इङ्ल्यान्डलाई स्तब्ध पार्दै आइसल्यान्ड क्वार्टरमा

 इङ्ल्यान्डलाई स्तब्ध पार्दै आइसल्यान्ड क्वार्टरमा

पेरिस: गत साता भएको जनमतसंग्रहमार्फत युरोपियन युनियनबाट बाहिरिने अप्रत्याशित नतिजा आएजस्तै जारी युरोकप फुटबलमा पनि इङ्ल्यान्डले अविश्वासिलो नतिजाको सामना गर्दै उपाधि होडबाट बाहिरिनुपरेको छ।

प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको प्रिक्वार्टरफाइनल खेलमा पहिलोपटक युरोकप खेलिरहेको तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी आइसल्यान्डले अनुभवी टोली इङ्ल्यान्डलाई २—१ गोलले हरायो।विश्वभरका लाखौं फुटबलप्रेमीका लागि अविश्वासिलो उक्त नतिजापछि आइसल्यान्ड पहिलो सहभागितामै युरोकपको क्वार्टरफाइनलमा पुग्न सफल भयो भने अनुभवी इङ्ल्यान्ड प्रिक्वार्टरफाइनलबाटै घर फर्कन बाध्य बन्यो।

जारी युरोकपमा प्रत्येक सफलतापछि थप आत्मविश्वासी बन्दै गएको आइसल्यान्डले अब असार २० गते बिहान हुने क्वार्टरफाइनलमा आयोजक राष्ट्र फ्रान्सको सामना गर्नुपर्नेछ।ठूला प्रतियोगिताहरुमा इङ्ल्यान्डले भोग्नुपरेको अत्यन्तै निराशाजनक नतिजामध्ये यो पनि एक हो।

जारी विश्वकपमा सहभागी २४ राष्ट्रमध्ये आइसल्यान्ड सबैभन्दा कम जनसंख्या भएको राष्ट्र हो। केवल तीन लाख ३० हजार जनसंख्या भएको आइसल्यान्डले निकालेको यो नतिजा पनि युरोकपको इतिहासकै सबैभन्दा अप्रत्याशित नतिजामध्ये एक हो।

'हाम्रा लागि यो यस्तो उपलब्धि हो, जसको हामी जीवनभर चर्चा गरेर थाक्ने छैनौं', खेलपछि आइसल्यान्डका सहायक प्रशिक्षक हेमिर हलग्रिम्सनले भने। विश्व फुटबल वृत्तमा आफ्नो राष्ट्रले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धिको साक्षी बन्न रंगशालामा उपस्थित हजारौं समर्थक र खेलाडीले आपसमा मिलेर जितको खुसीयाली मनाउँदाको दृश्य वास्तवमै लोभलाग्दो थियो।

 

ठूला प्रतियोगिताहरूमा सधंै अभागी टोलीको संज्ञा पाउँदै आएको इङ्ल्यान्डको लाखौं समर्थकका लागि भने यो अर्को दुःखद नतिजा बन्न पुग्यो। 'टोलीमा विश्वकै चर्चित खेलाडीहरूको जमघट छ, अनि देशभित्र वर्षैभरि फुटबलको माहोल पनि।

त्यैपनि ठूला प्रतियोगितामा टोलीको सधैं यस्तै हविगत हुदै आइरहेको छ। अब इङ्ल्यान्डको फुटबलका लागि योभन्दा हीनताबोध गर्नुपर्ने दिन सायदै आउला', आफ्नो टोलीले लज्जास्पद पराजय भोगेपछि निराश देखिएका एक समर्थक भन्छन्।

जसरी गत साता भएको जनमतसंग्रहले बेलायतलाई युरोपियन युनियनबाट अलग राख्ने पक्षमा मतदान गरेलगत्तै ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा दिए, ठीक त्यसैगरी जारी युरोकपमा आइसल्यान्डसँग हारेलगत्तै इङ्ल्यान्डका प्रमुख प्रशिक्षक रोय हड्सले पनि पदत्यागको निर्णय लिए।

उनले आफ्ना खेलाडीको प्रदर्शनको प्रशंसा त गरे तर, इङ्ल्यान्डको फुटबलमा व्यापक परिवर्तनको खाँचो देखिएको तर्क अघि सार्न भने उनी चुकेनन्।
इङ्ल्यान्डले हालसम्म युरोकपको उपाधि जित्न सकेको छैन।

सन् १९६८ र सन् १९९६ को युरोकपमा इङ्ल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो। विश्व फुटबलमा 'थ्री लायन्स' उपनाम पाएको इङ्ल्यान्डका कुनै पनि खेलाडीको प्रदर्शन आइसल्यान्डविरुद्घको खेलमा प्रभावकारी देखिएन। खेलमा अग्रता भने इङ्ल्यान्डले नै लिएको थियो, आफ्ना स्टार खेलाडी वेन रोनीको गोलमार्फत।

