ठूला देशको टकराव र सानो देशको हलचल

ठूला देशको टकराव र सानो देशको हलचल

हालैका दिनमा नेपालको राजनीतिक परिदृश्यमा हेर्दा सामान्य जस्तो देखिने तर लामो अन्तरालमा गएर दूरगामी प्रभाव पार्ने केही घटना भएका छन् । पहिलो घटनामा धेरै संख्यामा छिन्नभिन्न अवस्थामा रहेका माओवादीको एकता थियो । दोस्रो घटना, कुनै समय माओवादी दलको मुख्य सैद्धान्तिक विचारक डा. बाबुराम भट्टराईद्वारा नयाँ पार्टीको घोषणा थियो ।

यी दुई राजनीतिक घटनाको सम्बन्ध सत्ताको सन्दर्भमा रहनेछ । तर तेस्रो सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना भनेको नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको नेपाल बन्दले सिंगो देशको जनजीवन नै ठप्प पार्ने गरेको घटना हो । दसदस ओटा माओवादीको एकता डा. बाबुराम भट्टराईको त्यत्रो ठूलो जनसभा र संविधानको विरोधमा झन्डै १० महिनादेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका मधेसवादी दलहरू एवं जनजाति समूहहरू रिले अनशनमा बस्दै आआफ्नो शक्ति प्रदर्शनमा रहेको बेलामा पूर्ण रूपमा देश नै ठप्प हुने गरी विप्लवको माओवादी पार्टीले गरेको बन्द नेपालको भावी राजनीतिको लागि एउटा अनिष्टताको संकेत हो ।

नेपालको राजनीतिमा यस्तै समान्य जस्ता घटनाले कालान्तरमा ठूलाठूला परिवर्तनको संवाहक बनेको सबैसामु छन् । त्यही परिस्थितिका आधारमा विप्लव माओवादीको सफल बन्दलाई विश्लेषण गर्दा राजनीतिमा नयाँ घटना विकास हुँदै गरेको संकेत गर्छ । विप्लवको बन्दको अभूतपूर्व सफलता भएको दिन नेपालको चार दिने भ्रमण पूरा गरी चिनियाँ जनसेनाका उपप्रमुख आफ्नो देश फर्कंदै थिए । यो पनि एउटा संयोग नै मान्नुपर्छ ।

तर राजनीति र कूटनीतिमा यसको अर्थ आफ्नै खालको हुन्छ । विप्लवका नेकपा माओवादीले चिनियाँ जनसेनाका उपप्रमुख फर्कने दिन बाटो रोक्ने काम मात्र गरेनन्, त्यसको दुई दिनअघि विश्वका महाशक्ति राष्ट्र अमेरिकासँग आबद्ध दुई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सेभ द चिल्ड्रेन र बल्ड भिजन इन्टरनेसनलको कार्यालयमा आगजनी गरेका घटना पनि सांकेतिक छ ।

नेपालको भूराजनीतिक धरातल चलमय छ । जसरी प्राकृतिक रूपमा भारत र युरेसियाको प्लेटबीचको घर्षणले प्राकृतिक संकटहरू निरन्तर वा समयसमयको अन्तरालमा घटिरहेका छन् त्यसैगरी विश्व राजनीतिमा उदयीमान दुई विशाल छिमेकीहरूको द्वन्द्वले नेपालको राजनीतिक परिदृश्यमा पनि अप्रत्यासित हलचलहरू उच्पन्न भइरहेका छन् । यो निरन्तर जारी नै रहनेछ ।

दक्षिण एसियाको विभिन्न देशमा पत्रकारको रूपमा काम गरेको फ्रान्सका पत्रकार इरिक एस मारगोलिसले आफ्नो ‘वार एट टप अफ द वल्र्ड’ भन्ने विश्वका शक्तिशाली राष्ट्रहरूको स्वार्थको नयाँ रूपको संघर्ष अफगानिस्तानदेखि बर्मासम्मको लामो क्षेत्रमा हुुने निष्कर्ष दिएका छन् । यी उदीयमान शक्तिराष्ट्रहरूको छद्मयुुद्धमा त्यस क्षेत्रका साना राष्ट्रहरूको आन्तरिक राजनीतिक व्यवस्थामा पनि हलचल ल्याउने उनको ठहर छ ।

