इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटको चिन्ता

इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटको चिन्ता

फ्रान्सः ठूला प्रतियोगिताहरूमा सधैं अभागी टोलीको संज्ञा पाउँदै आएको इङ्ल्यान्ड जारी युरोकप फुटबलको नकआउट चरणमा पुगेको छ ।

नकआउट चरणमा पुगेपछि भने इङ्ल्यान्डका समर्थकलाई सबैभन्दा बढी पेनाल्टी सुटआउटका चिन्ताले सताउन थालेको छ । ठूला प्रतियोगितामा पेनाल्टी सुटआउट इङ्ल्यान्डका लागि सधैं अफापसिद्ध हुँदै आएको छ ।

समूहगत चरणको खेलमा एउटा हारले मात्र कुनै पनि टोलीको भाग्यको फैसला गर्दैन । जारी युरोकपको समूहगत चरणको खेलमा पनि इङ्ल्यान्ड केवल एउटा खेल जित्दै नकआउट चरणमा पुगेको हो ।

समूह ‘बी' मा रहेको इङ्ल्यान्ड तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकाल्दै पाँच अंकसहित उपविजेता बनेको थियो । जबकि तुलनात्मक रूपमा कमजोर बेलायतकै अर्को राष्ट्र वेल्स दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्दै ६ अंकसहित समूह विजेता बनेर प्रिक्वार्टरफाइनलमा पुग्न सफल भयो ।

नकआउट चरणमा पुगिसकेपछि भने एउटै नतिजाले नै टोलीको भविष्य निर्धारण गर्छ, घर फर्कने वा उपाधि होडमा कायम रहने भनेर ।

पक्कै पनि नकआउट चरणमा पुग्ने कुनै पनि टोली कमजोर हुँदैनन् । यस अर्थमा युरोकपका आगामी खेलहरू पनि प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । तर इङ्ल्यान्डका लागि यस्तै प्रतिस्पर्धात्मक खेलको नतिजा नै सधंै दुःखद बन्दै आएको छ ।

सन् १९९० यता खेलिएका ठूला प्रतियोगिताहरूमा इङ्ल्यान्डले सातमध्ये ६ वटा पेनाल्टी सुटआउटमा पराजयको सामना गर्नु परेको इतिहास छ । जारी युरोकपको नकआउट चरणमा पुगेपछि अहिले इङ्ल्यान्ड आफ्नो यही तीतो इतिहासबाट त्रसित बनेको छ ।

स्टुअर्ट पियर्स, क्रिस वाड्ली, गारेथ साउथगेट र डेभिड बाटी इङ्लिस फुटबलमा आआफ्नो समयका चर्चित नाम हुन् । यिनै चर्चित नामहरू ठूला प्रतियोगितामा निकै पटक पेनाल्टी सुटआउटको अवसर सदुपयोग गर्नबाट चुकेको तीतो इतिहास छ ।

इङ्ल्यान्डले जारी युरोकपको प्रिक्वार्टरफाइनल खेल असार १४ गते बेलायतकै अर्को राष्ट्र आइसल्यान्डसँग खेल्दैछ । समर्थकमात्र होइन, नकआउट चरणमा पेनाल्टी सुटआउटको विषयलाई लिएर इङ्ल्यान्डका अनुभवी खेलाडीहरू पनि चिन्तित देखिएका छन् ।

टोलीका कप्तान वेन रोनीले हरेक दिन नियमित अभ्यासपछि आफूहरूले लामो समय पेनाल्टी सुटआउटको अभ्यास गर्ने गरेको रहस्य पनि खोलको छन् । रोनीले पेनाल्टी सुटआउटका अभ्यास गर्दा पनि आफूहरूले वास्तविक खेलकै जस्तो वातावरण बनाउने गरेको बताएका छन् ।

‘पेनाल्टी सुटआउटमा हाम्रो विगत त्यति सुःखद छैन । त्यसैले युरोकपको आगामी खेललाई ध्यानमा राखी नियमित प्रशिक्षणपछि हामी सधैं सुटआउटका अभ्यास गर्छा', रोनी भन्छन्, ‘पेनाल्टी सुटआउटको अभ्यास गर्दा वास्तविक खेलकै जस्तो वातावरण बनाउने प्रयास पनि गर्छौं, फरक यतिमात्र हुन्छ अभ्यासका क्रममा रंगशालामा समर्थकको दबाब हुँदैन ।'

