फाइनलजस्तै प्रिक्वार्टरफाइनल भिडन्त

फाइनलजस्तै प्रिक्वार्टरफाइनल भिडन्त

एजेन्सीः जारी युरोकप फुटबलको अहिलेसम्मकै सबैभन्दा चर्चित भिडन्तमा आइतबार राति स्पेन र इटाली भिड्दैछन्।

प्रतियोगिताको उपाधि दाबेदार मानिएका दुवै टोली प्रिक्वार्टरफाइनलमै आपसमा भिड्ने भएपछि एउटा दाबेदार टोली अन्तिम १६ बाटै बिदा हुने निश्चित छ । सबैभन्दा महत्वपूर्ण तथ्य त यी दुवै टोली गत संस्करणको फाइनलमा भिडेका थिए । इटालीलाई ४–० गोलले पराजित गरी स्पेनले उपाधि रक्षा गरेको थियो।

युरोकपमा उपाधि रक्षा गर्ने स्पेन पहिलो टोली बनेको थियो । यस पटक स्पेन युरोकप सर्वाधिक जित्ने टोली बन्ने प्रयासमा छ । त्योभन्दा पनि गत विश्वकपमा समूहगत चरणबाटै बाहिरिएपछि खस्किएको साख फर्काउनुपर्ने चुनौती पनि स्पेनलाई छ । त्यसैले यो भिडन्तमा इटालीभन्दा पनि स्पेनको प्रदर्शन सबैका लागि चासोको विषय बनेको छ ।

विश्वकपमा युुरोपियन राष्ट्रको प्रभाव बढिरहेका बेला युरोकपमा पनि इटाली र स्पेन दुवै प्रिक्वार्टरफाइनल खेल जितेर आफू उपाधिको बलियो दाबेदार भएको सन्देश दिन चाहन्छन् ।

युरोकपमा अघिल्ला दुई संस्करण अर्थात् सन् २००८ देखि भएका प्रतियोगितामा यी दुई टोली लगातार आपसमा भिडेका छन् भने ती भिडन्तमा स्पेन विजयी भएको छ । त्यसअघि भएका युरोकप र विश्वकप भिडन्तमा भने स्पेनमाथि इटाली हावी हुँदै आएको थियो ।

‘सन् २००८ यता स्पेन हाम्रा लागि स्थायी प्रतिद्वन्द्वीजस्तै भएको छ, त्यसैले हामी उसँग बदला लिन हान्छौं । तर यसलाई व्यवहारमा उतार्नु सहज छैन’, इटालीका रक्षक जर्जियो चेलिनी भन्छन् ।

इटालीले स्पेनलाई सन् १९३४ को विश्वकपको क्वार्टरफाइनलमा १–० र सन् १९९४ को विश्वकपको क्वार्टरफाइनलमा २–१ गोलले हराएको थियो । सन् १९८८ को युरोकपको समूहगत चरणमा पनि १–० गोलले हराएको थियो ।

यसैगरी सन् २००८ को युरोकपको क्वार्टरफाइनलमा भने स्पेनले इटालीलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो । जारी युरोकपको समूहगत चरणमा यी दुई टोलीबीच केही समान तथ्य रहे ।

दुवै टोली समूहगत चरणको आआफ्नो अन्तिम खेलमा पराजित भएका थिए । त्यसअघिका दुवै खेलमा इटाली र स्पेन विजयी भएका थिए ।

स्पेनले चेक गणतन्त्रलाई १–० र टर्कीलाई ३–० गोलले पराजित गरेको थियो भने क्रोएसियासँग २–१ गोलले पराजित भएको थियो ।

इटालीले बेल्जियमलाई २–० र स्विडेनलाई १–० गोलले पराजित गरेको थियो भने आयरल्यान्डसँग १–० गोलले पराजित भएको थियो ।

स्पेनले व्यहोरेको गोल पनि अर्थपूर्ण रह्यो । युरोकपमा स्पेनले १२ वर्षपछि पहिलो हार व्यहोरेको थियो भने सात खेलपछि पहिलो गोल खाएको थियो ।

इङ्ल्यान्डलाई सानो आइसल्यान्ड चुनौती
पहिलो पटक युरोकप जित्ने योजनामा रहेको इङ्ल्यान्डले मंगलबार बिहान हुने प्रतियोगिताको अन्तिम प्रिक्वार्टरफाइनल खेलमा आइसल्यान्डको सामना गर्दैछ ।

समूहगत चरणमा अपराजित रहे पनि एक जित र दुई बराबरीको नतिजा निकालेको इङ्ल्यान्डलाई आइसल्यान्ड बलियो चुनौती हुनेछ । युरोकपमा पहिलो पटक सहभागी हुने क्रममा नकआउट चरणको यात्रा तय गरेको आइसल्यान्ड विभिन्न कारणले चर्चामा छ ।

आइसल्यान्ड युरोकप खेल्ने सबैभन्दा कम जनसंख्या भएको राष्ट्र हो । करिब तीन लाख ५० हजार जनसंख्या भएको आइसल्यान्डले समूहगत चरणमा बलियो प्रदर्शन गर्‍यो । अपराजित रहेको आइसल्यान्डले एक जित र दुई बराबरीको नतिजा निकाल्ने क्रममा पोर्चुगल र हंगेरीसँग अंक बाँढेको थियो । आइसल्यान्डले अस्ट्रियालाई भने २–१ गोलले हराएको थियो ।

यसैगरी इङ्ल्यान्डले रुससँग १–१ तथा स्लोभाकियासँग गोलरहित बराबरी खेलेको थियो भने वेल्सलाई २–१ गोलले हराएको थियो ।

इङ्ल्यान्डविरुद्धको इतिहास भने आइसल्यान्डको पक्षमा छैन । हालसम्म यी दुई टोली ११ पटक आपसमा भिडेका छन्। उक्त भिडन्तमा इङ्ल्यान्डले नौ जित र दुई बराबरीको नतिजा निकालेको छ ।

पछिल्लो पटक यी दुई टोली सन् २००४ मा आपसमा भिडेका थिए । उक्त भिडन्तमा इङ्ल्यान्ड ६–१ गोलले विजयी भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.