फ्रान्सेली पत्रकार मार्गोलिसको भनाइमा एक्काइसौँ शताब्दीमा भारत र चीनबीच विश्वका शक्तिमा स्थापित हुनको लागि प्रत्यक्ष र परोक्ष रूपमा हुने विभिन्न खालका द्वन्द्वले नेपाललगायतका साना देशहरूका राजनीतिक व्यवस्था अस्थिरताले चलायमान रहने छन् । जसरी दुुई टेक्टोनिक प्लेटको घर्षणले बारबार भूकम्पका साना–ठूला धक्काहरू अप्रत्याशित रूपमा आइरहेका छन् ।

त्यस्तै नेपालजस्ता देशका राजनीतिक व्यवस्थामा अनेकन हलचल आइ नै रहनेछ । दुई ठूला शक्तिराष्ट्र भारत र चीनबीच प्रभाव विस्तारका लागि हुने प्रत्यक्ष वा परोक्ष द्वन्द्वले नेपाल जस्ता दक्षिण एसियाको साना र कमजोर मुलुक मात्र होइन, विश्वमा नै हलचल लिएर आउने ठहर फ्रान्सेली पत्रकारको छ । उन्नाइसौँ शताब्दी मध्य एसियामा रूस र बेलायतबीच भएका शक्ति द्वन्द्वहरू जसलाई बेलायती लेखक किप्लिङले ग्रेट गेम भनेका थिए । त्यो खेल अब दक्षिण एसियामा खेलिने निचोड फ्रान्सेली पत्रकारको छ ।

एसियाका दुुई उदीयमान महाशक्ति राष्ट्रबीच अवस्थित नेपालमा लामो समयदेखि कतिपय अप्रत्यासित राजनीतिक घटना भएका छन् । आन्तरिकभन्दा पनि बाह्य शक्तिका संलग्नतामा भएका घटनाले नेपालको आन्तिरिक राजनीतिमा आउन सक्ने प्रभाव अनुमान गर्न सकिन्छ । माओवादी आन्दोलनदेखि बाह्रबुँदेसम्म र त्यसपछि भएका राजनीतिक परिवर्तनहरूमा बाह्य शक्तिको प्रभाव र भूमिका अनि तिनको निर्णायकत्वको बारेमा राजनीतिज्ञ स्वदेशी एवं विदेशी विद्वान्हरूले यथेष्ट चर्चा–परिचर्चा गरिसकेका छन् ।

नेपालको राजनीतिमा पात्र र पात्रको भूमिका बदलिएको छ । तर अहिले पनि नेपालको आन्तरिक राजनीतिमा हलचल समाप्त भएको छैन । यो समाप्त हुने लक्षण दूरदराजसम्म पनि देखिँदैन । हिजो हिंसात्मक आन्दोलनका नेता हिंसात्मक आन्दोलनविरोधी एउटै ठाउँमा आइपुग्दा यी दुवै शक्तिलाई हाँक दिने अर्को शक्ति अर्को प्रारूपमा तयार हुँदै गरेको अवस्था हो यो ।

नेपालजस्तो परम्परागत कृषि व्यवस्थामा आधारित र आधुनिक राजनीतिक संरचनाहरू निर्माणकै क्रममा रहेको र स्थापित भइनसकेको अवस्थामा विश्वका सम्पन्न स्थापित संरचनाहरू भएका देशहरूले गरेको राजनीतिक व्यवस्थाको प्रयोग गर्नु आफैँमा ठूलो चुनौती हो । त्यसमा पनि नेपालभन्दा कयौँ गुणा आकारमा ठूला र सैनिक आर्थिक सबैमा शक्तिशाली मुलुकको कटरावको बीचमा रहनु आफैँमा महत्वपूर्ण हो ।

