बैतडीमा एक सय ७० एचआइभी सङ्क्रमित
बैतडीः बैतडीमा एक सय ७० एचआइभी सङ्क्रमित रहेको पाइएको छ ।
पछिल्लो सर्वेक्षणबाट जिल्लाभरिमा एक सय ७० जनामा एचआइभीको सङ्क्रमण पत्ता लागेको हो । यसमा ८४ पुरुष र ८६ जना महिला रहेका छन् ।
तीमध्ये १८ जना बालबालिका रहेका एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था बहुउद्देश्यीय विकास समाज कार्यक्रमका संयोजक लोकेन्द्र पन्तले जानकारी दिए ।
‘एचआइभी सङ्क्रमितमध्ये एक सय १६ जनाले मात्र एआरटी औषधि लिइरहेका छन्,' उनले भने, ‘५४ जना नयाँ सङ्क्रमित पत्ता लागेका छन् ।' नयाँ पत्ता लागेकाले एआरटी औषधि सुरु नगरेको बताइएको छ ।
एआरटी औषधि ११६ मध्ये ८४ जनाले मात्रै नियमित रुपमा सेवन गरिरहेका छन् ।
औषधि सुरु गरेकामध्ये १७ जनाको मृत्यु भइसकेको र दुई जना हराइरहेका बहुउद्देश्यीय विकास समाजले जनाएको छ ।
यस्तै, नौ जनालाई बैतडीबाट अन्यत्र स्थानान्तरण गरिएको बताइएको छ । पाँच जना सङ्क्रमितलाई भने औषधि रोकिएको कार्यक्रम संयोजक पन्तले बताए । उनले भने, ‘औषधिको असर देखा पर्न थालेपछि उनीहरुलाई औषधि रोकिएको हो ।'
एचआइभी सङ्क्रमितमा अहिले विभिन्नखालका समस्या रहेका स्वयम् सङ्क्रमितले बताएका छन् ।
एआरटी औषधिसँगै पोषिलो खानेकुराको आवश्यकता पर्ने भएको भए पनि सङ्क्रमितले पोषिलो खानेकुरा नपाएको बताएका छन् ।
सङ्क्रमितको आर्थिक अवस्था ज्यादै नाजुक भएकाले जीविकोपार्जन गर्न धौधौ भएको बैतडी प्लसका अध्यक्ष पद्मसिंह मौनीले बताए ।
राज्यका निकायहरु मौन हुँदा आफूहरु समस्यामा परेको भन्दै उनले भने, ‘सङ्क्रमितमध्ये धेरैजसो महिला एकल भएकाले झन् समस्या रहेको छ ।”
यस्तै सङ्क्रमित बालबालिकालाई पनि यस्तै समस्या रहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पुर्याउन एमपिडिएस र सेवक मित्र नामका गैरसरकारी संस्थाले सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त भने हुन सकेको छैन ।
अठार निर्दोष बालबालिका पनि सङ्क्रमित
बैतडीमा १८ जना निर्दोष बालबालिका एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमित आमाबुबाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेलिरहनुपरेका छन् ।
सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् ।
एचआइभी सङ्क्रमित बालबालिकालाई बैतडीमा बहुउद्देश्यीय ग्रामीण विकास समाजले प्रतिमहिना एक हजारका दरले सामाजिक सुरक्षा अनुदान दिइरहेको छ।
बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सजिलो होस् भन्ने हेतुले सामाजिक सुरक्षा अनुदान दिइरहेको बहुउद्देश्यीय ग्रामीण विकास समाजका कार्यक्रम संयोजक पन्तले बताए ।
जिल्लामा १८ जना एचआइभी सङ्क्रमित बालबालिका रहेकामा १४ जनालाई सामाजिक सुरक्षा अनुदान उपलब्ध गराइएको छ । उनले भने, ‘दुई जनाको परिवारले अनुदान लिन मानेको छैन ।'
एचआइभी सङ्क्रमित बालबालिकाको उपचारका लागि पनि संस्थाले सहयोग गरिरहेको समेत उनले बताए । अहिले पनि एचआइभी सङ्क्रमित बालबालिकालाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेकाले समस्या भएको छ ।
सङ्क्रमितमाथिको भेदभाव कायमै
एचआइभी सङ्क्रमितलाई समाजमा अझै पनि भेदभावको दृष्टिकोणले हेर्ने गरिएको छ ।
एचआइभी सङ्क्रमितका समस्या र अपनाउन सकिने उपायका बारेमा राज्यका निकाय मौन बसेकाले भेदभाव कायमै रहेको छ ।
‘जिल्लाभरि रहेका सङ्क्रमितहरु विभिन्न समस्या खेपिरहेका छन् । कतिपय ठाउँमा अझै पनि एचआइभीका बारेमा आवश्यक ज्ञान नभएकाले सङ्क्रमितहरु खुलेर बाहिर आउन सकेका छैनन् । रासस