आमाका साथ आत्मभाव
काठमाडौं (अन्नपूर्ण): गीतकार डीआर (दिनेशकुमार राई)का अहिलेसम्म चारवटा एकल गीति एल्बम र दुईवटा पुस्तक श्रोता एवं पाठकमाझ आइसकेको छ।
तर, यसअघि उनले कुनै पनि कृतिको औपचारिक विमोचन गराएका थिएनन्। आफ्नो तेस्रो कृति गीतिसंग्रह ‘आत्माभाव’ भने ८६ वर्षीया आमा कमलकुमारी राईलाई साक्षी राखेर मंगलबार राजधानीमा विमोचन गराएका छन्।
कृति नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले विमोचन गरेका हुन् । विमोचित कृतिमा एक सय ११ वटा गीत समेटिएका छन्।
कार्यक्रममा बोल्दै उपकुलपति बास्कोटाले फोटोग्राफीमा प्रसिद्धि कमाएका डीआरका गीतहरू फोटोग्राफीजस्तै सुन्दर र मीठो भएको बताए। डीआरको गीतमा आफूले समेत संगीत भरेको स्मरण गर्दै उनले भने, ‘सरल भावका गीतमा केही अलग शैलीमा संगीत भर्ने हो भने डीआरका गीतले प्रसिद्धि कमाउँछ।'
सो अवसरमा प्राज्ञ उन्नति बोहरा ‘शिला’ले डीआरका गीतमा जीवनका विविध पाटा समेटिएकाले सबैलाई आत्मबोध गराउने दाबी गरिन्।प्रकाशक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (नेपाल च्याप्टर)का अध्यक्ष राधेश्याम लेकालीले डीआरका गीतहरू उत्कृष्ट र प्रभावशाली भएकाले पुस्तकका रूपमा आफूहरूले प्रकाशन गरेर पाठकमाझ ल्याएको जानकारी गराए।
संगीतकार सन्तोष श्रेष्ठले विमोचित कृतिमा संयोगान्त, वियोगान्त, रोमाञ्चकारी, राष्ट्रभाव, प्रेमभावजस्ता विविध शैलीका गीत संगृहीत रहेको बताए। विमोचन समारोहमा रेकर्डिङ भइसकेका डीआरका आधा दर्जन गीतलाई विभिन्न कलाकारले गाएका थिए।