राष्ट्रिय एफपीजीए डिजाइन प्रतियोगिता हुने
काठमाडौं: राष्ट्रिय एफपीजीए डिजाइन प्रतियोगिता बिहीबारदेखि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुने भएको छ।
पुल्चोक इन्जिनियरिङ क्याम्पस, हिमालया कलेज अफ इन्जिनियरिङ, काठ्फोर्ड इटरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, सगरमाथा इन्जिनियरिङ कलेज, कान्तिपुर इन्जिनियरिङ कलेज र डिजिट्रोनिक्स नेपालको सहआयोजनामा हुने यो प्रतियोगिता असार १९ गतेसम्म चल्नेछ।
१८ गते शनिबार मुख्य प्रतियोगिता हुने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा इलेक्ट्रोनिक्स डिजाइन क्षेत्रमा ज्ञान र सीपको अभिवृद्धि गर्नु, इलेक्ट्रोनिक्स डिजाइन क्षेत्रमा अनुसन्धान र विकासको स्तरलाई बढावा दिई नेपाली इन्जिनियर तथा प्राविधिकका लागि अवसर खोज्नु रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा बेसिक डिजाइन र एड्भान्स डिजाइन क्षेत्र रहेका छन् जसमा सामान्य समस्या समाधानदेखि जटिल समस्या समाधानका तरिका एफपीजीएमा डिजाइन तथा विकास गर्नुपर्ने हुन्छ।
प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई सात हजार नगद पुरस्कार प्रदान गरिनेछ। साथै विजेताले एफपीजीएको नि:शुल्क तालिम पनि प्राप्त गर्नेछन्।