ध्वजावाहकको नलेखिएको कथा

ध्वजावाहकको नलेखिएको कथा

नेपाल वायु सेवा निगमको बारेमा विगतमा धेरै कथा लेखिएका छन्। अधिकांश कथा नमीठा र नरमाइला छन्। नेपाल र नेपालीको इज्जत र प्रतिष्ठासँग जोडिएको यो संस्थाप्रति सबैको अपेक्षा रहने तर सद्भाव भने कमै रहने गरेको छ।

एसियाका विभिन्न विमान सेवासँग यसलाई दाँजिन्छ र विगत दुई दसकमा भएको यसको अधोगतिका बारेमा चर्चा हुन्छ, तर त्यस अवधिमा मुलुकको अधोगतिका बारेमा भने ख्याल गरिन्न। विगत दुई दसकयता यो संस्थाले भोगेका संकट र अपमान तथा यसलाई धराशायी बनाउन गरिएको नियोजित प्रयासका बारेमा कमै बोलिन्छ, लेखिन्छ। संस्थाको इज्जत र प्रतिष्ठा बचाउन दिलोज्यान दिएर लागेका कर्मचारीको तेजोबध गरिन्छ, तर तिनको त्याग र बलिदानलाई भने बिर्सने गरिन्छ।

राष्ट्रिय ध्वजावाहकका रूपमा देश र जनताका लागि यसले गरेको सेवा अहिलेको युवा पुस्ताले लगभग बिर्सिसकेको छ। नेपाल वायु सेवा निगम कुनै समय दक्षिण एसियाकै लोकप्रिय विमान सेवा थियो भनेर यो पुस्ताले पत्याउँदैन।

उनीहरूले यो पनि पत्याउँदैनन् कि नेपालका विभिन्न दुर्गम जिल्लामा मानिसहरूले गाडीभन्दा पहिले विमान देखेका र चढेका थिए, कठिन भोगोलिक अवस्था र सुविधाविहीन विमानस्थलबाट ती विमान उडाउने पाइलटहरू नेपाली नै थिए। यो संस्थाले राजादेखि रैतीसम्म, विद्यार्थीदेखि व्यापारीसम्म, नेतादेखि कार्यकर्तासम्म सबै तह र तप्काका नेपालीलाई ठूलो गुन लाएको छ।

नेपाल आउने विदेशी पर्यटक, कामको खोजीमा जाने कामदार र विदेशमा उपचार गराउन जाने बिरामीको लागि पनि यो विमान सेवाले निरन्तर सेवा गर्दै आएको छ। केही दिनपहिले काबुलमा मारिएका नेपाली नागरिकको शव लिन पनि सरकारले यो संस्थालाई गुहार्नुपरेको घटना ताजै छ।

सरकार होस् वा जनता, गाह्रो साँघुरो परेका बेला सेवा दिन तम्तयार हुने यो संस्थाका बारेमा धेरै नकारात्मक कुरा सुन्ने र सुनाउने गरिन्छ। विकासका दृष्टिले पछाडि पर्दापर्दै पनि २०२८ सालमा त्यसबेलाको अत्याधुनिक बोइङ ७२७ जहाज उडाएको यो विमान सेवा दक्षिण एसियाकै एउटा स्तरीय विमानसेवा बनेको हामीले देखेभोगेका हौँ। यसै संस्थामा लामो समय काम गरेका धेरै पाइलट, इन्जिनियर र प्राविधिक तथा व्यवस्थापकहरूले पछि निजी विमान कम्पनी सञ्चालन गरेका हुन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा
अन्तर्राष्ट्रिय जगत्मा व्यापारिक प्रतिस्पर्धा गर्न सक्ने नेपालमा कुनै संस्था छ भने त्यो नेपाल वायु सेवा निगम मात्र हो। विदेशी आकाशमा विमान उडाउन, विदेशी भूमिमा हवाईजहाज अवतरण गराउन र विदेशी विमान सेवासँग प्रतिस्पर्धा गरी सेवा सञ्चालन गर्न कठिन छ।

प्राविधिक, कानुनी व्यवस्थापकीय र वातावरणीय पक्षमा पोख्त नभई विमान उडाउन सकिन्न। प्राविधिक रूपमा त विमान उडाउने काम संवेदनशील र जटिल काम हो। आजभन्दा २५ वर्ष पहिल्यै अत्याधुनिक जहाजबाट यो संस्था एसिया र युरोपका प्रमुख सहरमा पुगिसकेको हो र देशका सबै क्षेत्रमा सेवा विस्तार गरेको हो।

