इटालियन प्रशिक्षकलाई मिडफिल्डको चिन्ता

इटालियन प्रशिक्षकलाई मिडफिल्डको चिन्ता

पेरिस: जारी युरोकप फुटबल प्रतियोगितामा आफ्नो क्वार्टरफाइनल खेलअघि इटालीका प्रशिक्षक एन्टोनियो कोन्टेलाई कमजोर मिडफिल्डको चिन्ताले सताएको छ।

पूर्वविजेता इटालीले असार १९ गते बिहान बलियो प्रतिद्वन्द्वी जर्मनीसँग क्वार्टरफाइनल खेल्ने कार्यक्रम छ। युरोकपको इतिहासमा इटालीले सन् १९६८ मा एकपटक उपाधि जितेको छ भने वर्तमान विश्वकप च्याम्पियनसमेत रहेको जर्मनी तीनपटकको युरोकप विजेता राष्ट्र हो।

क्वार्टरफाइनलअघि प्रभावशाली खेलाडी ड्यानियल डी रोसी घाइते भएपछि प्रशिक्षक कोन्टे टोलीको मिडफिल्डको विषयलाई लिएर थप चिन्तित बनेका हुन्। ३२ वर्षीय अनुभवी खेलाडी रोसी स्पेनविरुद्घको प्रिक्वार्टरफाइनल खेलका क्रममा घाइते भएका थिए। उक्त खेलमा २-० गोलले विजयी हुँदै इटाली क्वार्टरफाइनलमा पुगेको थियो।

इटालीलाई सन् २००६ को विश्वकपको उपाधि चुमाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोसीको तिघ्रामा समस्या देखिएको बताइएको छ। सोही कारणले उनले दुई दिनदेखि अभ्याससमेत गर्न सकेका छैनन्।

'हामी पनि क्वार्टरफाइनल खेलअघि नै स्वस्थ्य भएर उनी मैदानमा फर्किऊन् भन्ने चाहन्छौं तर, पूर्णरूपमा ठीक नभई उनलाई खेलाएर थप जोखिम भने मोल्न चाहँदैनौं', इटालियन टोलीका चिकित्सक एनरिको कास्टेल्लासी भन्छन्।

 

स्पेनविरुद्घको खेलमा रोसी घाइते भएपछि उनको स्थानमा मैदानमा उतारिएका थिआगो मोटाले समेत क्वार्टरफाइनल खेल्न नपाउने भएपछि प्रशिक्षक कोन्टे थप दबाबमा परेका हुन्। दोहोरो पहेँलो कार्ड पाएका कारण मोटाले जर्मनीविरुद्घको क्वार्टरफाइनल खेल्न पाउने छैनन्।

यसैगरी अर्का अनुभवी खेलाडी एन्टोनियो कान्ड्रेभा पनि सम्भवतः बलियो प्रतिद्वन्द्वी जर्मनीविरुद्घको खेलमा उपस्थित हुने छैनन् । ग्रोइन समस्याका कारण कान्ड्रेभाले अघिल्ला दुई खेल पनि खेल्न सकेका थिएनन्।

जारी युरोकप सुरु हुनुअघिदेखि नै इटालियन प्रशिक्षक कोन्टेले मिडफिल्डमा समस्याको सामना गर्दै आएका छन्। प्रतियोगिता सुरु हुनुअघि नै घाइते भएका कारण क्लाउडियो मार्चिसियो, मार्को भाराट्टी र रिकार्डो मोन्टोलिभो टोलीबाट बाहिरिएका थिए।

मिडफिल्डमा एकपछि अर्को समस्या देखिएपछि निराश बनेका प्रशिक्षक कोन्टेले पछिल्लो समय अभ्यासका क्रममा खेलाडीलाई मानसिक रूपमा पनि बलियो बनाउने प्रयास गर्दै आएका छन्।

टोलीका अर्का भरपर्दा मिडफिल्डर एलेज्यान्ड्रो फ्लोरेन्जी जर्मनीविरुद्घको खेलअघि मिडफिल्डमा केही समस्या देखिए पनि त्यसले टोलीको प्रदर्शनमा कुनै असर नपार्ने धारणा ब्यक्त गर्छन्। 'क्वार्टरफाइनलमा हाम्रो प्रतिद्वन्द्वी निकै बलियो छ र त्यो खेलअघि हाम्रा केही खेलाडीमा समस्या पनि देखिएको छ।

यति हुँदाहुँदै पनि फुटबल भनेको टिम गेम हो भनेर हामीले भुल्नु हुँदैन', फ्लोरेन्जी भन्छन्, 'टोलीका सबै खेलाडीको काँधमा समान जिम्मेबारी छ, किनभने सगरमाथाको सफल आरोहण गर्नु सरहको चुनौती हामीले स्विकारेका छौं।'

ठूला प्रतियोगिताहरूमा विगतको तथ्यांकलाई केलाउने हो भने जर्मनीभन्दा इटाली बलियो देखिन्छ। हालसम्म कुनै पनि ठूला प्रतियोगितामा जर्मनीले इटालीलाई हराउन सकेको छैन। सन् २०१२ को युरोकपको सेमिफाइनलमा पनि इटालीले जर्मनीलाई २-१ गोलले हराएको थियो।

'कुनै पनि प्रतियोगितामा विगतको तथ्यांकले भन्दा पनि तत्कालीन अवस्थामा टोलीको तयारीले नै नतिजामा असर पार्नेगर्छ, यसपटक पनि हामी आफ्नो तयारीप्रति विश्वस्त छौं', फ्लोरेन्जी भन्छन्।

इटाली र जर्मनीबीच हालसम्म ३३ पटक भिडन्त भएको छ। तीमध्ये १५ खेलमा इटाली विजयी भएको छ भने आठ खेलको नतिजालाई जर्मनीले आफ्नो पक्षमा पारेको छ।

यी दुईबीचको १० खेल भने बराबरीमा सकिएको छ। रमाइलो तथ्य के हो भने, जर्मनीले हालसम्म ठूला प्रतियोगितामा भन्दा पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मात्र इटालीलाई हराएको छ।

तर इटालीले भने जर्मनीलाई विश्वकप र युरोकपजस्ता ठूला प्रतियोगितामा पनि पराजयको स्वाद चखाएको छ। जारी युरोकपको समूहगत चरणमा इटाली दुई जित र एक हारको नतिजा निकाल्दै नकआउट चरणमा पुगेको थियो। समूह 'ई' मा रहेको इटाली ६ अंकसहित पहिलो र समान अंक भएको बेल्जियम दोस्रो हुँदै प्रिक्वार्टरफाइनलमा पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.