अन्नपूर्णकर्मी दाहाल सम्मानित
काठमाडौं: पत्रकारितामार्फत अपांगताका क्षेत्रमा सुधार ल्याउन योगदान पुर्याएको भन्दै युवा अपांग संगठन नेपालले अन्नपूर्णकर्मी दीपा दाहाललाई सम्मान गरेको छ।
संगठनले मंगलबार जोरपाटीमा एक कार्यक्रम आयोजना गरी उनलाई पत्रकारितामार्फत अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षालगायत अधिकारको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
दाहालसँगै द हिमालय टाइम्सकी कोकिला केसी, गोरखापत्रकी सीता शर्मा र नागरिकका खिलक बुढाथोकीलाई पनि संगठनले सम्मान गरेको छ।
कार्यक्रममा सम्मानपत्र प्रदान गर्दै नेकपा एमालेका सभासद रामेश्वर फुँयालले अपांगताका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यस क्षेत्रको समानता र सम्मानका लागि सबै एकजुट हुनुपर्ने बताए।
कार्यक्रममा आपांगताका क्षेत्रमा योगदान पुर्याएका अन्य संघसंस्थाका चारजनालाई पनि सम्मान गरिएको छ।
संगठनले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालित अपांगता भएका व्यक्तिहरूका लागि मोबाइल मर्मतसम्बन्धी तालिममा सहभागी भएकाहरूलाई प्रमाणपत्र वितरण गरेको थियो।