चिनियाँ लेखकको टोली नेपालमा
काठमाडौंः नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखकको एक प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ ।
चिनियाँ लेखक संघ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक निबन्धकार–समालोचक फङ स्ये मिङको नेतृत्वमा आएको पाँच सदस्यीय भ्रमण दलमा लिन लान, काओ खाई, काओ वई र स्यु फङ रहेका छन् । उनीहरू पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।
दुई देशबीच साहित्यिक आदानप्रदान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएका लेखकहरूको सम्मानमा प्रतिष्ठानले शनिबार बेलुकी रात्रिभोजको आयोजना गरेको थियो ।
सो अवसरमा चिनियाँ पाहुनाको स्वागत गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने, ‘बुद्धको देशमा यहाँहरूलाई स्वागत गर्न पाउँदा हामीलाई हर्ष लागेको छ ।’ उनले यस भ्रमणले साहित्यिक एवं सांस्कृतिक सम्बन्ध बलियो हुने विश्वास उनले व्यक्त गरे ।
प्रतिनिधिमण्डलका प्रमुख फङले आभार व्यक्त गर्दै ‘दुईपक्षीय हितका साथै साहित्यिक एवं सांस्कृतिक उन्नतिका लागि आवश्यक कार्यहरूसहित नेपाल र चीनको सम्बन्धलाई अझ सुदृढ बनाउन चिनियाँ लेखक संघ लागिपर्ने’ बताए ।
चिनियाँ लेखकहरूलाई भक्तपुर र काठमाडौंका ऐतिहासिक स्थलहरूका साथै बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गराइने कार्यक्रम छ । मंगलबार प्रतिष्ठानमा आयोजना हुने साहित्यिक कार्यक्रममा सहभागी भई चिनियाँ लेखक टोली बुधबार स्वदेश फिर्ता हुनेछ ।