दक्षिण एसिया र नेपालविद् मानिने अमेरिकी प्राध्यापक स्व. लियो रोज भन्छन्, ठूला देशहरूको बाह्य नीति आन्तरिक राजनीतिले निर्धारण गर्छ । तर सानो देशको आन्तरिक नीति ठूला देशको बाह्य नीतिमा निर्भर हुन्छ । रोजको भनाइले प्रस्ट पार्छ कि नेपालको आन्तरिक विषयमा हाम्रा ठूला छिमेकीको प्रभाव कुुन हदसम्म पर्छ, यी घटना वा विषय अपाच्य जस्तो देखिए पनि राजनीतिका धरातलीय यथार्थ हुन् ।

नेपालको उत्तरी सीमाबाहिरको तिब्बतमा आएको परिवर्तनपछि नेपालमा आएका प्रत्येक परिवर्तनहरूमा दक्षिणका के–कस्ता प्रभाव थिए भन्ने कुराको लामो विवेचना भइसकेका छन् । नेपालको राजनीतिमा बाह्रबुँदे सम्झौता जस्तो सम्झौता त्यसले नेपालको आन्तरिक राजनीतिमा पार्न सक्ने आकलनको विषयमा नेपालभन्दा धेरै टाढा बसेर फ्रान्सका एक पूर्व कूटनीतिज्ञ थिरी म्याथुले धेरै पहिले कोरिसकेका थिए ।

अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयको वर्कलेबाट प्रकाशित हुने विश्वविख्यात जर्नलको एसियन सर्वेको लेखमा फ्रान्सेली पूर्व कूटनीतिज्ञ म्याथुले तिब्बती समथर मरुभूमिमा रेल्वेको प्रवेशले दक्षिण एसियाको राजनीतिक रणनीतिक व्यापारिक र आर्थिक क्षेत्रमा ठूलो हलचल आउने विश्लेषण गरेका थिए । २००५ को जुलाई, अगस्तमा यो लेख प्रकाशित भएपछि गरिएको बाह्रबुँदेपछि भएका राजनीतिक हलचलले नेपाल अझै आक्रान्त र अस्थिर छ ।

कानुनी र संख्यात्मक शक्तिको आधारमा संविधान जारी गरेर विघटित भएको संविधानसभा त्यसपछि ९० प्रतिशत सभासद्ले संख्यात्मक शक्तिका आधारमा जारी संविधान र संविधानविरुद्ध विद्रोह र त्यसको विरुद्धमा जीवन त्याग गर्नेको संख्या ठूलो छ । एकातिर तीन ठूला दल र त्यससँग आबद्ध केही साना दलले ९० प्रतिशतद्वारा जारी संविधानको बचाउमा न्वारानदेखिको बल निकालेर प्रयास गर्दै रहँदा पनि यस संविधानको कमजोर वैधानिकताले देशलाई स्थायित्व दिन सक्ने सम्भावना क्षीण छ । अझै संविधान जारीपछि भएको नाकाबन्दीले नेपाल दण्डित हुनुपरेको यथार्थ सबैले भोगेकै हो ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा रेल्वे जोडिसकेको सन्दर्भमा संविधानको वैधानिकतामा प्रश्न राख्दै झन्डै ६ महिना लामो नाकाबन्दी नेपालले सामना ग¥यो । चीनले पहिलोपल्ट नेपालमा तिब्बतको मार्ग हुँदै झन्डै १० लाख लिटर पेट्रोलियम पदार्थ आपूर्ति गर्यो र आफ्नो स्वार्थ कुन हदसम्मको भन्ने संकेत दिएको छ । फ्रान्सेली पूर्व कूटनीतिज्ञ म्याथुले विश्लेषण गरेजस्तो चीनको मूल भूभाग र तिब्बतबीच रेल जोडिएपछि चीनले आफ्नो रणनीतिक प्रभाव दक्षिण एसियामा बढेको महसुस गरेको छ ।

