मेसीलाई फकाउँदै म्याराडोनादेखि राष्ट्रपतिसम्म

मेसीलाई फकाउँदै म्याराडोनादेखि राष्ट्रपतिसम्म

ब्युनस एयर्स: आफ्नो टोली कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पराजित भएलगत्तै राष्ट्रिय टोलीबाट सन्न्यास लिएका अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी मंगलबार बिहान स्वदेश फर्किएका छन्।

टोलीका अन्य सदस्यसँगै अमेरिकाबाट स्वदेश फर्किएका मेसी अन्तर्राष्ट्रिय फुटबलबाट आफ्नो सन्न्यासको विषयलाई लिएर बोल्नुपर्ने डरले सञ्चारकर्मीसँग भने तर्कंदै आएका छन्।मेसीले अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको विषयले यतिबेला विश्व फुटबललाई मजैले तताएको छ।

मेसीले सन्न्यास लिएको समाचार सार्वजनिक भएपछि उनलाई स्वागत गर्न दर्जनौं भावुक समर्थक सेतो र आकाशे नीलो रङको जर्सीमा सजिएर ब्युनस एयर्स स्थित विमानस्थल पुगेका थिए। अधिकांश समर्थकले मेसीले लगाउने १० नम्बरको जर्सी लगाएका थिए।

झरीमा रुझ्दै लामो समयसम्म मेसीसहितको टोलीको प्रतीक्षामा बिताएका अधिकांश समर्थकको उद्देश्य एउटै थियो, मेसीलाई सन्न्यास फिर्ता लिन अनुरोध गर्नु। थुप्रै समर्थक विमानस्थलबाट खेलाडी बोकेको बसलाई पछ्याउँदै अर्जेन्टिनी फुटबल महासंघको कार्यालयसम्मै पुगेका थिए।

फुटबल महासंघको परिसरमा लामो समय बिताएका समर्थकले 'मेसीले सन्न्यास लिएका छैनन्', 'मेसी फेरि टोलीमा फर्कन्छन्' जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए। तिनै समर्थकले बोकेका प्लेकार्डमध्ये एउटामा लेखिएको थियो, 'मेसी, म तिमीलाई आफ्नी आमाभन्दा पनि बढी माया गर्छु।'

तर, विमानस्थलदेखि फुटबल महासंघको कार्यालय पुग्दासम्म मेसी भने कतै देखिएनन्। फुटबल महासंघका प्रवक्ता अर्नेस्टो चेरक्युस बियालोले मेसी पनि टोलीका अन्य सदस्यसँगे अमेरिकाबाट स्वदेश फर्किएको जनाए पनि टोलीको बसमा नहुनुको कारण भने खुलाएनन्। धेरै समर्थकले मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णयलाई अझै पनि विश्वास गर्न सकिरहेका छैनन्।

 

त्यसैले असंख्य समर्थक, अर्जेन्टिनाका राष्ट्रपति र महान् अर्जेन्टिनी फुटबल खेलाडी डिएगो म्याराडोनाले समेत मेसीलाई सन्न्यास लिने निर्णयको विषयमा पुनर्विचार गर्न सुझाव दिएका छन्। म्याराडोनाले त मेसीलाई भेटेर सन्न्यास फिर्ता लिने विषयमा कुरा गर्ने बताएका छन्।

सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनलमा आफ्नो टोली पेनाल्टी सुटआउटमा चिलीसँग ४—२ गोलले पराजित भएपछि अप्रत्याशित रूपमा मेसीले सन्न्यास लिएको घोषणा गरेका थिए।

तीन वर्षको अवधिमा आफ्नो टोली तीनवटा ठूला प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएपछि २९ वर्षीय अर्जेन्टिनी कप्तान मेसी निकै निराश बनेका थिए। सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीले अर्जेन्टिनालाई हराएको थियो। त्यसपछि अघिल्लो वर्ष भएको कोपा अमेरिकाको फाइनलमा पनि चिलीले नै अर्जेन्टिनालाई पाखा लगाएको थियो।

