएछ। यता काठमाडौंमा अरू पनि महँगा तथा आकर्षक होटलमा बस्ने उनीहरूको रहर रहेछ। तर, खल्ती उनीहरूको इच्छा अनुकूल थिएन।
उनीहरू जीवनको अर्कै खण्डमा थिए त्यति बेला। उनीहरू संघर्षको चर्को चरणमा थिए। इच्छाहरू थिए तर त्यसलाई पूर्ति गर्ने सामथ्र्य थिएन। करिअरको त्यो सुरुआती चरणमा उनीहरूले नेपालमा आफ्ना इच्छाहरू अधुरो र उधारो छोडेर गएका रहेछन्।
धेरै वर्षपछि त्यो अधुरो इच्छा पूरा गर्दैछन् यसपटक।
स्मृतिहरू जीवनका ठूला सम्पत्ति हुन्। तर, त्यसअघि न उनीहरूसँग नेपाल स्मृति थियो न त आर्थिक रूपले नै पनि त्यति धेरै सम्पन्न थिए।
जीवनमा हरेकको आफ्नो कथा हुन्छ। उनीहरूको पनि छ। मेहनतको फलस्वरूप उनीहरूले आफ्नो कथालाई सम्पन्नताको मोडमा ल्याइपुर्याए।
'अहिले हामी आर्थिक रूपले सक्षम छौं। यो नठान कि हामीसँग धनैधनको थुप्रो छ। तर, हामीसँग पर्याप्त पैसा छ।
हामी हाम्रा अतृप्त इच्छाहरूलाई पूरा गर्ने हैसियत राख्छौं', सिन्थियाले थोरै भावुक हुँदै भनी।जीवनमा परिवर्तन सम्भव छ। उसका कुराले मलाई त्यस्तो लाग्यो।सिन्थियाकी आमा उमेरले अठासी वर्ष लागिसकेकी थिइन्।
अघिल्लो हिउँदमा उनको स्वास्थ्य निकै चिन्ताजनक भइसकेको थियो। तर, अहिले किशोरीजस्ती चञ्चल र चकलेटी भएकी थिइन्।
दिनभर सहरका अनेक गल्ली र चोकहरूमा म उसलाई 'आर यु ओके' भनेर सोध्थेँ। र, हरेकपटक ऊ फूर्तिसाथ 'आई एम ओके' भन्थी। थाके पनि थोकेको देखाउन चाहँदैन थिई। उसको एउटा खुट्टा निकै सुन्निएको थियो। मानौं, त्यो मिस गोर्डेनको होइन, मिस वा मिस्टर हात्तीको खुट्टा हो। तर, पनि फटाफट हिँड्थी। उसले हरहालतमा आफूलाई मेन्टेन गर्दै थिई।
सासूको यो व्यवहारले ज्वाइँ खुसी थियो। आमाको यो व्यवहारले छोरी खुसी थिई। हजुरआमाको यो व्यवहारले नाति खुसी थियो। तर, त्यसभन्दा बढी म खुसी थिएँ। यो यात्रामा मलाई सजिलो के भएको थियो भने मिस गोर्डेनसँग म एकदम नजिक भएको थिएँ। अरूलाई भन्दा बढी म उसलाई ख्याल गर्थें। त्यसमा अरू तीनजना निकै खुसी थिए।
तर, सायद यथार्थको अर्को रूप पनि थियो। सायद ऊ यो चाहँदैन थिई, उसको कारणले छोरी, ज्वाइँ र नातिलाई अप्ठ्यारो होस्। त्यसैले यात्रामा ऊ अरूजस्तै फिट एन्ड फाइन देखिन खोज्थी। तर, उसका राता आँखाले ऊ रातभर ननिदाएको अनुमान गर्न म सक्थेँ। रातभर उसका खुट्टा कत्ति दुखे होलान्।