दूध विक्रीबाट महिनामै डेढ लाख मुनाफा

दूध विक्रीबाट महिनामै डेढ लाख मुनाफा

सूर्यप्रकाश कँडेल
खैरहनीः खैरहनी नगरपालिका ३ गोठश्वरका ३१ वर्षीय सन्तोष अर्याल पाँच वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन् ।

पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा एक वर्ष बिताएपछि उनले विदेशमा बगाउने पसिना स्वदेशमै बगाएर पैसा कमाउन सकिने निश्चय गरी गाई पाल्न सुरु गरेका हुन् । पाँचवटा गाईबाट पशुपालन सुरु गरेका अर्यालको गोठमा अहिले माउ र बाच्छा गरी ४६ वटा चौपाया छन् ।

‘जहाँ गए पनि मेहनत नगरी पैसा कमाउन सकिँदैन', उनले भने, ‘मेहनत नै गर्नुपर्छ भने आफ्नै व्यवसायमा किन नगर्ने भन्ने सोचेर गाईपालन सुरु गरेँ।' सुरुमा केही रकम ऋण काढेर गाईपालन सुरु गरेका अर्याल अहिले ऋणमुक्त छन् ।

३५ लाख रुपैयाँ लगानी रहेको अर्याल गाई फर्मबाट उनले लाखौँ आम्दानी गर्न सफल भएका छन् । उनलाई गाईपालनमा परिवारका अन्य सदस्यले पनि साथ दिएका छन् । दूध बेचेरै अहिले मासिक एक लाख रुपैयाँ बचत हुने गरेको अर्यालकी श्रीमती मुनादेवी बताउँछिन् ।

‘कमाइको ५० प्रतिशत खर्च गाईको पालनपोषणमा हुन्छ', उनले भनिन्, ‘आफैंले लगानी गरिएको छ । कमाइ पनि आफ्नै भएको छ ।' दुईजनालाई रोजगारीसमेत दिएका अर्यालले गाईपालनको आम्दानीबाटै एउटा ट्याक्टर खरिद गरेका छन् । ‘१५ लाख रुपैयाँमा ट्याक्टर किनेको छु', सन्तोषले भने, ‘ट्याक्टरबाटै खर्च कटाएर दैनिक तीनदेखि चार हजार रुपैयाँ बचत हुने गर्छ ।'

गाईलाई खुवाउने दानामा हुने मूल्यवृद्धिले किसानलाई समस्यामा पारेको उनले बताए । ‘३० कठ्ठामा घाँसखेती गरेको छु तैपनि दाना खुवाउनै पर्छ', उनले भने, ‘दानाको मूल्य बेलाबेलामा वृद्धि भइरहन्छ । पराल पाउन पनि मुस्किल छ ।'

दाना र परालको अस्वाभाविक मूल्यवृद्धिले व्यावसायिक रूपमा पशुपालनमा अगाडि बढेकालाई धेरै समस्या भएको उनले सुनाए । होलिस्टन र जर्सी जातका गाई पालेका उनलाई दूध बिक्री नहोला कि भन्ने समस्या छैन । ‘दूध बिक्री हुँदैन कि भन्ने चिन्ता छैन', उनले भने, ‘दूध उत्पादन गर्न सके बिक्री समस्या छैन ।' दैनिक एक सय लिटरभन्दा बढी दूध स्थानीय डेरीमा बिक्री गर्ने गरेको उनले बताए ।

चितवनको राप्ती नगरपालिका ७ घमौराका नेत्रमणि दनई २०६५ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब पुगे । खाडीको चर्को गर्मीमा चार वर्ष पसिना बगाएपछि नेपाल फर्केर उनले पनि गाईपालन सुरु गरे । स्वदेश फर्केपछि व्यावसायिक रूपमा गाईपालन गरेर राम्रो आम्दानी गर्न थालेका उनी महेनत गरे यहीँ राम्रो कमाइ हुने बताउँछन् ।

