साविक विजेता स्पेन युरोकपबाट घर फर्कियो
काठमाडौंः युरोकप फुटबल प्रतियोगिता अन्तरगत सोमबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन स्पेन इटालीसँग पराजित हुँदै घर फर्केको छ ।
फ्रान्समा भइरहेको प्रतियोगिताको क्वार्टरफाइनल प्रवेशका लागि भएको भिडन्तमा स्पेन इटालीसँग २–० ले पराजित भएको हो ।
स्पेनलाई घरको बाटो देखाउने क्रममा इटालीका लागि पहिलो हाफको ३३ औं मिनेटमा जर्जियो चिलीनीले अग्रता दिलाए ।
सर्जियो रामोसले फल्स खेल्दै इटालीका खेलाडीलाई लडाएपछि २३ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक बललाई स्पेनका किपर डेभिड डेयाले बचाउ गरेका थिए ।
डेयाले बचाउ गरेर पठाएको रिबाउन्ड बललाई इटालीयन डिफेन्डर जर्जियो चिलिनीले जाली चुमाउँदै १–० को अग्रता दिलाए ।
पहिलो हाफमा स्पेनले केही राम्रा अवसर निकाले पनि राम्रो फिनिसिङको अभाव खट्कियो । उत्कृष्ट स्ट्राइकरको अभावमा स्पेनले इटालीलाई दबाब दिन सकेन ।
यस्तोमा इटालीले खेलको इन्जुरी समयको पहिलो मिनेटमा जर्जियानो पेल्ले काउन्टर एट्याकमा गोल गर्दै २–० को जित पक्का गरे ।
डिफेन्डिङ च्याम्पियनलाई घर फर्काएको इटालीको अबको क्वार्टर फाइनल भिडन्त विश्वविजेता जर्मनीसँग हुनेछ ।