दुई ठूला शक्तिराष्ट्र भारत र चीनबीच प्रभाव विस्तारका लागि हुने प्रत्यक्ष वा परोक्ष द्वन्द्वले नेपाल जस्ता दक्षिण एसियाको साना र कमजोर मुलुक मात्र होइन, विश्वमा नै हलचल लिएर आउने ठहर फ्रान्सेली पत्रकारको छ । उन्नाइसौँ शताब्दी मध्य एसियामा रूस र बेलायतबीच भएका शक्ति द्वन्द्वहरू जसलाई बेलायती लेखक किप्लिङले ग्रेट गेम भनेका थिए । त्यो खेल अब दक्षिण एसियामा खेलिने निचोड फ्रान्सेली पत्रकारको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको सन्दर्भमा होस् वा नेपालका अन्य नेता वा चिनियाँ विज्ञ र नेताहरूको भ्रमणको बेला होस् नेपाललाई रेल्बेसँग जोड्ने विषय अहिले जोडतोडले उठ्ने गरेको छ । यसले भारतको राजधानी नयाँदिल्लीको रणनीतिक र सुुरक्षा क्षेत्रमा तापमान बढ्दै गरेको संकेतहरू नेताहरूको भाषणा कूटनीतिज्ञ एवं सुरक्षाविद्हरूको लेख र विश्लेषणमार्फत निरन्तर आइरहेको छ । यी टिप्पणी मानौँ नेपालको राजनीतिमा अस्थिर बनाउने झड्काहरू पनि देखिएका छन् । भारतीय रणनीति एवं सुरक्षा विश्लेषक ब्रह्मचेलानीले आफ्नो पुस्तक एसियन जोगरनट भन्ने पुस्तकमा दुई विशाल राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाले उत्पन्न गर्ने परिस्थिति भयावह हुन सक्ने चित्रण गरेका छन् ।

बेइजिङ र नयाँदिल्लीमा भइरहेको रणनीतिक निर्णयको प्रभाव नियन्त्रण गर्ने क्षमता न नेपालसँग छ न त्यस्तो हैसियत । परम्परागत रूपको वैधानिकता स्थापित राजसंस्थाको बहिर्गमनपछि वैधानिकता स्थापित भइनसकेका नेपालका राज्य संरचनाका नयाँ संस्थाहरू र अनुभवहीन र आफैँमा धेरै गुट–उपगुटमा विभाजित राजनीतिक दलका नेताहरूको नेतृत्वमा रहेको नेपालले अझै ठूला–ठूला संकट र हलचल हुनुपर्नेछ । राज्य सञ्चालनका संस्थाहरूसमेत गुट–उपगुटमा लाग्दैगर्दा विश्वसनीयता गुमाउँदै गएको यथार्थ छ ।

राज्यको संरचनाहरू कमजोर हुँदै गर्दा एकअर्काविरुद्ध थप आक्रामक छन् । नागरिकको व्यक्तिगत स्वतन्त्रता ठूलो संकटमा छ । राज्य सञ्चालनमा रहेका न्यायालय, सुरक्षा निकाय, चिकित्सक, व्यापारी प्रशासक एवं राजनीतिज्ञहरू एकअर्काविरुद्ध लड्न लगाउँदै निरिह बनेका छन् । जनता जनता, क्षेत्र क्षेत्र, धर्म जातीयताका आधारमा विभाजित छ । यो विभाजन अझै गहिरँदो अवस्थामा छ । यो अवस्थामा देशको आर्थिक विकास र निमुुखा जनताको जीवनस्तर उठाउने विषयमा कोरा कागज र कल्पनामा मात्र सीमित छ ।