‘मासिक २० हजार रुपैयाँ कमाउन अर्काको भूमिमा गएको थिएँ', उनी भन्छन्, ‘अहिले दाजुभाइले सँगै मेहनत गर्दा यहीँ महिनाको दुई लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेछ । स्वदेशमा मेहनत गरे विदेश जानै पर्दैन ।' २०६९ सालमा सातवटा गाई पालेर व्यवसाय सुरु गरेका दनई दाजुभाइको गोठमा अहिले ३५ वटा गाई छन् । ‘दाजुभाइ मिलेर व्यावसायिक रूपमा गाईपालन गरेका छौँ', उनले भने, ‘आफ्नै जमिनमा घाँस लगाउँछौं । अहिलेसम्म राम्रो आम्दानी भइरहेको छ ।'

गाई फर्ममा अहिलेसम्म ३० लाख रुपैयाँ लगानी भइसकेको जानकारी दिँदै उनले दूध बिक्रीबाट मासिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको सुनाए । गाईलाई खुवाउन दाना, चोकर खरिद गर्दा खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँ बचत गर्न सकेको उनको भनाइ छ ।

‘साउदी अरबमा काम गर्दा मासिक २० हजार रुपैयाँभन्दा धेरै कमाउन सकिएन', उनले भने, ‘अहिले यहाँ महिनाको डेढ लाख रुपैयाँ कमाइ भएको छ । मलाइ त यहीँ राम्रो छ । परिवार सुखले पालिएको छ ।' दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आएका दनईको गाईगोठमा १८ वटा दुधालु गाई छन् । गाईको दूध, गोबर र बाच्छीको बिक्रीबाट पनि आम्दानी हुने गरेको उनले बताए ।

३० कठ्ठामा घाँसखेती गरेका उनले अब गाईको संख्या वृद्धि गरेर ६० वटा पु¥याउने लक्ष्य लिएका छन् । ‘व्यावसायिक रूपमा नै अगाडि बढेकाले गाईको संख्या थप्ने योजना बनाएको छु', उनले भने, ‘गाईगोठका लागि लगानी गर्दै थप निर्माणको कामसमेत अगाडि बढाएका छौँ । व्यावसायिक रूपमा अगाडि बढ्दा २० लाख रुपैयाँ ऋण लागेको छ ।

अब त्यसलाई पनि तिर्ने तयारीमा छु ।' व्यावसायिक गाईपालन गर्दा पशु सेवा कार्यालयबाट पनि सहयोग पाएको र परिवार नै यस व्यवसायमा लागेकाले बाहिरका कुनै पनि व्यक्तिलाई काममा लगाउन नपरेको उनी बताउँछन् ।

व्यावसायिक पशुपालन गर्नेले सरकारी सहयोग पाउने गरेको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्की बताउँछन् । गएको आर्थिक वर्षमा एक करोड २१ लाख रुपैयाँ र चालू आर्थिक वर्षमा एक करोड सात लाख रुपैयाँ पशु सेवालाई सरकारले दिएको उनले जानकारी दिए ।

ती सबै रकम व्यावसायिक पशुपालनमा लागेका किसानका लागि विभिन्न शीर्षकमा खर्च गरिएको उनी बताउँछन् । पशु सेवा कार्यालयमार्फत ठूला पशु फर्मलाई चार लाख, मझौला फर्मलाई दुई लाख र साना फर्मलाई एक लाख रुपैयाँ अनुदान दिने गरिएको पशु सेवा कार्यालयले जनाएको छ ।

व्यावसायिक पशुपालन गरेका र आफ्नो काममा निरन्तर लागेका किसानलाई सरकारले पशु सेवा कार्यालयमार्फत अनुदान रकम दिँदै आएको छ । जिल्ला पशु सेवा कार्यालयले गाईपालन, भैँसीपालन, पाडापालन, बंगुरपालनलगायतका पशुपालन व्यवसाय गरेकालाई प्रोत्साहनस्वरूप केही रकम दिने गरेको छ ।

किसान आफैँले लाखौँ रुपैयाँ लगानी गरेको ठाउँमा सानो रकम भए पनि सरकारले अनुदान दिने गरेको पशु सेवा कार्यालयका प्रमुख डा. कार्की बताउँछन् । दुग्ध उत्पादनका लागि गाईपालन र भैँसीपालन हुँदै आएको चितवनमा दैनिक दुई लाख लिटर दूध उत्पादन हुँदै आएको छ ।

व्यावसायिक पशुपालन गरेका र आफ्नो काममा निरन्तर लागेका किसानलाई सरकारले पशु सेवा कार्यालयमार्फत अनुदान रकम दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.