नयाँ शक्तिमा रामराम भन्न पाइछ !
काठमाडौँ: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा अभिवादनका क्रममा नयाँ शक्ति अभियान्ताले रामराम भन्न समेत पाउने भएका छन् ।
नेपालको राजनीतिक अभ्यासमा कांग्रेसले ‘जय नेपाल' भन्छन् भने कम्युनिस्टले ‘कामरेड' भन्ने गरेका छन् । ‘नमस्कार' सबै नेपालीको साझा सम्बोधन अर्थात् अभिवादन हो ।
तर, राजनीतिक दलभित्र संगठित नेता तथा कार्यकर्ताले भने निश्चित शब्दावलीमात्र प्रयोग गर्ने गरेका छन् ।
नयाँ शक्ति नेपालको घोषणा सभामा आधा दर्जन बढी भाषामा उपस्थितलाई अभिवादन गरेका बाबुरामले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभिवादनका लागि आफू स्वतन्त्र भएको बताए ।
बाबुरामले भने, ‘लाल सलाम पनि हुन्छ भन्नुहोस्, नमस्कार भन्न पनि पाइन्छ, जय नेपाल भने पनि हुन्छ, कसैले रामराम भन्छ भने पनि भन्न पाउँछ।'
बाबुरामले पश्चिमा दर्शन र सिद्धान्त मात्र नभएर पूर्वय दर्शन र संस्कृतिलाई समेत पार्टीले जोड दिने बताए । उनले भने, ‘पार्टी नेता र कार्यकर्ताले ध्यान र योगलाई जीवनशैलीको रुपमा समेत अपनाउन सक्नुहुन्छ ।' भट्टराईले ध्यान र योगले रिफ्रेस बनाउने भएकाले यसलाई विज्ञानसँग जोडेर हेर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा नयाँ शक्तिको विधानमा उल्लेखित १५ बुँदाको व्याख्या गर्दै भट्टराईले राजनीतिक नेता कार्यकर्तामा अध्ययनको आदत कम हुँदै गएको भन्दै नयाँ शक्तिले अध्ययन संस्कृतिको विकास गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय पोशाकका विषयमा पत्रकारले गरेको प्रश्नको जवाफमा बाबुरामले भने, ‘हामी सबै समुदायका पोशाक र संस्कृतिलाई समान रुपमा हेर्छौँ ।'
शरीर ढाक्ने पोशाकको राष्ट्रियता नहुने समेत भट्टराईको भनाइ छ । उनले नयाँ शक्तिलाई सामूहिक नेतृत्व जिम्मेवारी बाँडफाँटको मान्यतामा आधारित हुने समेत बताएका छन् । नयाँ शक्तिभित्र कुनै पनि कमिटीको निर्वाचन हुँदा सदस्यहरुले गोप्य मतदान र सैद्धान्तिक, वैचारिक, नीतिगत विषयमा खुला मतदान हुने अन्तिरिम विधानमा उल्लेख छ ।