क्षेत्रीय स्तरमा आएको द्वन्द्वले सिर्जित संकटको सामना गर्ने वा त्यसको प्रभावलाई न्यूनतम राख्ने नेतृत्व शक्ति देखिँदैन । दुई फ्रान्सेली विद्वान्हरूको अभिव्यक्तिलाई हेर्ने हो भने भूराजनीतिक कारणले आएको नेपालको संकटले अझै थुप्रै हलचल ल्याउनेछ । राजनीतिक अस्थिरता नेपालको नियति हुनेछ। अर्का अमेरिकी विद्वान् जोहन डब्लू गारभरलो आफ्नो पुस्तक बीसौँ शताब्दीमा चीन र भारतबीचको प्रतिस्पर्धा लामो समयसम्म रहने भविष्यवाणी गरेका छन् ।

दुई ठूला उदयीमान राष्ट्रहरूको विश्व शक्तिको रूपमा स्थापित हुने प्रतिस्पर्धाबाट आउने हलचल नेपालको यथार्थ हो । यसले ल्याउने राजनीतिक व्यवस्थामा परिवर्तन एक निरन्तर नियति हो । जति ठूला आर्थिक प्रगति र विकासका कुरा गरे पनि नेपालको आर्थिक विकासको वृद्धिदर उकास्ने आवश्यक राजनीतिक स्थायित्व हासिल हुने सम्भावना छैन ।

सानो परम्परागत राज्य संरचना एवं प्रशासनिक संरचनाले अहिलेको क्षेत्रीय द्वन्द्वबाट सिर्जित समस्यासँग जुध्न धेरै गाह्रो छ । निरन्तर राजनीतिक अस्थिरताले थिलथिलो भएको प्रशासनिक क्षमता र अनुभवहीन राजनीतिले थप संकट निम्त्याउनेछ । सरदर ७५ प्रतिशतको हाराहारीमा साक्षारता प्रतिशत पुगेर शिक्षित व्यक्तिहरूको संख्या उल्लेख भए पनि नेपालको वर्तमान जटिल संकट र त्यसले जन्माएको समस्या बुझ्ने समुुदाय धेरै छन् ।

देशको आन्तरिक राजनीतिको हलचलले गर्दा नेपालमा अवसर नपाएर अरूको मरुभूमि पुग्न बाध्य २० लाखभन्दा बढी जनता नेपालमा आर्थिक सुधार भएर तत्कालै स्वरोजगारको लागि फर्कने सम्भावना छैन । देश अहिले ठूलो संकटमा छ । तर देशलाई हाँक्नुपर्ने नेतृत्व विभाजित छ । नेतृत्व तहमा वर्तमान संकटलाई आकलन गरी देशलाई सही बाटोमा डोर्याउने क्षमता पनि देखिन्न । बाह्य संकटबाट उत्पन्न स्थिति भयावह छ भने त्यो संकटलाई बुझेर राष्ट्रलाई एकताबद्ध रूपमा लौजान शक्ति नहुँदा नेपालको प्रजातन्त्र थप संकटमा पर्ने सम्भावना छ । प्रजातान्त्रिक नेतृत्व असफल भयो भने त्यसको ठाउँमा अर्को शक्ति आउने सम्भावना दुरक्षितिजमा देखिन थालेको छ ।

वरिष्ठ अधिवक्ता एवं भारत र चीनको द्वन्द्वलाई नियालेर हेर्नुहुने स्वर्गीय गणेशराज शर्माको विचार अझै पनि मननीय छ । नेपालमा क्रियाशील राजनीतिक संकटको केन्द्रविन्दु नेपाली राजनीतिज्ञहरू र जनताको काबुभन्दा बाहिर छ । विगतका गम्भीर विचलनहरू नेपालीहरूबाटै नगरिएको भए नेपालले अझ बढी शान्ति र स्थायित्वको लाभ लिन सक्ने थियो । अब राजनीतिको निर्णयक ठाउँमा रहेका जोसुकैले विगतका गम्भीर र आत्मघाती विचलनहरूबाट जोगिने क्षमता कति राख्छ, त्यसैमा नेपालको आगामी स्वरूप प्रकट हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.