घुम्टो ओढेर चेतना फलाउँदै
सिमरा (बारा): रहर भए पनि बारा गढीमाई नगरपालिका १० बेहराकी २८ वर्षीया संगीता कर्ण नेपाली बोल्न जान्दिनन्। भोजपुरी पनि उनका लागि सहज छैन। भारतको दरभंगाबाट बुहारी भएर बेहरा आएकी उनी हिन्दीमा नेपाली र भोजपुरी मिसाएर बोल्छिन्।
मधेसमा बस्नेलाई उनको भाषा बुझ्न खासै कठिन पनि छैन। नेपाली र भोजपुरी मिसाएर बोल्ने संगीताको शैली मन नपराउने पनि कोही छैनन्। गाउँकै शिक्षित बुहारीका रूपमा गनिने संगीता नेपाली र भोजपुरी कण्ठ पार्न चाहन्छिन् तर सोचेजस्तो सहज छैन।
दरभंगास्थित ललित नारायण मिथिला युनिभर्सिटीबाट स्नातक उत्तीर्ण उनी अहिले गाउँका किशोरीलाई विभिन्न खालका सामाजिक शिक्षा दिइरहेकी भेटिन्छिन्। उनले सिकाएका कुरा सुन्न गाउँका किशोरी पनि निकै इच्छुक देखिन्छन्।
मधेसमा समस्याको रूपमा रहेको दाइजोप्रथा, बालविवाह, जातीय विभेदलगायत समाजमा विद्यमान कुरीति र विकृतिविरुद्ध चेतना फैलाउने अभियानमा उनको सक्रियता पछिल्लो समय बढेको छ।
भाषामा समस्या भए पनि आफूले सिकाएको कुरा सबैले बुझिरहेको बताउने उनी पढिरहेका र पढाइ छाडेका गाउँका २७ जना किशोरीलाई भेला गराएर दैनिक शिक्षा दिने काम गरिरहेकी छन्। घरको काम सकेर दैनिक दुई घन्टा छुट्याएकी उनी पढाइको महत्वसँगै समाज परिवर्तनका निम्ति अघि बढ्न किशोरीलाई ऊर्जा थप्ने गर्छिन्।
बालविवाहविरुद्ध आवाज उठाइरहेकी उनले परिवारको दबाबका कारण १७ वर्षको उमेरमा विवाह गरेकी थिइन्। आफ्नै विवाह सानो उमेरमा भएको भन्दै उनले आफूलेजस्तो अरू किशोरीले बालविवाहको सिकार हुनु नपसोस् भन्ने चाहना रहेको बताइन्।
'परिवारको दबाब र विभिन्न समस्याले गर्दा सानै उमेरमा विवाह गर्नुपर्यो', उनले भनिन्, 'तर यो गलत थियो। यसलाई रोक्नुपर्छ, त्यसका लागि चेतना बढ्नु जरुरी छ।'
बेहरा घर भए पनि झारखण्डमा काम गर्ने अखिलेश कुमारसँग विवाह गरेकी उनले उच्च शिक्षा भने दरभंगामै लिएकी थिइन्। प्रविणता तहमा अध्ययन गर्दागर्दै विवाह गरेकी उनको इच्छा भने पढ्ने थियो। भाषाका कारण नेपालमा आएर पढ्न सम्भव नभएकाले उनले माइतमै बसेर पढ्ने इच्छा राखिन्।
उनको इच्छालाई पति अखिलेशले पूरा गरिदिए र उनले ललित नारायण मिथिला युनिभर्सिटीबाट स्नातक उत्तीर्ण गरिन्।दरभंगाबाट तीन वर्षअघि अखिलेशसँंगै बेहरा आएकी संगीता दुई छोरी र एक छोराकी आमा हुन्।
अखिलेश वीरगन्जमा काम गर्न थालेपछि उनी बेहरामा बस्न थालिन्। स्नातकसम्मको अध्ययन गरे पनि भाषाका कारण चाहेको काम गर्न नसकेकी संगीता पछिल्लो पाँच महिनायता अभियानमा सक्रिय भएकी हुन्।
'मेरो भाषमा समस्या छ, तर मभित्र कुनै समस्या छैन। त्यसैले समाजका लागि केही गर्न चाहन्छु', संगीताले भनिन्, 'आफूले सोचेअनुसार गाउँमा काम गर्ने अवसर आयो। त्यही अवसरलाई सदुपयोग गर्दै किशोरीलाई सिकाइरहेकी छु। उनीहरूबाट नेपाली र भोजपुरी सिकिरहेकी छु।'
आफूले पढेको र पढ्ने इच्छा राखेकै कारण विवाह गर्न केटापक्ष राजी भएको सुनाउँदै उनले जानेको कुरा सिकाउन पाउँदा खुसी लागेको बताइन्। 'मेरो पढाइ हेरेर मसँग विवाह गरे', उनले भनिन्, 'मैले पढेको र जानेको कुरा सिकाउन सकिनँ भने मैलेको पढेको अर्थ छैन।'
आफूले समय दिन थालेपछि विद्यालयमा मात्रै सीमित रहने किशोरी अहिले कुरीति र विकृतिविरुद्ध एकजुट हुने मात्र नभई अधिकार, सरसफाइलगायतका विषयमा पनि चेतनशील भएको उनले बताइन् समाज परिवर्तन गराउन प्रतिबद्ध रहेको बताउने किशोरीकै सक्रियतामा गाउँमा विभिन्न खालका अभियानसमेत सञ्चालन भइरहेको उनको भनाइ छ।
'किशोरीकै सक्रियतामा गाउँमा र्याली, घरदैलोलगायतका अभियान भइसकेका छन्', उनले भनिन्, 'यो पनि एउटा सफलता हो। किशोरीको सक्रियताले परिवर्तनको संकेत देखिएको छ।' घुम्टोप्रथा हट्नुपर्छ भन्ने सन्देश दिने उनी किशोरी माझ घुम्टो ओढेर आउँदा भने निकै अफ्ठेरो मान्छिन्।
पारिवरिक संस्कारका कारण घुम्टो ओढ्ने गरेको उनी सुनाउँछिन्। 'घुम्टो ओढ्नै पर्ने बाध्यता त छैन तर परिवारलाई खुसी पार्न ओढ्ने गरेकी छु', उनले हास्दै भनिन्।