चीनमा बसमा भीषण आगो, ३५ जनाको मृत्यु
बेइजिङ: मध्य चीनमा एक पर्यटक बस रेलिङमा ठोक्किँदा भएको आगलागीमा परेर कम्तिमा ३५ जनाको ज्यान गएको छ । यो घटनामा कम्तिमा २० जना घाइते भएका छन् ।
यो घटना शनिबार हुनान प्रान्तमा भएको हो ।बसमा ५६ जना सवार थिए । बस राजमार्गको रेलिङमा ठोक्किएपछि आगो उठेको थियो । स्थानीय सरकारले रेलिङमा बस जुधेपछि तेल चुहिएर आगो उठेको अनुमान गरेको छ ।
यो घटनामा २० जनालाई अस्पताल भर्ना गरिएको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पुलिसले बस चालकलाई हिरासतमा लिएको छ ।
चिनियाँ सरकारी टेलिभिजिन सीसीटीले बसमा आगो लागेको भिडियो बजाएको थियो । जहाँ बसबाट बाक्लो धुवाँ निस्केको देख्न सकिन्छ । भिडियोमा बसमा फसेका मानिसलाई निकाल्न कोशिस गरिरहेको देखाइएको छ ।
चीनमा यातायात दुर्घटना धेरै हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, चीनमा हरेक वर्ष २ लाख ५० हजार मानिस सडक दुर्घटनामा मारिने गरेका छन् ।
चीनको ग्रामीण इलाकामा मध्यम र लामो दुरीका लागि बस लोकप्रिय साधन हो । चीनमा बस कम्पनीले सरकारको सुरक्षा मापदण्ड पालन नगर्ने हुँदा यस्ता दुर्घटना हुने गरेका बताइएको छ ।