गाउँलेका अगाडि लाज नमानी नाच्थेँ
म रंगमञ्चबाट जन्मिएको कलाकार हुँ । सात वर्षको हुँदा तत्कालीन जनसेवा हलमा भएको नाटकमा नाचेर कलाकारितामा प्रवेश गरेको थिएँ ।
नेपाल कला केन्द्रको प्रस्तुति रहेको नाटकमा मैले ‘हातै काट्यो बरै चालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले' बोलको भुवन चन्द दिदीले गाउनुभएको गीतमा नाचेको थिएँ । म १३ वर्षको हुँदा बनेको नेपालको पहिलो चलचित्र ‘आमा'बाट मैले ठूलो पर्दामा पाइला चालेकी हुँ ।
भुवन दिदीले सुटिङ हेर्न जाने भनेपछि म उहाँसँग गएँ । मेरो ठूलो दिदी ब्युटिसियन भएकाले मैले त्यति बेला ब्वाइज कट कपाल काटेको थिएँ । छोटो मिडी र क्लोज सु लगाएर बसिरहेको थिएँ ।
निर्देशक हीरासिंह खत्रीले म सेटमा यताउता गरिरहेको देख्नुभएछ । अनि उहाँले मलाई ‘ए छोकडा इदर आउ तो' भनेर बोलाउनुभयो । नजिकै पुगेपछि उहाँले ‘फिलिममे काम करेगा' भनेर सोध्नुभयो । ‘देगा तो करेगा' भनेर जवाफ फर्काएँ ।
चलचित्रमा भुवन दिदीको बुवाको भूमिकामा कलाकार उत्तम नेपालीले अभिनय गर्नुभएको थियो । उहाँ बिरामी भएर पल्टिरहेको बेलामा सानुसानु भनेर छोरीलाई बोलाउनुहुन्छ । त्यति बेला मैले उहाँ नजिकै गएर ‘किन ठूलो बुवा पानी चाहियो र, ए रातै' भन्ने संवाद बोल्नुपर्ने थियो ।
मेरो यो संवाद एकै टेकमा ओके भयो । त्यसपछि निर्देशक खुसी भएर मलाई ‘ट्रेसा' ब्रान्डको चारपाटे घडी पुरस्कार दिनुभयो । धादिङमा मेरो मावली थियो । त्यहाँ पुग्दा ‘ए रातै नेपाली भान्छी आए' भन्नुहुन्थ्यो । म गाउँलेको अगाडि लाज नमानी नाच्थे ।
चलचित्रमा काम गर्नुअगाडि मलाई निर्देशकले ‘तिमीले कुनै एउटा थेगो बोल्नु' भन्नुभएको थियो । त्यति बेला मेरो दिमागमा यही थेगो आयो र बोलेँ । पछि यो थेगो कति चर्चित भयो भने ब्ल्याक एन्ड ह्वाइट चलचित्र हेर्नेले मलाई ए रातै भनेर चिन्न थाले । चलचित्रमा मलाई जन्माउने पिता हीरासिंह खत्री हो भने कर्म दिने व्यक्ति निर्देशक स्व. प्रकाश थापा हुनुहुन्छ ।
नेपालका सेक्सपियर भनेर चिनिने बालकृष्ण समसँग मैले तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा करिब तीन वर्ष नाटकको तालिम लिएँ । त्यति बेला मेरो मुख्य विषय नाटक भए पनि अप्सनल विषयमा मैले गुरु गोपालनाथ योगीसँग भायोलिन सिकेको थिएँ ।
यसले मलाई नेपालको पहिलो महिला हास्यकलाकारको साथमा भायोलिन बजाउने पहिलो महिलासमेत बनायो । त्यति बेला मलाई ‘मेरै दाजुले समेत नचाहिने केटाहरूले जस्तो काम गर्दै हिँड्छे उत्ताउली' भनेर गाली गर्नुहुन्थ्यो । आफूलाई जस्तो इच्छा लाग्छ त्यस्तै गर्दै हिँड्ने मेरो बानी थियो ।
बाटोमा हिँड्दा कतिले ए रातै भनेर जिस्क्याउँथे । बाहिरमात्रै होइन, घरमै मुमाबुवाले पनि यो क्षेत्रमा लागेको मन पराउनु हुन्न थियो । पुस महिना थियो ।
एक दिन नाटक सकाएर घर आइपुग्दा राति ९ बजेको थियो । तीन तला माथिबाट मुमाले गाग्रीभरिको पानी मेरो टाउकोमा खन्याइदिनुभयो ।
दाँत किटकिट गरेर म कामिरहेको बेलामा मेरो माइली दिदीले भित्र लग्नुभयो । ‘तँ एउटा कुखुराको फुल फुट्यो फुट्यो । अब तैंले गर्दा कुनै दिदीबहिनी बिक्दैनन्' भन्दै मुमाको हातबाट सिस्नोपानी त कति खाइयो कति ।
मेरो ठूलो दिदी भगवती राणा र माइली दिदी सीता थापाले मलाई धेरै सहयोग गर्नुहुन्थ्यो । उहाँहरूले लुकाएर गाजल लगाइदिएर कपाल कोरीबाटी गरी अभिनय गर्न पठाउनुहुन्थ्यो । चेतनारायण भुसालसँग विवाहपछि मात्रै मलाई यस क्षेत्रमा लाग्न सहज भएको हो ।
चलचित्र ‘आमा'पछि मैले ‘हिजो आज भोलि'मा काम गरेँ । चलचित्र ‘माइतीघर'मा भुवन दिदी र मैले मौका पाए पनि गरेनौं । त्यसपछि चलचित्र संस्थानको पहिलो चलचित्र ‘मनको बाँध'मा मैले निर्वाह गरेको डाँडाघरे साइँलीको भूमिकालाई पनि धेरैले मन पराए । चलचित्र ‘परालको आगो'को गौंथलीको भूमिका त मेरो अभिनय यात्राका लागि कोसेढुंगो साबित भयो । त्यसपछि अभिनयमा निरन्तर लागिरहेँ । प्रस्तुति : रामकला खड्का