विगतमा यसले पुर्याएको सेवा र हासिल गरेको विश्वसनीयताका कारण अहिलेसम्म खुम्चिएकै अवस्थामा पनि यसले आफ्नो साख जोगाउन सफल भएको छ। देशमा निजी विमान कम्पनीको विस्तार भए पनि यो अहिले पनि सर्वसाधारणको पहिलो रोजाइमा पर्दछ र यसका विमानलाई सुरक्षित साधनका रूपमा हेरिन्छ।

स्वदेशी तथा विदेशी ट्राभल एजेन्सी तथा पाटपुर्जा आपूर्तिकर्ताले यसलाई अहिले पनि भरपर्दो व्यापारिक साझेदारका रूपमा हेर्छन्। अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने २७ भन्दा बढी विदेशी विमान कम्पनीको लागि विश्वस्तरीय ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गरेर समकक्षीको विश्वास जित्न सफल भएको छ।

 

जहाज खरिदका उतारचढाव
विमान खरिद कार्य निगमको लागि फलामको च्युरा चपाउनुसरह भएको देखिन्छ। विगतमा निगमले विमान खरिद गर्न नसकेका कारण सेवा खुम्चिँदै गएको र लिजमा जहाज ल्याउँदा अनेक घोटाला तथा काण्डको सिकार हुनुपर्दा यो संस्थाको साख गिरेको हामीले देखेकै हो।

इमानदारीका साथ निगमको हित चिताई काम गर्ने कर्मचारीले दुःख पाउने, अख्तियार, अदालतबाट प्रताडित हुने तर दलाल तथा बिचौलियाहरू मालामाल हुने अवस्थाले कर्मचारीमा घोर नैरास्य उत्पन्न भएको थियो। सँगसँगै राजनीतिक खिचातानीमा कर्मचारीभित्रै विभाजन आएको र राजनीतिक दलसँग आबद्घ नभएका कर्मचारीलाई टिक्न गाह्रो परेकाले कतिपय उत्कृष्ट विमान चालक, इन्जिनियर तथा व्यवस्थापक गुमाउनुपरेको तीतो यथार्थ पनि बिर्सन सकिन्न।

 

नेपालको हवाई सेवाको इतिहासको विगत २० वर्षमा धेरै विमान कम्पनी खुले। सबैले उल्लीबिल्ली पारे, तर नेपाल वायु सेवा भने बन्द भएन। विदेशमा पनि नाम चलेका कतिपय विमान सेवा बन्द भएका छन्। हाम्रै छिमेकी भारतमा सरकारी स्वामित्वको इन्डियन एयरलाइन्स र निजी स्वामित्वको किङफिसर एयरलाइन्स बन्द भए। विगत २५ वर्षदेखि सबैबाट आलोचित र शोषित भएर पनि यो संस्था कसरी जीवित रह्यो भन्ने व्यवस्थापनविज्ञको लागि अध्ययनको राम्रो विषय बन्न सक्छ।

 

जहाज खरिदका लागि पटकपटक गरिएका प्रयास असफल हँदा पर्यटनमन्त्री, सचिव र सञ्चालक समितिलाई निगमले जहाज किन्न सक्छ भन्ने विश्वास हट्दै गएको र अन्तर्राष्ट्रिय समुदायमा पनि जहाज किन्नसमेत नसक्ने सरकारका रूपमा नेपाल सरकारलाई हेर्ने गरेको अवस्था कायम रहेको थियो।

तर महँगो ब्याजदरमा ऋण काढेर र लगानीकर्ताको कठिन सर्त मानेर पनि दुइटा नयाँ विमान खरिद गरी निगमले आफ्नो सेवा विस्तार गर्दैछ र नियमित रूपमा सावाँ र ब्याज तिर्दै छ। तर राम्रो व्यावसायिक अध्ययन नगरी यसमाथि थोपरिएको चिनियाँ हवाईजहाजले निगमलाई भन्दा बिचौलिया र तिनका मालिकलाई मात्र लाभ पुगेको देखिन्छ।

स्वदेशी तथा विदेशी विमान सेवाको अवशान
नेपालको हवाई सेवाको इतिहासको विगत २० वर्षमा धेरै विमान कम्पनी खुले। नेपाल एयरवेज, नेकोन एयर, कस्मिक एयर, अग्नि एयर, गुण एयर, लुम्बिनी एयरवेज, गोरखा एयरलगायतका विमान कम्पनी हाल बन्द भइसकेका छन् तर सबैले उल्लीबिल्ली गर्ने नेपाल वायु सेवा भने बन्द भएन।