त्यसअघि सन् २००७ मा भएको कोपा अमेरिकाको फाइनलमा पनि मेसीको टोली ब्राजिलसँग पराजित भएको थियो।सोमबार भएको पेनाल्टी सुटआउटमा मेसीले पेनाल्टी प्रहारको अवसरसमेत खेर फालेका थिए, जुन टोलीको पराजयको एउटा कारण बनेको थियो।

त्यसैले पनि मेसी बढी निराश देखिएका थिए। टोली पराजित भएपछि उनी रंगशालामै भक्कानिएका थिए। क्लब फुटबलका अत्यधिक सफल देखिएका मेसीले राष्ट्रिय टोलीलाई भने हालसम्म कुनै पनि ठूलो प्रतियोगिताको उपाधि चुमाउन सकेका छैनन्।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेसीले आफ्नो क्लबलाई भने थुप्रै महत्वपूर्ण उपाधि दिलाएका छन्। उनको नाममा थुप्रै कीर्तिमानसमेत रहेका छन्। राष्ट्रिय टोलीबाट समेत उनी सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

उनले राष्ट्रिय टोलीका लागि एक सय १३ खेल खेलेर ५५ गोल गरेका छन्। सन् २००१ मा केवल १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेसीले क्लब फुटबलमा आफ्नो स्थान बनाउन गर्नु परेको संघर्षको कथा पनि रोचक छ।

मेसीका समर्थकमात्र होइन, आलोचकको संख्या पनि ठूलै छ। डिएगो म्याराडोनाले समेत मेसीले राष्ट्रिय टोलीलाई ठूलो सफलता दिलाउन नसकेको भन्दै उनको आलोचना हुने गरेको छ। म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए।

अर्जेन्टिनी टोलीका गोलरक्षक सर्जिया रोमेरोले भने पटकपटक उपाधिबाट विमुख हुनु परेपछि आवेशमा आएर मेसीले सन्न्यास घोषणा गरेको धारणा व्यक्त गरेका छन्। 'मेसीले आवेशमा आएर सन्न्यासको घोषणा गरेका हुन्, आफ्नो निर्णयमा उनले पक्कै पुनर्विचार गर्नेछन्', रोमेरो भन्छन्।

यसैगरी अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माकरीले पनि आफूले अझै लामो समयसम्म मेसीलाई राष्ट्रिय टोलीमा देख्न चाहेको प्रतिक्रिया सार्वजनिक गरेका छन्। 'मैले अहिले राष्ट्रिय टोलीप्रति सबैभन्दा बढी गौरव अनुभव गरेको छु र विश्वका सर्वोत्कृष्ट फुटबलरलाई अझै लामो समयसम्म राष्ट्रिय टोलीमा देख्न चाहन्छु', राष्ट्रपतिले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन्।

मेसीका समर्थकले उनलाई सन्न्यासको निर्णय फिर्ता लिन दबाब दिने उद्देश्यले ट्विटरमा 'डन्ट लिभ लियो' ह्यासट्याग नै सुरु गरेका छन्।कोपा अमेरिका सुरु हुनुअघि म्याराडोनाले मेसीको आलोचना गरेका थिए। 'मेसी महान् व्यक्ति हुन् तर, उनको प्रभावशाली व्यक्तित्व छैन।

उनीसँग नेतृत्व समाल्न सक्ने क्षमता पनि छैन', म्याराडोनाले भनेका थिए। तर, अप्रत्याशित रूपमा मेसीले सन्न्यास लिएपछि म्याराडोनाले पनि आफ्नो धारणा फेरेका छन्। उनी अहिले मेसीले सन्न्यासको निर्णय फिर्ता लिनुपर्ने पक्षमा उभिएका छन्।

'मेसीले सन्न्यासको निर्णय फिर्ता लिनुपर्छ र राष्ट्रलाई थुप्रै सफलता चुमाउनुपर्छ', म्याराडोनाले भनेका छन्। मेसीले रुसमा आयोजना हुने आगामी विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउनुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.