क्वार्टरफाइनल टोलीका आआफ्न विशेषता

क्वार्टरफाइनल टोलीका आआफ्न विशेषता

एजेन्सीः जारी युरोकप फुटबलको क्वार्टरफाइनल खेलहरू शुक्रबार बिहानदेखि सुरु हुँदैछन् । पोल्यान्ड, आइसल्यान्ड र वेल्स पहिलोपटक युरोकपको क्वार्टरफाइनलमा पुगेका हुन् ।

आइसल्यान्ड र वेल्सको त युरोकपमै यो पहिलो सहभागिता हो । अन्य पाँच टोलीले भने विगतमा पनि क्वार्टरफाइनलको अनुभव लिइसकेका छन् । यी टोलीले विगतमा क्वार्टरफाइनलमा रोकिएको र अगाडि बढेको तथ्य यतिबेला सान्दर्भिक हुन्छ ।

फ्रान्सले युरोकपमा सन् २००० को संस्करणपछि क्वार्टरफाइनल पार गर्न सकेको छैन । १६ वर्षअघि युरोकपको विजेता बनेको फ्रान्स त्यसपछिका संस्करणमा तीन पटक क्वार्टरफाइनल र एकपटक समूहगत चरणबाटै बाहिरियो । फ्रान्स सन् १९८४ मा पनि विजेता बनेको थियो । त्यसबाहेक युरोकपमा फ्रान्सले एकपटक मात्र सेमिफाइनलको यात्रा तय गरेको छ ।

फ्रान्स यसपटक युरोकपको आयोजक भएकाले पनि बढी दबाबमा छ । सन् २०१२ को युरोकपको क्वार्टरफाइनलमा फ्रान्सलाई स्पेनले २-० गोलले हराएको थियो ।

सन् २००४ मा पनि क्वार्टरफाइनल पुगेको फ्रान्सेली टोली ग्रिससँग १-० गोलको अनपेक्षित हार व्यहोरेपछि उपाधि होडबाट बाहिरिएको थियो । यी दुवै संस्करणमा फ्रान्सलाई हराउने टोली नै पछि गएर प्रतियोगिताको विजेता बनेका थिए ।

इटालीले यसअघि युरोकपमा आठ पटक प्रतिस्पर्धा गरेकामा एक पटक विजेता र दुई पटक उपविजेता बनेको छ । दुई पटक सेमिफाइनलमा पुगेको इटाली एकपटक क्वार्टरफाइनल र दुईपटक समूहगत चरणबाट बाहिरियो ।

पूर्व विश्वविजेतासमेत रहेको इटाली सन् २००८ को युरोकपमा क्वार्टरफाइनलमा स्पेनसँग टाइब्रेकरमा पराजित भएको थियो । अन्ततः उक्त संस्करणमा स्पेन नै विजेता बनेको थियो ।

विश्वविजेता बनेको दुई वर्षपछि इटाली युरोकपको क्वार्टरफाइनलबाटै बाहिरिनुलाई आश्चर्यजनक रूपमा हेरिएको थियो ।

सन् १९९६ यता लगातार युरोकप खेलिरहेको इटाली यसक्रममा दुई पटक उपविजेता बन्यो भने दुई पटक समूहगत चरणबाटै बाहिरिएको थियो । युरोपियन फुटबलमा स्पेन र जर्मनीको वर्चस्व ठूलो छ । यी दुवै टोलीले यो प्रतियोगिता सर्वाधिक तीनतीन पटक जितेका छन् ।

तर विश्वकपमा चारपटक विजेता बनेको जर्मनीको इतिहास विशेष छ । यसअघि ११ पटक युरोकप खेलेको जर्मनी यसक्रममा तीनपटक विजेता बन्यो भने तीनपटक उपविजेता बन्यो ।

दुईपटक सेमिफाइनलमा सीमित भएको जर्मन टोली तीनपटक समूहगत चरणबाटै बाहिरिएको छ भने हालसम्म क्वार्टरफाइनलमा निराश हुनु परेको छैन । सन् २००० र सन् २००४ को संस्करणमा समूहगत चरणबाट बाहिरिएको जर्मनी सन् २००८ मा उपविजेता बन्यो भने सन् २०१२ मा सेमिफाइनलमा रोकिएको थियो।

जर्मनी अहिले विश्वविजेता बनेकाले उमाथि सबैको आँखा छ । बेल्जियम यसपटक सशक्त देखिएको छ । १६ वर्षपछि युरोकप खेलिरहेको बेल्जियम यसअघि चार पटक यो प्रतियोगितामा सहभागी हुने क्रममा एकपटक उपविजेता बन्यो भने एकपटक सेमिफाइनलमा रोकियो ।

दुईपटक भने समूहगत चरणबाटै बाहिरिएको थियो । सन् १९७२ मा सेमिफाइनलमा पुगेको बेल्जियम आठ वर्षपछि फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेन। त्यसपछि सहभागी भएका सन् १९८४ र सन् २००० को संस्करणमा बेल्जियम पहिलो चरणबाटै घर फर्किएको थियो ।

युरोकपमा पोर्चुगलको इतिहास पनि रोचक छ । पोर्चुगलले यसअघि ६ पटक यो प्रतियोगिता खेलेकामा एक पटक फाइनल, तीन पटक सेमिफाइनल र दुई पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

पोर्चुगल सन् २००८ को संस्करणको क्वार्टरफाइनलमा जर्मनीसँग ३-२ ले र सन् १९९६ को संस्करणको क्वार्टरफाइनलमा चेक गणतन्त्रसँग १-० गोलले पराजित भएको थियो । पोर्चुगलले सन् १९९६ देखिका हरेक युरोकप संस्करणमा कम्तीमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.