हारपछि राजीनामा दिँदै प्रशिक्षकहरु

हारपछि राजीनामा दिँदै प्रशिक्षकहरु

पेरिस: जारी युरोकपमा सफलता हात पार्न नसकेपछि विभिन्न राष्ट्रका प्रशिक्षकले राजीनामा दिने क्रम बढेको छ। प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार बिहान आफ्नो टोली आइसल्यान्डसँग पराजित भएपछि इङ्ल्यान्डका प्रशिक्षक रोय हड्सनले पदबाट राजीनामा दिएका छन्। रोमानिया र रुसका प्रशिक्षकले पनि राजीनामा दिइसकेका छन्।

अघिल्ला दुई संस्करणको विजेता स्पेन प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि टोलीका प्रशिक्षक भिसेन्ट डेल बोस्कमाथि पनि पद छाड्नुपर्ने दबाब बढेको छ। युरोकप सकिएलगत्तै हड्सनको चारवर्षे कार्यकाल सकिने तय थियो।

तर टोलीको अनपेक्षित नतिजापछि दबाबमा परेका हड्सनले तत्कालै लागू हुने गरी पद छाडेको घोषणा गरे। 'म अझै थप दुई वर्ष इङ्ल्यान्डको प्रशिक्षक बन्न चाहन्थेँ तर हाम्रो जागिर नै नतिजामा निर्भर हुने भएकाले मैले पद छाडेको हुँ', हड्सनले भनेका छन्।

विश्वकै सबैभन्दा चर्चित घरेलु लिग भएको इङ्ल्यान्डले अन्तर्राष्ट्रिय फुटबलमा टोलीको उपाधि खडेरी चिर्ने लक्ष्यसहित हड्सनलाई भित्र्याएको थियो। इङ्ल्यान्डले हालसम्म युरोकपको उपाधि जित्न सकेको छैन। विश्वकपमा उसले अन्तिम पटक सन् १९६६ मा उपाधि जितेको थियो। हड्सनले भनेका छन, 'यो युवा, प्रतिभावान् र भोकले भरिएको टोलीलाई अब अरू कसैले सम्हाल्नुपर्छ।'

घरेलु लिगमा कुनै व्यावसायिक क्लब नभएको आइसल्यान्डले इङ्ल्यान्डलाई पराजित गरी विश्व फुटबललाई नै आश्चर्यमा पारेको छ। करिब तीन लाख ५० हजार जनसंख्या भएको आइसल्यान्ड युरोकप खेल्ने सबैभन्दा कम जनसंख्या भएको राष्ट्र हो।

यतिमात्र होइन, आइसल्यान्ड युरोकपमा सहभागी भएको पनि यो पहिलो पटक हो। 'हामी आफ्नै कारणले हार्‍यौं र प्रशिक्षकलाई झुकायौं', इङ्ल्यान्डका कप्तान वेन रोनीले समर्थकसँग माफी माग्दै भनेका छन्।

इङ्ल्यान्ड यसअघि सन् २०१४ को विश्वकपमा समूहगत चरणबाटै बाहिरिए पनि हड्सन पदमा कायमै रहेका थिए। त्यतिबेला इङ्ल्यान्डले एउटा पनि जित हात पार्न सकेको थिएन। यसपटक युरोकप छनोटमा इङ्ल्यान्डले खेलेका सबै १० खेल जितेकाले उक्त टोलीलाई बलियो उपाधि दाबेदार मानिएको थियो।

 

इङ्ल्यान्डले आगामी युरोकपका अन्तिम तीन खेल अर्थात् सेमिफाइनल र फाइनल आयोजना गर्दैछ। इङ्ल्यान्डले विश्वकप पनि घरेलु मैदानमै जितेको थियो।
रोमानियाका प्रशिक्षक आन्घेल लोर्दानेस्कुले पनि पदबाट राजीनामा दिएका छन्।

आफ्नो टोली समूहगत चरणबाटै बाहिरिएपछि लोर्दानेस्कुले पद छाडेका हुन्। रोमानियन फुटबल संघले यसको पुिष्ट गरेको छ। यसअघि दुई कार्यकाल रोमानियालाई सम्हालेका लोर्दानेस्कुले सन् २०१४ मा तेस्रो पटक उक्त जिम्मेवारीमा फर्किएका थिए। आठ वर्ष प्रशिक्षण जीवनभन्दा बाहिर रहेपछि उनी पुनः रोमानियन टोलीको प्रशिक्षणमा फर्किएका थिए।

