प्रधानमन्त्रीले बोल्दै गर्दा कांग्रेसको अवरोध
काठमाडौंः ६ दिनपछि खुलेको संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दै गर्दा कांग्रेसका सांसद्हरुले अवरोध गरेका छन् ।
भूकम्पपीडितहरुलाई दिइने राहत र घर पुनर्निर्माणबारेमा प्रधानमन्त्री ओली सरकारको धारणा राख्दै कांग्रेसका सांसद्हरु आफ्नो स्थानबाट उठेर होहल्ला गर्दै अवरोध गरेका हुन् ।
प्रमले बोल्दै गर्दा कांग्रेस सांसद् प्रकाशशरण महत उठेर बोल्न खोजेपछि सभामुख ओनसरी घर्तीले नियमापत्ति भए प्रक्रियामा आएर बोल्न आग्रह गर्दै रोकेकी थिइन् ।
आफ्नो स्थानबाट उठेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासहितका सांसदहरुलाई सभामुखले बस्न भनेपछि पुनः प्रम ओलीले सम्बोधन गरिरहेका छन् ।
‘सरकार भूकम्पपीडितलाई एकैमुष्ट रकम पनि दिन तयार छ । तर सरकारले दिएको राहत दुरुपयोग हुनु भएन’, ओलीले भने, ‘कांग्रेसले भएन भनेको मैले बुझिन, कांग्रेसको माग पुरा गर्न दातृनिकायसँग परामर्श गर्न तयार छ । तर यसरी खोँचे थाप्न भएन ।’