नेपाल-भारत सम्बन्ध सुधार्न दुवै पक्ष सक्रिय

नेपाल-भारत सम्बन्ध सुधार्न दुवै पक्ष सक्रिय

काठमाडौँ: नेपाल र भारतबीच राजनीतिक तहमा सम्बन्ध अझै सुध्रिन नसके पनि द्विपक्षीय सरकारी संयन्त्रका बैठकहरू भने धमाधम भइरहेका छन् ।

राजनीतिक तहमा रहेको चिसोपना कम गर्न र द्विपक्षीय सम्बन्ध सहजतातर्फ उन्मुख रहेको सन्देश दिन द्विपक्षीय संयन्त्रका बैठक नियमित भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको दुई साताअघिको भारत भ्रमणपछि द्विपक्षीय संयन्त्रका बैठकहरू हप्तैपिच्छे बसिरहेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र थापाबीचको भेटमा द्विपक्षीय संयन्त्रका हुन नसकेका बैठकहरू अगाडि बढाउने सहमति भएको थियो ।

नेपाल र भारतबीच विदेशमन्त्रीस्तीय संयुक्त आयोगको बैठक अगस्ट दोस्रो साता गर्ने सहमति थापा र स्वराजबीच भएको थियो । यद्यपि बैठकको मिति निश्चित भइनसकेको परराष्ट्र अधिकारीले बताए ।

गत साता नेपाल र भारतका नापी विभागका अधिकृत स्तरको बैठक काठमाडौंमा बसेको थियो । त्यसपछि नेपाल-भारत नापी विभागका महानिर्देशकहरूको तहमा ‘बोर्डर वर्किङ ग्रुप' को बैठक बस्यो । त्यसअघि जेठ अन्तिम साता नयाँदिल्लीमा सहसचिवस्तरीय द्विपक्षीय सुरक्षा परामर्श बैठक सम्पन्न भएको थियो ।

गत असोजमा नेपालले नयाँ संविधान जारी गरेपछि तीव्र असन्तुष्टि व्यक्त गर्दै भारतले नाकाबन्दी लगाएपछि द्विपक्षीय संयन्त्रका अधिकांश बैठक प्रभावित हुँदै आएका थिए ।

पछिल्लोपटक नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावित भारत भ्रमण रद्द गरी नयाँदिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएपछि सम्बन्ध थप चिसिएको थियो ।

दक्षिणी छिमेकी भारतले सरकार ढाल्न प्रत्यक्ष र परोक्ष रूपमा भूमिका निर्वाह गरेकोमा असन्तुष्टि जाहेर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको भ्रमण रद्द गरी राजदूत उपाध्यायलाई समेत फिर्ता बोलाउने निर्णय लिएका थिए ।

‘नेपाल र भारतबीचका द्विपक्षीय संयन्त्रका बैठकहरू नियमित रूपमा गर्ने र सम्बन्धलाई पुरानै अवस्थामा फर्काउने प्रयास हो', परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने ।

नेपाल र भारतका वाणिज्य सचिवहरूको दुईदिने बैठक मंगलबार नयाँदिल्लीमा सुरु हुँदैछ । बैठकमा भाग लिन वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा परराष्ट्र, अर्थ, वाणिज्यलगायतका मन्त्रालयका अधिकारीहरू नयाँदिल्ली पुगेका छन् ।

बैठकमा वीरगन्ज र विराटनगरमा एकीकृत सुरक्षा जाँच चौकी निर्माण सम्पन्न गर्न गति दिने, भारतीय रेललाई विराटनगरसम्म जोड्ने, भारतीय नाकाबन्दीका बखत तेस्रो देशबाट आयातित नेपाली व्यापारीको सामान कलकत्तामा रोकिँदा तिर्नुपरेको विलम्ब शुल्कको विवाद समाधानलगायत विषयमा बैठकमा छलफल हुने सरकारी अधिकारीहरूले बताएका छन् । भारत र नेपालबीचको जलस्रोत सचिवस्तरीय बैठक सोमबार सुरु भएको छ ।

नेपाल-भारत प्रबुद्ध समूहको पहिलो बैठक अर्को साता काठमाडौंमा बस्दैछ । प्रधानमन्त्री ओलीको भारत भ्रमणमा प्रबुद्ध समूहको औपचारिक घोषणा गरिएको थियो । बैठक असार २० र २१ गते बस्न लागेको हो ।

समूहले नेपाल-भारत शान्ति तथा मैत्रि सन्धि (१९५०) लगायत अन्य अन्य द्विपक्षीय सन्धि तथा सहमति पुनरवलोकन, अद्यावधिक वा खारेज गर्न नेपाल र भारत सरकारलाई सुझाव दिने कार्यादेश पाएको छ । यही असार २० र २१ गते नेपाल-भारत पञ्चेश्वर गभर्निङ बोर्डको बैठक पोखरामा बस्ने तय भएको छ ।

नेपाल र भारतबीच गृहसचिवस्तरीय बैठक अगस्टामा काठमाडौंमा आयोजना हुने भएको छ । बैठकको मिति तय भइनसकेको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताए ।

नेपालका लागि भारतीय राजदूत रञ्जित रेले सोमबार अर्घाखाँचीमा भएको एक कार्यक्रममा नेपाल र भारत दुवैतर्फबाट राष्ट्रपति भ्रमण चाँडै हुने बताएका थिए । परराष्ट्रमन्त्री थापाको हालैको दिल्ली भ्रमणमा सम्बन्ध सुधारका लागि राष्ट्रपतिको तहमा भ्रमणहरू आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.