घूस लिएको पैसाले पुलिसबीच कुटाकुट (भिडियो)
काठमाडौं: घूस लिने मामिलामा भारतीय पुलिस संसारमै बदनाम छ । एक खुराक खैनीदेखि पाँच रुपैयाँसम्म घूस लिन पनि भारतीय पुलिस पछि पर्दैन ।
भारतबाट रोजगारी गरेर आउने हजारौं नेपाली पनि भारतीय पुलिसको घूस आतंकबाट हैरान छन् । उनीहरु भारतीय सीमा सुरक्षा बलका सदस्यहरुलाई अनिबार्य घूस तिरेर मात्रै घर आउन पाउँछन् ।
घूसमा बदनाम भारतीय पुलिसमा कहिलेकाहीँ बिचित्रका दृश्य देख्न पाइन्छ । यस्तै विचित्रको दृश्य भारतको उत्तरप्रदेशस्थित लखनउमा आइतबार दिउँसो देख्न पाइएको छ।
उत्तरप्रदेशको राजधानी लखनउस्थित इटौंजा थानाका पुलिसबीच सर्वसाधरणबाट असुलेको घूस बाँडफाँटमा कुरो नमिलेपछि आपसमा कुटाकुट भएको हो । समाचार अनुसार सडकमा पसल थाप्नेसँग उठाएको घूस बाँडफाँटमा कुरा नमिल्दा झगडा शुरु भएको थियो ।
सार्वजनिक स्थानमा ड्यूटीमा रहेका पुलिसबीच घूस बाँडफाँटमा कुरा नमिलेपछि कुटाकुट भएको हो । पुलिसबीच सडक छेउमै भएको यो घम्साघम्सीलाई सर्वसाधरणले चाख मानेर हेरेका थिए ।
बर्दीमै रहेका बेला कुटाकुट गरिरहेका आधा दर्जन पुलिसबीच फोहोरी शब्दमा गालीगलौज पनि भएको थियो ।
पुलिसको यो घूसको रमितालाई अहिलेको मोबाइल फोनको जमानामा सर्वसाधरणले भिडियो कैद गरेर सामाजिक सञ्जालमा हालिदिएपछि भारतीय सञ्चारमाध्यममा ठूलै समाचारको विषय बनेको छ ।