पोर्चुगल युरोकपको सेमिफाइनलमा
काठमाडौंः क्रिस्टियानो रोनाल्डो नेतृत्वको र्पोचुगल युरोकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
आज बिहान फ्रान्समा भएको पहिलो क्वार्टरफाइनल भिडन्तमा पोल्यान्डमाथि टाइब्रेकरमा जित निकाल्दै पोर्चुगल अघिल्लो चरणमा पुग्न सफल भएको हो ।
खेल शुरु भएको सय सेकेन्डमै रोबर्ट लेवान्डोस्कीको गोलमा लिएको अग्रतालाई जोगाउन नसक्दा पोल्यान्ड घर फर्किन बाध्य भएको हो ।
खेलको दोस्रो मिनेट चलिरहँदा रोबर्ट लेवान्डोस्कीले कमिल ग्रोसिक्कीको पासमा अग्रता दिलाएका थिए । तर खेलको ३३ औं मिनेटमा नानीको पासमा रेनाटो सान्चेसले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
पहिलो हाफमा भएको १–१ गोलको बराबरीलाई दुबै टीमले दोस्रो हाफ र थपिएको समयमा पनि चिर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा भने पोर्चुगलले बाजी मार्यो । पोर्चुगलका पाँचै पेनाल्टी गोलमा परिणत हुँदा पोल्यान्डले एउटा पेनाल्टी मिस गर्यो ।
पहिलो पेनाल्टी हानेका क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउँदा पोल्यान्डका लागि पहिलो पेनाल्टी हानेका रोबर्ट लेवान्डोस्की पनि गोल गर्न सफल भए ।
पोर्चुगलका लागि रेनाटो सान्चेसले दोस्रो गोल पनि गरे । पोल्यान्डका एरेक मिलिक पनि चुकेनन् । तेस्रोमा पेनाल्टी हानेका जाओ म्युटिन्होले पोर्चुगलाई अग्रता दिँदा पोल्यान्डका लागि कमिल जिल्कले गोल गर्दै बराबरी गरे ।
चौथो क्रमका नानीले गोल गर्दै नतिजना ३–४ मा पुर्याउँदा पोल्यान्डको भने त्यहीँ दुर्भाग्य शुरु भयो । पोल्यान्डका लागि ब्लास्ज्वस्की क्वास्कीले पेनाल्टी मिस गर्न चुके । त्यसपछि पोर्चुगलका लागि क्युयारेस्माले अन्तिम पेनाल्टी हान्दै ५–३ को जित पक्का गराए ।
अब पोर्चुगलले फाइनल प्रवेशका लागि आज हुने वेल्स र बेल्जियमबीचको बिजेतासँग सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।