पेनाल्टी सुटआउटमा गोलरक्षकको महत्वपूर्ण भूमिका हुने भएकाले आफूहरूले त्यसमा बढी ध्यान दिने गरेको रोनी बताउँछन् । ‘हाम्रा गोलरक्षकले पेनाल्टी प्रहार गर्ने खेलाडीको मनोविज्ञान अध्ययन गर्न सकून् भन्ने विषयमा अभ्यासका क्रममा हामी बढी सचेत रहन्छौं । गोलरक्षकले बल रोक्न नसके पनि खेलाडीले बल प्रहार गरेकै दिशामा हाम फाल्छन् भने त्यो सुःखद पक्ष हो', रोनी भन्छन् ।

सन् १९९० को विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डले तत्कालीन पश्चिम जर्मनीलाई प्रतिद्वन्द्वीका रूपमा पाएको थियो । यी दुवै टोलीबीचको निर्धारित र थप गरिएको समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटमा निकाल्नुपर्ने भयो ।

जर्मनीले सुरुका चारवटै प्रहारलाई गोलमा परिणत गर्‍यो । इङल्यान्डले सुरुका तीन प्रहारलाई गोलमा परिणत गरे पनि पछिल्ला दुई प्रहारलाई भने सदुपयोग गर्न सकेन । सोही कारणले जर्मनीसँग ४-३ गोलले पराजित हुँदै इङ्ल्यान्ड सेमिफाइनलबाट बाहिरियो ।

इङ्ल्यान्डको तर्फबाट चौथो नम्बरमा आएका स्टुअर्ट पियर्सको प्रहारलाई जर्मनीका गोलरक्षकले रोकेका थिए भने पाँचौं नम्बरमा आएका क्रिस वाड्लीको प्रहार क्रसबारभन्दा माथिबाट बाहिर हुइँकिएको थियो ।

सन् १९९६ को युरोकपमा पनि इङ्ल्यान्डले घरेलु मैदानमा फेरि उस्तै नियति व्यहोर्नु पर्‍यो । क्वार्टरफाइनल खेलमा पेनाल्टी सुटआउटमै स्पेनलाई ४-२ गोलले हराएर अघि बढेको इङ्ल्यान्ड सेमिफाइनलमा भने जर्मनीसँग पेनाल्टी सुटआउटमै पराजित हुन पुग्यो ।

सेमिफाइनलमा निर्धारित र थप गरिएको समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जर्मनीले इङ्ल्यान्डलाई ६-५ गोलले हराएको थियो । जर्मनीले ६ वटै प्रहारलाई गोलमा परिणत गर्‍यो भने इङ्ल्यान्डको तर्फबाट अन्तिममा प्रहार गर्न आएका गारेथ साउथगेट असफल बनेका थिए ।

यसैगरी सन् १९९८ को विश्वकपको प्रिक्वार्टरफाइनलमा पनि इङ्ल्यान्डलाई अर्जेन्टिनाले पेनाल्टी सुटआउटमै हराएको थियो । निर्धारित र थप गरिएको समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-३ ले विजयी भएको थियो ।

त्यतिबेला अर्जेन्टिनाका हर्नान क्रेस्पोले पेनाल्टी चुकाएका थिए भने इङ्ल्यान्डका दुई खेलाडी डेभिड बाटी र पल इन्सले पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् ।

इङ्ल्यान्डले यस्तै नियति सन् २००४ को युरोकप र सन् २००६ को विश्वकपमा पनि भोग्नु परेको थियो । सन् २००४ को युरोकपको क्वार्टरफाइनलमा पोर्चुगलले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ६-५ गोलले हराएको थियो ।

निर्धारित र थप गरिएको समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । त्यतिबेला पोर्चुगलका रुई कोस्टा तथा इङ्ल्यान्डका डेभिड बेकह्याम र डारियस भासेल पेनाल्टी प्रहारमा गोल गर्न असफल भएका थिए ।

यसैगरी सन् २००६ को विश्वकपको क्वार्टरफाइनलमा निर्धारित र थप गरिएको समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पोर्चुगलले इङ्ल्यान्डलाई ३-१ ले हराएको थियो । त्यतिबेला इङ्ल्यान्डका फ्रान्क लाम्पार्ड, स्टेभन जेरार्ड र जामी कारघर पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएका थिए । पोर्चुगलका लागि भने ह्युगो भियना र पेटिटले गोल गर्न सकेका थिएनन् ।

सन् २०१२ को युरोकपमा पनि इङ्ल्यान्ड पेनाल्टी सुटआउटमै पराजित हुँदै क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य बनेको थियो ।

त्यतिबेला क्वार्टरफाइनलको निर्धारित र थप गरिएको समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इटालीले इङ्ल्यान्डलाई ४-२ गोलले हराएको थियो । इङ्ल्यान्डका आस्ले योङ र आस्ले कोलले पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । इटालीका लागि भने रिकार्डो मोन्टोलिभोले गोल गर्न सकेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.