कप्तान रोनीले पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गर्दै चौथो मिनेटमै टोलीका लागि पहिलो गोल गरेका थिए। आइसल्यान्डका हानेस थोर हलडोर्सनले डिबक्सभित्र रहिम स्टर्लिङलाई फल गरेपछि इङ्ल्यान्डले पेनाल्टी प्रहारको अवसर पाएको थियो। रोनीले सोही अवसरलाई सदुपयोग गरेका हुन्। तर इङल्यान्डको त्यो अग्रता दुई मिनेटभन्दा लामो समयसम्म टिक्न सकेन।

निर्धारित समयको छैटौं मिनेटमै आइसल्यान्डका लागि राग्नर सिगुर्डसनले जवाफी गोल गर्दै खेललाई १—१ को बराबरीमा पुर्‍याएका थिए। गोलका लागि सिगुर्डसनलाई कारी अर्नासनले पास उपलब्ध गराएका थिए। त्यसपछि १९ औं मिनेटमा कोल्बेइन सिगथोर्सनले आकर्षक गोल गर्दै आइसल्यान्डलाई २-१ गोलको अग्रता दिलाएका थिए।

उक्त गोलका लागि सिगथोर्सनलाई जोन डाडी बोडभर्सनले पास उपलब्ध गराएका थिए। अन्ततः सोही गोल नै आइसल्यान्डको ऐतिहासिक जितमा निर्णायक गोल बन्न पुग्यो।दुई वर्षअघि भएको विश्वकपमा पनि इङ्ल्यान्ड समूहगत चरणबाटै घर फर्किएको थियो। तर उक्त नतिजालाई इङ्ल्यान्डका समर्थकले अप्रत्याशित रूपमा भने लिएका थिएनन्।

त्यतिबेला समूह 'डी' मा इङ्ल्यान्डसँगै बलिया टोलीहरू कोस्टारिका, उरुग्वे र इटाली पनि थिए। उरुग्वे र इटाली पूर्वविश्वकप विजेता थिए भने कोस्टारिका पनि विश्व फुटबलको शक्तिशाली टोली हो। त्यतिबेला 'ग्रुप अफ डेथ' का रुपमा हेरिएको उक्त समूहबाट कोस्टारिका र उरुग्वे अघिल्लो चरणमा पुगेका थिए भने इटाली र इङ्ल्यान्ड पहिलो चरणबाटै घर फर्किएका थिए।

इङ्ल्यान्डले सन् २००६ यता कुनै पनि ठूला प्रतियोगिताको नकआउट चरणमा सफलता हात पार्न सकेको छैन। यसैगरी आफ्नो राष्ट्रभन्दा बाहिर भएका युरोपियन च्याम्पियनसिपमा पनि इङ्ल्यान्डले नकआउट चरणको खेल जित्न सकेको छैन।

आइसल्यान्डसँगको इङ्ल्यान्डको हारलाई सन् १९५० को विश्वकपमा अमेरिकासँग भोगेको हारयताको खराब नतिजाका रूपमा हेरिएको छ। सन् १९५० को विश्वकपमा अमेरिकासँग १—० गोलले हारेपछि इङ्लिस टोलीको निकै आलोचना भएको थियो।

'हाम्रा लागि यो निराशाजनक क्षण हो', खेलपछि इङ्ल्यान्डका कप्तान रोनीले भने, 'हामीलाई आफ्नो क्षमताको बारेमा राम्ररी थाहा छ तर, यो अप्रत्याशित क्षणको बारेमा बताउने मसँग कुनै शब्द छैन।' आइसल्यान्डका कप्तान एरोन गनर्सन भने इङ्ल्यान्डविरुद्घको जित र पहिलो सहभागितामै युरोकपको क्वार्टरफाइनल यात्रा आफ्नो राष्ट्रका लागि ठूलो उपलब्धि भएको प्रतिक्रिया दिए।

दोस्रो दर्जाको इङ्लिस क्लब कार्डिफबाट व्यावसायिक फुटबल खेल्ने गनर्सनले खेल सकिएको जनाउ दिन लामो सिठी बज्नासाथ खुसीयाली मनाउन आफ्नो जर्सी च्यातेर दर्शकतिर फालेका थिए। त्यसपछि आफू पनि दर्शकनजिक पुगेर सँगसँगै नाच्न भएका थिए। उक्त जितपछि आइसल्यान्डमा समेत समर्थकहरूले खुसीयाली मनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.