सन् १९९४ को विश्वकपमा रोमानिया क्वार्टरफाइनलसम्म पुग्दा तत्कालीन स्ट्राइकर लोर्दानेस्कुको भूमिका महत्वपूर्ण रहेको थियो। यसपटक समूहगत चरणमा रोमानियाले दुई हार र एक बराबरीको नतिजा निकालेको थियो।

यसैगरी आफ्नो टोली समूहगत चरणबाटै बाहिरिएपछि रुसका प्रशिक्षक लियोनिद स्लुत्स्कीले पनि जिम्मेवारी त्यागेका छन्। टोलीको खराब प्रदर्शनस“गै स्लुत्स्कीले पदबाट राजीनामा दिएको बताइएको छ। यद्यपि रुसी फुटबल महासंघ (आरएफएस) ले भने उनको राजीनामाका विषयमा अझै कुनै निर्णय गरिसकेको छैन।

प्रशिक्षक स्लुत्स्कीले युरोकपका लागि बिनापारि श्रमिक रुसी टोलीको जिम्मेवारी सम्हालेका थिए। उनी जारी युरोकपमा तलब नलिई काम गर्ने एक्ला प्रशिक्षक हुन्। रुसी फुटबल महासंघ आर्थिक रूपमा कमजोर बनेका कारण उनले स्वयंसेवी प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

रुसले युरोकपको आफ्नो पहिलो खेलमा इङ्ल्यान्डसँग १-१ गोलको बराबरी खेले पनि अन्य खेलमा स्लोभाकियासँग २-१ र वेल्ससँग ३-० गोलको हार भोगेको थियो।रुस प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो। उनले गत अगस्टबाट रुसी राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका हुन्।

महासंघले इङ्ल्यान्डका पूर्वप्रशिक्षक फाबियो कापेल्लोलाई बर्खास्त गर्दै उक्त जिम्मेवारी स्लुत्स्कीलाई दिएको थियो। कापेल्लोलाई ठूलो पारि श्रमिकमा प्रशिक्षक नियुक्त गरेको महासंघ सोही कारण आर्थिक संकटमा परेको बताइएको छ।

'अध्यक्षसँग कुरा गर्छु'
स्पेनिस टोलीका प्रशिक्षक भिसेन्ट डेल बोस्कले राष्ट्रिय फुटबल संघका अध्यक्षसँग कुरा गरेपछि मात्र राजीनामा दिने वा नदिने बारे निर्णय लिने बताएका छन्। युरोकपको प्रिक्वार्टरफाइनलमा सोमबार राति स्पेनिस टोली इटालीसँग पराजित भएपछि प्रशिक्षक डेल बोस्कको पद धरापमा छ। उनी विगत आठ वर्षदेखि स्पेनिस टोलीको प्रशिक्षक रहेका छन्।

'म सन्न्यास लिनेबारे अहिले केही भन्न सक्तिनँ। अब पहिलो स्पेनिस फुटबल संघका अध्यक्षसँग कुरा गर्छु। हामीले स्पेनिस फुटबल जे गर्दा राम्रो हुन्छ, त्यही निर्णय गर्नुपर्छ', ६५ वर्षीय डेल बोस्कले भने। रियल म्याड्रिडमा करिब दुई दशक खेलाडी जीवन बिताएका डेल बोस्कले प्रशिक्षकका रूपमा स्पेनलाई दुई पटक युरोकप र एक पटक विश्वकपको उपाधि जिताए।

सन् २०१४ को विश्वकपमा टोली समूहगत चरणबाटै बाहिरिएपछि विश्व फुटबलमा स्पेनको प्रभाव खस्कँदै गएको छ। स्पेनको खेल्ने शैली टिकीटाकाको आलोचना पनि बढ्दो छ। तर डेल बोस्कले भने स्पेनले विश्व फुटबलमा पुनः राज गर्ने दाबी गरेका छन्। 'मलाई लाग्दैन, हाम्रो युग सकिएको छ।

स्पेनिस फुटबलको राम्रो संरचना छ। हामीसँग अझै लामो समय प्रभाव राख्न सक्ने खेल शैली पनि छ, जसबाट हामीले आगामी दिनमा पनि थुप्रै सफलता हात पार्न सक्छौं', उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.