अफगान जान चाहनेलाई फेरि पठाउने तयारी

अफगान जान चाहनेलाई फेरि पठाउने तयारी

काठमाडौं: सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुक जान प्रतिबन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुट्टीमा आएर फर्कन चाहनेलाई अफगानिस्तान पठाउने तयारी गरेको छ ।

श्रम मन्त्रालयले सरकारले प्रतिबन्ध लगाएको स्थानमा सुरक्षा खतरा भएकाले नजान आग्रह गर्दै सर्वसाधारणलाई ट्राभल एडभाइजरी गर्ने र एडभाइजरीको समेत बेवास्ता गर्दै जान चाहनेलाई लिखित कबुलियत गराएर जान दिने तयारी गरेको हो ।

अफगानिस्तानको राजधानी काबुलमा क्यानेडेली दूतावासमा गार्डको काम गर्दै नेपालीमाथि लक्षित गर्दै गत सोमबार तालिबान आतंकवादीले आत्मघाती बम विस्फोट गराएर १३ नेपालीको मृत्यु भएपछि बिहीबार मन्त्रिपरिषद् बैठकले अफगानिस्तान, इराक, सिरिया र लिबियामा नेपालीलाई रोजगारका लागि जान प्रतिबन्ध लगाएको थियो ।

श्रम तथा रोजगारमन्त्री दीपक बोहोरा स्वयं छुट्टीमा आएकालाई फर्काउन पहल गर्दै विभिन्न सरोकारवालासँग छलफलमा सक्रिय भएका छन् । मन्त्री बोहोराले आइतबार वैदेशिक रोजगार विभागका अधिकारीसँग समेत छुट्टीमा आएकालाई तत्काल जान अनुमति दिनेबारे छलफल गरेको स्रोतले बताएको छ ।

 

मन्त्री बोहोराले वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराईलाई छुट्टीमा आएकालाई काममा फर्कने वातावरण मिलाउन निर्देशन दिएको स्रोतले बताएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले नजान आग्रह गर्दागर्दै पनि छुट्टीमा फर्किएका र जान चाहे उनीहरूकै रिस्कमा जान दिने तयारी मन्त्रालयले गरिरहेको बताए ।

भुर्तेलले भने, ‘छिट्टै स्ट्रिक ट्राभल एडभाइज जारी गर्छौं । त्यसको समेत बेवास्ता गर्दै जानेको सरकार जिम्मेवारी लिन सक्दैन ।'

‘हाम्रो लगानी भइसकेको छ । केही भइहालेमा सरकारलाई बोझ दिँदैनौं, तर हामी फर्क पाउनुपर्छ', अफगानिस्तान फर्कन चाहने एक नेपालीले अन्नपूर्णसँग भने, हामी पूर्ण सुरक्षित छौं । गत सोमबारको घटना अपवाद हो ।' फर्कन चाहनेले आफूहरूले काबुलस्थित अमेरिकी दूतावास र यूएसएडमा काम गर्ने र त्यहाँको सुरक्षा राम्रो भएको भन्दै सरकारले अनुमति दिनुपर्ने बताए ।

श्रम मन्त्रालयले छुट्टीमा आएका कामदारले जान पाउनुपर्ने दबाब दिएपछि कामदारले नै जोखिम मोल्ने सर्तमा पठाउने भएको हो । नेपालबाट गार्डका रूपमा अफगानिस्तान पठाउने विभिन्न कम्पनीले समेत श्रममन्त्रीलाई काबुल पूर्ण सुरक्षित रहेको विश्वास दिलाएका छन् ।

मन्त्री बोहोराले आइतबार कामदार पठाउने कम्पनी र छुट्टीमा आएर फर्कन चाहनेसँग छलफल गरेका थिए । छुट्टीमा आएकाको संख्या यकिन नभए पनि फर्कन चाहनेको संख्या ठूलो भएको स्रोतले बताएको छ ।

श्रम मन्त्रालयले पहिलोपटक जान चाहनेलाई मात्र कडाइ गर्न लागेको छ । मन्त्रालयले छुट्टीमा आएकालाई जान दिनु भन्ने व्योहोराको पत्र विमानस्थल, एयरलाइन्स कम्पनी र अध्यामगन कार्यालयलाई पत्राचार गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।

मन्त्री बोहोराले विभागकी निर्देशक भट्टराइलाई विमानस्थल, एयरलाइन्स कम्पनी र अध्यागमन विभागलाई तत्काल पत्र पठाउन निर्देशन दिएको स्रोतले बताएको छ ।

‘हामीले अफगानिस्तानबाट छुट्टीमा आएकालाई पनि नजान सुझाव दिइरहेका छौं', वैदेशिक रोजगार विभागका एक अधिकारीले भने, ‘जबरजस्ती जान्छु भन्नेलाई आफूखुसी गएको व्योहोराको लिखित कबुलियत गरेपछि पठाउने तयारी गरेका छौं ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.