हजारौँ रोपनी जग्गा अझै माओवादी कब्जामा

हजारौँ रोपनी जग्गा अझै माओवादी कब्जामा

छेटु शेर्पा

संखुवासभाः माओवादीले सशस्त्र द्वन्द्वका क्रममा कब्जा गरेको घरजग्गा अझै पनि फिर्ता हुनसकेको छैन । बृहत् शान्ति सम्झौता गरी सशस्त्र द्वन्द्व अन्त्य भएको एक दशक बित्न लागे पनि संखुवासभाका विभिन्न ठाउँमा तीन हजार रोपनीभन्दा बढी जग्गा अझै पनि माओवादीकै कब्जामा छ ।

कब्जा जग्गा फिर्ता दिन माओवादीसँग पटकपटक माग गर्दा र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि अझैसम्म जग्गाको स्वामित्व लिन नसकेको पीडित जग्गाधनीले बताएका छन् । जिल्लाको स्याबुन ३ र ४ मा रहेको सुन्दर अलैंची प्रालिको एक हजार दुई सय रोपनीभन्दा बढी अलैंचीबारी अझै पनि माओवादी कब्जामै छ । त्यहाँबाट उत्पादित अलैंची माओवादीका नाममा केही व्यक्तिले लिँदै आएका छन् ।

चैनपुर १० का पीडित रामेश्वर श्रेष्ठले त्यहाँको कित्ता नम्बर ३०, ६२, ७७, ११७, १०८८, १०८९, १०९१, ११००, १३२६, १३२७, १३२८, १३२९, १३४९, १३५०, १५१०, १५९९, १६००, १६५९, १६६०, १७०१, १७०२, १७०३ को जग्गामा लगाइएको अलैंची २०५७ सालदेखि माओवादीले लिँदै आएको बताए ।

रामेश्वरले आफ्नो चैनपुर ८ भन्ज्याङखर्कमा ५० रोपनी खेत, २७ मुरी ठेक्का आउने धानखेती, जलजला ९ वाबुनमा आँप, लिची र धानखेती, स्याबुन ५ कुसुवा डाँडागाउँमा धानखेती अझै कब्जामा रहेको बताए । आफूले राजस्व तिरेको र आफ्ना नाममा रहेको नम्बरी जग्गा तत्काल फिर्ता दिन उनले माग गरे ।

चैनपुर १० का भोलामान श्रेष्ठ र शंकर श्रेष्ठले करिब एक हजार रोपनीभन्दा बढी जग्गा अझै पनि माओवादी कब्जामै रहेको बताए । उनीहरूले माओवादीमा फुट आए पनि ती जग्गाबाट व्यक्तिले आम्दानी लिँदै आएको जानकारी दिए । उनीहरूले तत्काल दोषीलाई कारबाही गरी जग्गा फिर्ता गर्न पनि माग गरे । चैनपुर १० मा रहेको शंकरको घर नेकपा माओवादीले कब्जा गरी पार्टी कार्यालय स्थापना गरेको छ ।

उनले लाखौं खर्च गरेर अलैंची हुर्काएको बगानबाट वार्षिक चार सय मनभन्दा बढी अलैंची माओवादीले लिँदै आएकाले क्षतिपूर्तिसहित जग्गा फिर्ता गराइदिन प्रशासनसँग माग गरेका छन् । उनले २०५७ सालदेखि एक हजार रोपनी अलैंचीबारी, दुई सय रोपनी धानखेत कब्जामा रहेको बताए । उनकी पत्नी सरस्वती  श्रेष्ठले यसबारे जिल्ला प्रशासन कार्यालय संखुवासभामा तीनपटक उजुरी दिए पनि कुनै सुनुवाइ नभएको बताइन् ।

उनका छोरा सबुत श्रेष्ठले उक्त जग्गाबाट उत्पादित अलैंची लिन जाँदा माओवादीले लखेटेको गुनासो गरे । अलैंची फर्म रामेश्वर, द्वारिका, किशोर र ध्रुव श्रेष्ठका नाममा भएकाले चारैजनाले फिर्ता गराउन प्रशासनमा उजुरी दिएका थिए । माओवादीले खेती उठाउन प्रयास गरे जे पनि गर्ने धम्की दिएको श्रेष्ठले बताए ।

चैनपुरका राम श्रेष्ठ र लक्ष्मण श्रेष्ठको मादी १३ मा रहेको अलैंची बारी अझै पनि कब्जामा छ । माओवादी पार्टीमा फुटसँगै आम्दानी भागबन्डा गर्ने गरेको र भागबन्डा नमिल्दा झगडासमेत भएको पाइएको छ ।

नेकपा माओवादीका नेता पुष्प कोइरालाले भने क्रान्तिकारी पार्टी भएकाले कब्जा जग्गा फिर्ता गर्नेभन्दा पनि थप कब्जा गर्ने पक्षमा पार्टी रहेको बताए । हदबन्दीभन्दा बढी जग्गा कब्जा गर्ने नीति पार्टीको रहेको र मालपोत प्रमुख तथा लेखापढी व्यवसायीको मिलोमतोमा हदबन्दी जग्गा खरिदबिक्री हुने गरेकाले आफूहरूले कारबाही गरेको उनले बताए ।

राज्यले नीति ल्याएर हदबन्दी जग्गा गरिब जनतालाई उपलब्ध गराउनुपर्ने भन्दै उनले त्यस्तो जग्गा सरकारले आफ्नो स्वामित्वमा नराखेसम्म कब्जा फिर्ता नगर्ने जनाए ।

माओवादी केन्द्रका संखुवासभा उपाध्यक्ष कृष्ण जिमीले राज्यले भूमिसुधार नीति ल्याएर कब्जा जग्गाको व्यवस्थापन गर्नुपर्ने बताए । राष्ट्रिय समस्या भएकाले केन्द्रीय तहबाट समाधान हुनुपर्ने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्यले भने आफू नयाँ भएकाले घटनाको पूरा अध्ययन गरेर कारबाही सुरु गर्ने बताए । उनले अवस्थाको जानकारी लिएर माथिल्लो निकायको सहयोगमा कब्जा जग्गाबारे निर्णय गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.