विदेशमा पनि नाम चलेका कतिपय विमान सेवा बन्द भएका छन्। हाम्रै छिमेकी भारतमा सरकारी स्वामित्वको इन्डियन एयरलाइन्स र निजी स्वामित्वको किङफिसर एयरलाइन्स बन्द भइसकेको छ।

तर विगत २५ वर्षदेखि सबैबाट आलोचित र शोषित भएर पनि यो संस्था कसरी जीवित रह्यो भन्ने कुरा व्यवस्थापनविज्ञको लागि अध्ययनको राम्रो विषय बन्न सक्छ।

निगमको शक्ति र ऊर्जाको स्रोत
नेपाल वायु्सेवा निगमको शक्तिको स्रोत भनेको यसबाट लामो समयदेखि सेवा पाएका आम नेपाली जनता, अनुभवी र दक्ष कर्मचारी र भरपर्दा व्यापारिक साझेदार हुन्। साथसाथै राष्ट्रिय ध्वजावाहक भएका कारण यसले थोरै भए पनि सरकारको संरक्षकत्व पाएको छ यद्यपि राजनीतिक अस्थिरताको कारण यसको नेतृत्व गर्ने व्यक्तिको सही चयन नहुने र भइहाले पनि सरकार परिवर्तनसँगै नेतृत्व परिवर्तन हुनाले कुनै पनि राम्रो काम हुन नसक्ने अवस्था छ।

विगत ५७ वर्षको अनुभवबाट यो संस्था खारिएको छ र यसमा कार्यरत कर्मचारी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न सक्ने अवस्थामा छन्, यद्यपि राजनीतिक नेतृत्वले त्यसको सही मूल्यांकन गर्न सकेको देखिँदैन। धेरै अप्ठेरो अवस्थामा पनि यसबाट सेवा पाएका यात्रुहरूको आशीर्वाद नै यो संस्थाको ऊर्जाको स्रोत हो भन्ने पंक्तिकारको ठम्याइ छ।

अगाडिको बाटो
दक्षिण एसियाकै एउटा पुरानो र स्थापित विमान कम्पनी भएकाले नेपाल वायु सेवा निगमले यस क्षेत्रका अन्य विमान कम्पनीको विकासबाट आफूले लघुताभास महसुस गर्नुपर्ने कुनै कारण छैन। यसले आफ्नो सेवालाई गुणस्तरीय बनाउँदै नयाँ गन्तव्य पहिल्याउँदै जानुपर्छ।

विगत दुई दसकमा अमेरिका, युरोप र अस्ट्रेलियालगायत विभिन्न मुलुकमा नेपालीको बसोवास बढ्दै गएको छ र ती मुलुकमा आवतजावत गर्ने यात्रुको चाप पनि बढ्दै गएको छ। पर्यटकहरू बढी आकर्षित गर्न चीन र भारतका विभिन्न सहरमा पनि सेवा विस्तार गर्नुपर्ने अवस्था छ। आन्तरिक सेवातर्फ ट्रंक रुट र दुर्गम क्षेत्रलाई फरक ढगले हेर्नुपर्ने हुन्छ।

ट्रंक रुटको लागि ठूला तथा आरामदायी विमानमार्फत सेवा उपलब्ध गराउनुपर्छ भने दुर्गममा साना तर सुरक्षित विमानमार्फत सर्वसाधारण जनतालाई सस्तो एवं भरपर्दो सेवा उपलब्ध गराउनुपर्छ। काठमाडौँ बाहिर भैरहवा, पोखरा र निजगढमा विमानस्थल निर्माण भइरहेको अवस्थामा ती विमानस्थलामा अन्तर्राष्ट्रिय विमानको लागि ग्राउन्ड ह्यान्डलिङ सेवा पनि यसले दिनुपर्ने भएकाले आवश्यक उपकरण एवं जनशक्ति व्यवस्थापनको लागि पूर्व तयारी सुरु गर्ने बेला भइसकेको छ।

पुराना कर्मचारीको अनुभव, नयाँ कर्मचारीको जोस जाँगर, सरकारको विश्वास र साझेदार संस्थाको सहयोग र सहकार्यबाट यो संस्थालाई दक्षिण एसियाको राम्रो विमान सेवाका रूपमा स्थापित गर्न सकिन्छ।

-थापा नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.